काडमाडौं । नेपाल विद्युत प्राधिकरण आर्थिक प्रशासन विनियमावली २०६८ को विनियम १५३ (४) मा एउटा मात्र वोलपत्र पर्न आएमा सो को मूल्यांकन गर्दा त्यस्तो वोलपत्र सारभूत रुपमा प्रभावकारी भएमा तथा स्वीकृत लागत अनुमान भन्दा बढी नभएमा स्वीकृत गर्न बाधा पर्ने छैन भनि उल्लेख छ । विद्युतले महालेखा परीक्षकको कार्यालयलाई उपलब्ध गराएको ९ वटा वोलपत्रमा लागत स्वीकृत रकम रु ७ अर्ब ८ करोड ६५ लाख छ । तर रु ७ अर्ब ९२ करोड ७२ लाख बराबरको संझौता गरी रु ८४ करोड ७ लाख बढी खर्च गरेको देखियो । सो कुरा महालेखाले आफ्नो प्रतिवेदनले उल्लेख गर्दै उचित व्यवस्थापन हुन नसकेको भनेको छ ।
प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालय मातहत आह्वान गरिने हरेक जसो टेन्डरमा थाहा नपाउने गरी सेटिङमा गरिन्छ । टेण्डर प्रकाशित गर्ने तयारीको थालनी देखि नै नेगोसियसनमा कुन ठेकेदारलाई ठेक्का पार्ने भन्ने मनशायले काम अगाडि बढाइएको हुन्छ । नेविप्रामा टेण्डर एक्सपर्ट हुन्छ, जसले शर्तहरु यसरी तयारी गर्छ कि त्यसको मापदण्ड आफूले चाहेको ठेकदारले मात्र पुरा गर्छ । जो नेगोशियसनमा नै तय भइसकेको हुन्छ । पछिल्लो समयमा त झन सिगल कम्पिटिसियनको आधारमा स्वाट्ट स्वाट्ट काम दिने प्याट्ट प्याट्ट दाम लिने प्रक्रिया सुरु भएको छ । टेण्डर एक्सर्टको कमाल र सेटिङको जादू सोझो दिमाख र नाङ्गो आँखाले पत्ता लगाउन सक्ने कुरै भएन । यो कुरा विभिन्न टेण्डरमा प्रतिस्पर्धामा भाग लिएका थकित बनेका नयाँ पुराना प्रतिस्पर्धी ठेकेदारहरूको पीडादायी अनुभवका आधारमा लेखिएको हो ।
प्राधिकरणको प्राेक्यूपमेन्ट अफिसरमा अहिले कमल आचार्य हुनुहुन्छ । ग्राविसे डिएमडी हरराज न्यौपाने र एमडी कुलमान घिसिङद्वारा प्रत्यक्ष निर्देशितबाट पोल खरिदको क्रममा २७ करोडको काम ४८ करोड बनाएर तीन लटमा ६३ करोड रुपैयाँ प्रक्रिया पुर्याइएको ‘तेलाबेला’ बारे शुत्रले बेलिबिस्तार लगाउँदै गर्दा मान्छेमा दम्भ पलाएपछि ऐन नियमको मात्र होइन सामाजिक, धार्मिक वा प्राकृतिक कन्सिक्वेन्सकाेसमेत डर हराउँदो रहेछ भन्ने यो उदाहरण मात्र हो ।
इन्सुलेटर हार्डवेयर खरिद प्रक्रियामा तीनपटक रि टेण्डर गरियो । अन्त्यमा वाइवा इन्फ्राटेक बनस्थलिलाई पुरा मूल्य ४८ करोडमा दिइयो । लगातार ३ पटक रि टेण्डर गर्नु परे अन्तिम पटक एउटा मात्र टेन्डर परे पनि त्यसलाई दिने प्रावधानलाई सिरानी बनाएर फुल प्राइसमा ठेक्का दिएको हो । अन्य दुईवटा टेण्डर त्यसैलाई आधार बनाइ सुप्रीम जेभी त्रिपुरेश्वरलाई दुई लटमा ठेक्का दिइएको छ । यी सबै तारतम्य ५ जनवरी २०२० को अन्तिम सवमिसन पछि मिलाएर टुंग्याएको हो । यी तीनै लटको काम ३.९५ मिलियन अमेरिकी डलरको फुल दाम टेन्डरमा उल्लेखित रकम हो । र त्यसमा एकसुका नघटी नघटाई काम दिनु र प्रतिस्पर्धीलाई सुग्नसम्म नदिनुले के प्रमाणित हुन्छ ?
