उत्पादित ऊर्जालाई कसरी खपत गर्ने भन्ने विषयमा काठमाडौंमा एक कार्यक्रम गरिएको छ । सोसाइटी अफ इलेक्टीकल इन्जिनियर नेपाल (सिन) ले काठमाडौंमा यस्तो कार्यक्रमको आयोजना गरेको हो । सिनको वार्षिक कार्यक्रम तथा सम्मेलन नाम दिइएको कार्यक्रम कार्की व्याङकेटमा शुक्रवार ३ बजे सुरु भएको सो कार्यक्रम बेलुका ८ बजेसम्म संचालन भएको थियो । सो कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको थियो । पहिलो चरणमा संस्थाको वार्षिक कार्यक्रम तथा सम्मेलन कार्यक्रम राखिएको थियो । भने दोस्रो भागमा प्राविधिक प्रस्तुतिकरणको कार्यक्रम राखिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी रहनु भएको थियो । विशेष अतिथिमा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिह, काठमाडौं विश्व विद्यालयका उपकुलपति डा. भोला थापा, ऊर्जा जलस्रोत सचिव दिनेश कुमार घिमिरे र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य रहनु भएको थियो ।
शुभकामना कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले पहिले हामीले कसरी उत्पादन बढाउने भन्ने बारेमा सोच्यौ अब त्यसको उपयोगको बारेमा सोच्नु पर्ने समय आएको बताउनु भएको थियो । अहिलेको राजनीति अवस्था काम गर्नका लागि त्यति सहज त छैन तर पनि छोटो समयमा धेरै कामहरु गरेको बताउनु भएको छ । अब हुने उत्पादनलाई कसरी नेपालमै खपत गर्ने भन्ने बारेमा योजना बनाएर अघि बढ्ने उहाँको भनाइ रहेको थियो । यसको अलवा क्रस बोर्डर लाइन निर्माणको काम अघि बढिरहेको उहाँको भनाइ छ ।
त्यसैगरी सचिव घिमिरेले अहिले १४५० को जडित क्षमतामा यहि असार मसान्त सम्ममा ८०० मेगावाट थप हुने र अर्को आवमा पुनः ७०० मेगावाट उत्पादनको तयारीमा रहेको छ । यसरी हेर्दा हामीले अबको खपतको अवस्थालाई ३००० मेगावाट पुर्याउनु पर्ने छ । विद्युत धेरै उत्पादन भयो, अब त्यो खेर जाने भयो भन्ने विषयमा चिन्ता नगर्न सचिव घिमिरेले सुझाव दिनु भयो । त्यसको लागि अहिले हामीले विद्युतीय सवारी चार्जिङका लागि ५० वटा स्टेशन तयार गर्ने काममा लागिपरेको बताउनु भएको थियो ।
यसको अलवा बाह्य बजारमा २०० मेगावाट तत्काल बाहिर पठाउन सकिने पनि उहाँले जानकारी दिनु भयो । विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर अगाडि जार्नुपर्ने उहाँको सुझाव थियो । पहिलो वर्ष विद्युतीय करमा केही फेरबदल भएका कारण केही अलमलको अवस्था रहेपनि आगामी दिनमा त्यसलाई सुधार गरेर जानुपर्ने उहाँको धारण छ ।
नेविप्राका कार्यकारी निर्देशक शाक्यले उत्पादित विद्युत खेर जान नदिनका लागि प्राधिकरणले ट्रान्समिसन लाइन निमार्णमा जोड दिएको बताउनु भयो । पहिलाको तुलनामा ट्रान्समिसन लाइन निमार्णमा विशेष जोड दिएको उहाँको जिकिर थियो । यदी यसो नगर्ने हो भने उत्पादित विद्युत खेर जाने अवस्था आएको हुनाले प्राधिकरणले ट्रान्समिसन लाइनलाई प्राथमिकतामा राखेको बताउनु भयो ।
