श्रीमान्
म सुन्तली बिक
महिनौदेखि थला परेकी
मेरी मधौरो आमा घरमा एक्लै छाडेर
म माथि केहि उपकार होला कि भनेर
यहि बाकस भित्र
औषधिको बिल हालेर आएको थिएँ
म माथिको विभेद
अन्त्य होलाकी भनेर
कहिले काचुली नफेर्ने
खण्डहर मेरो घर अलिकती भएपनि
तङ्ग्रीन्छ कि भनेर
काखको छोरा छाडि-छाडि
यहि अटेरी बाकस भित्र
सपनाहरु पट्याएर छाडेको थिएँ
अस्थिपञ्जर मेराे अगेनु बल्छ कि भनेर
मेरा गाई भैंसी भोकै बाँधेर
मेरा थोरै अपेक्षाहरु
यहि बाकस भित्र सुरक्षित साथ
खसालेर आएको थिएँ
पानी नपाएर काकाकुल बनेको
मेरो गाउँले एक गाग्री पानीको लागि
आधा दिन माया मार्न नपर्ला भनेर
यति सानो सपना
यहि बाकसभित्र
खसाएर आएको थिएँ
तर श्रीमान्
यो बाकसले मेरो आशा लिलाम गर्दै आएकोछ
मेरा थुप्रै सपनाहरु हजम गर्दै आएकोछ
म माथि बिस्वासघात गरेको छ
मेरो आशा माथि तुषारापात गरेको छ
एक पटक हैन
दुई पटक हैन
पटक पटक झुक्याएको छ मलाई
मैले यसलाई आफ्नै ठानेँ
बिस्वास गरेँ
तर यसले मलाई राहत दिन्छु भनेर
आहत दियो
अस्पताल दिन्छु भनेर मृत्यु दियो
माटो दिन्छु भनेर
घाउको खाटो दियो
चुल्हो बाल्दिन्छु भनेर
पानी खन्याइ दियो
मैले उसलाई सत्कार गरे
बदलामा मेरो सपना माथि
उसले बारबार बलत्कार गर्यो
यसपाली फेरि
त्यस्तै गुलिया सपना बाँडिरहेछ
त्यो बाकस
म माथि ठूलो अन्यय भएको छ
श्रीमान्
कुन धारा लगाएर हुन्छ
अथवा नियम फेरर हुन्छ
मलाई न्याय मिलोस् श्रीमान
मलाई न्याय मिलोस्
श्रीमान् मेरो एउटै निवेदन
फेरि पनि मेरो सपनाको
हत्या नहोस्
फेरि पनि मेरो बिस्वासमा
डढेलो नलागोस्
फेरि पनि ऊ माथिको मेरो आस्थामा
खडेरी नपरोस्
श्रीमान्
उसले गरेका हर बाचाहरु
उसले देखाएका बाडेका हर सपनाहरुको
फेहरिस्त बनाएर
कपाली तमसुक नै बनाइयोस्
किनारामा साक्षिहरु राखेर
उसले गरेका हर सम्भव असम्भव
प्रत्येक बाचाहरुमा ल्याप्चे ठोकियोस्
बस,
यति भए पुग्छ श्रीमान्
कि कसैले आफ्नो सपनाका लागि
फेरि पनि अरुको सपनाको
बन्दगी राख्ने कहिल्यै दुस्साहास् नगरोस् !
Facebook Comments