इन्सुलेटर हार्डवेयर खरिदमा पहिलो पटक टेन्डर आह्वान गर्दा तीनै लटमा वाइवा इन्फ्राटेक, त्रिपुरेश्वर सुप्रीम जेभी र आरके कन्ट्रक्शनले सभागिता जनाएका थिए । त्यसमा नेगाेशियसनमा गडबडी उत्पन्न भएपछि दोस्रो पटक टेण्डर गरियो । दोस्रो लटमा वाइवा इन्फ्राटेकलाई एक लटको काम दिइयो । तेस्रो पटक रि टेण्डर गरियो । दुई लटका लागि त्यसमा त्रिपुरेश्वर सुप्रीम जेभी ३.९५ मिलियन अमेरिकी डलर, श्री जयन्त एजी कन्ट्रक्सन जेभी ४.०७ मिलियन अमेरिकी डलर, पिङजियाङ ४.७६ मिलियन डलर र लेजर पावर २.७२ मिलियन अमेरिकी डलरमा प्रस्ताव पर्यो । तर त्रिपुरेश्वर सुप्रीम जेभीलाई ३.९५ मिलियन अमेरिकी डलरमै दुई लटको काम सुम्पिएको छ । लेजर पावर इन्डियाले १.२३ मिलियन अमेरिकी डलर कममा काम गर्ने प्रस्ताव राख्दा राख्दै सेटिङमा दिइएको हो । यो प्रक्रियामा आर्थिक प्रस्ताव कम राखेर टेण्डर नोटिसमा खुलाइएका विवरणहरुमा चुस्त दुरुस्त देखिएपछि थप यो पुगेन त्यो पुगेन भनेर अनेकन् तिकडम लगाइने कुरा नविप्राको टेण्ड नै हो । यो कुरा चाहिँ भित्रैका अन्य निर्देशनालयका उच्च कर्मचारीबाटै आउने गरेको छ ।
प्रोकुरमेन्टका कमल आचार्य -म यो जिम्मेवारीमा आएको धेरै भएको छैन । यहाँ आएपछि अलिअलि ठेकेदार चिने, काम गर्दै जाँदा बढी चिनिएला त्यो बेग्लै कुरा हो । इन्सुलेटर हार्डवेयर खरिद टेन्डरमा म आउनु अगाडि क्यान्सिल भएको हो । अहिले एक लटको काम वाइवासँग सम्झौता भएको छ । दुई लट बाँकी छ । यो प्राधिकरणको आन्तरिक स्रोतबाट हो । सात प्रदेश र दुई डिभिजनबाट देशभर माग आउँछन् एक डेढ वर्षलाई पुग्ने गरी टेण्डर हुन्छ । म आउनु अगाडि नुतनदेव भट्टराईले गर्नुभएकै टेन्डरको निरन्तरता हो । सार्वजनिक खरिद ऐन र विनियावलीको आधारमा हुन्छ । टेक्निकल र आर्थिकको मुल्यांकन हुन्छ । वाइवासँगको संझौता फुल प्राइसमा भएको हो । अगाडिका कुराहरु प्रवक्तासँग सोध्नु हाेला ।
त्रिपुरेश्वर सुप्रीम जेभी आरके अग्रवाल, भटिण्डा सिरामिक्स जेभीका विभान्सु झा र वाइवा इन्फ्राटेकका लालबहादुर वाइवा जुनसुकै टेन्डरमा पनि मिलेर प्रतिस्पर्धा गर्ने कम्पनीहरु रहेको कुरा प्राधिकरणको ‘टेण्डर कथाले’ बताउँछ भन्ने कुरा भित्रैबाट सुनिन्छ । अझ चाख लाग्दो कुरा त के छ भन्दा रामेछाप घर भई हाल कपन बस्ने गणेश घिसिङ कुनै बखत शैलुङ कन्ट्रक्शनका मालिक हुनुहुन्थ्यो । उहाँले शैलुङ शारदा अधिकारीलाई बेचे पनि विद्युतको ठेक्कापट्टामा उहाँकै हालीमुहाली चल्छ ।
अहिले घिसिङ यी तीनै कम्पनीको (अंग्रेजीमा ब्रोकर र नेपालीमा दलालको) रुपमा काम गर्नुहुन्छ भनि नेपाल विद्युत् प्राधिकरणका एक उच्च कर्मचारीले नाम नबताउने शर्तमा सुनाउनु भयाे । तीनै कम्पनीहरु घिसिङलाई अगाडि सारेपछि जस्तो काम पनि हुनेमा ढुक्क हुने हुँदा उहाँलाई नै अगाडि सार्ने गरेको बताइन्छ । शैलुङले पहिला प्राधिकरणको थुप्रै कामहरु लिएर अपुरो छोडेको र अहिले अधिकारीले खरिद गरे पनि शैलुङले गरेको ठेक्काको काम चर्चामै रहने गरेको ठेकेदारहरु बिच फुर्सदमा गफको विषय बन्ने गरेको छ ।