विद्युत नियमन आयोगका अध्यक्ष सिंहले आयोगले भर्खरै काम सुरु गरेको हुनाले यसले अहिले रहेका समस्याहरुको समाधान खोज्दै अघिबढ्ने र विद्युत उत्पादनका क्षेत्रका आफ्नो संस्थाको तर्फबाट सहयोग रहने बताउनु भएको छ ।
काठमाडौं विश्वविद्यालयका प्रा.डा. भोला थापाले अहिलेको अवस्थामा इलेक्ट्रीकल इन्जिनियरिङ पढ्ने मोह हराउदै गएको हुनाले यसलार्ई बढाउनु पर्ने बताउनु भएको छ । अब का दिनमा इलेक्ट्रीकल इन्जिनियरिङको माग घट्ने हो कि भनेर विद्यार्थीमा चिन्ता रहेको उहाँले बताउनु भयो । यस कुराको खण्डन गर्दै अजै बजारमा ३ हजार इलेक्ट्रीकल इन्जिनियरिङको माग रहेको एक सहभागीले विश्वस्त पार्नु भएको थियो ।
विद्युत धेरै उत्पादन भयो । अब त्यो खेर जाने भयो भन्ने विषयमा चिन्ता नगर्न आग्रह गर्दै स्वतन्त्र ऊर्जा उत्पादकका पूर्व अध्यक्ष एवं नेपाल चेम्बर अफ कर्मसका सदस्य शैलेन्द्र गुरागाईंले विद्युतको उत्पादन जति भएपनि त्यसको उपयोगमा समस्या नहुने भन्दै नेविप्रालाई धेरैभन्दा धेरै पिपिए गर्नका लागि सुझाव दिनु भयो । अहिले पिपिए गर्नका लागि तयारी रहेका आयोजनाहरुको पिपिए रोकिएको अवस्था छ । त्यसलाई खुला गरेर धेरै भन्दा धेरै पिपिए गर्न सकेको खण्डमा मात्र औधोगिक क्षेत्रले चाहे अनुरुपको विद्युत प्राप्त गरी उपयोग गरी खपत बढाउन सकिने उहाँको राय थियो । त्यसकारण उत्पादित विद्युत खेरजाने चिन्तालाई छोड्नु पर्ने उहाँको पनि राय थियो ।
दोस्रो चरणमा अपर तामोकोसीको परियोजनाको अवस्था र त्यसमा रहेका समस्याहरुको बारेमा आयाेजनाकाे तर्फबाट डिपुटी मेेेनेजर पूर्ण गाेपाल रंजितले जानकारी गराउनु भएकाे थियो । त्यसैगरी ग्रीन हाइड्रोजनको बारेमा सहप्राध्यापक विराज सिह थापाले जानकारी दिनु भएको थियो । बाहिरबाट अहिले पनि वार्षिक रुपमा १४०० केजी आयात भइरहेको हुनाले त्यसमा धेरै धनराशि बाहिर गइरहेको अवस्था रहेको छ । त्यसलाई रोक्नका लागि हामीले नेपालमा नै यसको उत्पादन गर्नुपर्ने उहाँको जोड थियो । यसरी उत्पादिन हाइड्रोजनलाई विभिन्न तरिकाले स्टोर गरी १० वर्षसम्म प्रयोग गर्न सकिने उहाँको धारण थियो । अहिले पनि कतिपय उद्योगले हाइड्रोजनको अभावमा आफ्नो उद्योग बन्द गर्नु परेको उहाँको तर्क थियो । आयातित हाइड्रोजन महंगो भएका कारण वनस्पति घीउ बन्द भएको धारण समेत राख्नु भएको थियो ।
त्यसैगरी धर्म केसीले नपोलीकन तयारी गरिने इँटा र इलेक्ट्रीकल चुल्होको बारेमा जानकारी दिदै यसले कार्वन उत्सर्जनलाई रोक्नुका साथै सस्तो र वातावरण मैत्री भएको बताउनु भएको थियो । कार्यक्रमको अध्यक्षता सिनका अध्यक्ष डिल्ली रत्न शाक्यले गर्नु भएको थियो ।