स्वार्थी

कविता

दिँदा एक मानो लिदा खोज्छ पाथी
तथापी सधैंको उ मेरो छ साथी
गरी खाउँ भन्दै मलाई सिकायो
सधैं लुट्न खोज्दै उ आफै अघायो ।।१।।

खनेँ थोर पाखो फले अन्न दाना
भरेको भकारी उसैको खजाना
दियो एक दाना मलाई गनेर
लु खाउ अघाऊँ तिमी लौ भनेर ।।२।।

बगेको नदी झैं छ मेरो सवाइ
यता नग्न देहै उता कोट टाई
छ छाती दुखेको कुरा यो छ मेरो
उता पूर्व लाली उता पो अँध्यारो ।।३।।

सबैको खुशीमा रमाई रहेको
म यस्तै भएको छु बन्दै गएको
म सोच्थें जहिल्यै त लोकै भलाई
दियौ चोट भारी सधैं नै मलाई ।।४।।

खडा भै रहेको म एक्लै कहाँ हो ?
म राम्रो छु आफै जहाँको त्यहाँ हो
तिमीले दिएको कुनै अन्न दाना
म भोकै मरौला छ यस्तै जमाना ।।५।।

दिएको छ जो दान खाना पिनाको
छ खुट्टा लुलो झैं त साथी बिनाको
यता भो उता भो सबै बाहना हो
गुणै सुन्दरै हो कला संझनाको ।।६।।

(भुजङ्प्रयात)

Facebook Comments