काठमाडौं । कोभिड १९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएकोले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।
जनताको स्वास्थ्यका लागि ज्यान जोखिममा राखेर काम व्यक्तिलाई दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । त्यस्ता कार्य गर्न नदिन तथा संलग्न हुने उपर तत्काल कानून बमोजिम कारवाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गरिएको उहाँले बताउनु भयो ।
कोभिड १९ सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीलगायतका राष्ट्रसेवकप्रति केही व्यक्तिबाट दुर्व्यवहार तथा अपमान गरेका घटना सार्वजनिक भएका थिए । जोखिम रोक्न सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी काठमाडौँ उपत्यकाका तीनवटै जिल्लासहित हालसम्म ४७ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञाको आदेश जारी भइ समन्वयात्मकरूपमा कार्यान्वयन भइरहेको छ । उद्धार उडानबाट स्वदेश आउने व्यक्तिलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा राख्ने क्वारेन्टिन निर्माण, सञ्चालन तथा व्यवस्थापनको प्रक्रियासमेत शुरु भएको मन्त्रालयले जनाएको छ ।