ईतिहास तथा संस्कृति सम्वर्द्धन गर्ने नेपाल सरकारको घोषित नीति तथा कार्यक्रम एवं ”प्रधानसेनापतिको कमाण्ड मार्ग निर्देशन २०७५” मा उल्लेखित नेपाल तथा नेपाली सेनाको ईतिहास प्रबर्द्धन गर्ने क्रममा नेपाली सेनाको पहलतामा निर्माणाधिन ”सिन्धुलीगढी युद्ध संग्रहालय” को आन्तरिक सजावट प्रारुप तयारी सम्बन्धमा बागमती प्रदेश सांसद, माननीय विनोद खड्काको प्रमुख आतिथ्यतामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
सिन्धुलीगढी युद्ध संग्रहालयको लागि आवश्यक सामग्री संकलन, Exhibition Hall/Gallery को Design, Labeling and Lightening, अन्यत्रबाट सामग्री संकलन तथा प्राप्ती र संग्रहालयको संचालन तथा व्यवस्थापनको विषयहरुमा आधारित भई छलफल भएको थियो । उक्त अवसरमा संग्रहालयमा हालसम्म भएको प्रगति विवरणका सम्बन्धमा बर्द बहादुर गणका गणपतिद्वारा प्रस्तुतिकरण भएको थियो । सो क्रममा नं. ९ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहले नेपाली इतिहासमा सिन्धुलीगढीको लडाइँमा अंग्रेज बिरुद्धको जीतले नेपाल र नेपालीको अस्तित्व जोगाउन महत्वपूर्ण भूमिका खेलेको वास्तविकता र पूर्वजहरुको योगदान तथा अदम्य साहसका कारण हाम्रो आफ्नो पहिचान जोगिएको यथार्थलाई आत्मसात गर्दै ऐतिहासिक सिन्धुलीगढी क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गरि संरक्षण तथा प्रबर्द्धन गरिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
सो गोष्ठीलाई सम्बोधन गर्नु हुंदै प्रदेश सांसद माननीय विनोद खड्काले सम्बन्धित विशेषज्ञहरुको राय सुझावलाई आत्मसाथ गरी प्राप्त हात-हतियारहरु तथा अन्य दस्तावेजको सजावट, व्यवस्थापन तथा संचालन गर्न भविष्यमा आई पर्न सक्ने चुनौतिहरुलाई मनन् गरी कार्य योजना बनाई ”सिन्धुलीगढी युद्ध संग्रहालय” लाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रुपमा स्थापित गराउन सकेमा गौरवमय ईतिहास बोकेको सिन्धुलीगढीको महिमा अझ बढ्न सक्ने विश्वास व्यक्त गर्नुहुँदै नेपाली सेनाको यस पहलकदमीको सराहना गर्नु भएको थियो ।
उक्त कार्यशाला गोष्ठीमा कमलामाई नगरपालिकाका नगर उप प्रमुख, कमलामाई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत, राष्ट्रिय संग्रहालय प्रमुख, संरक्षणविदहरु, आर्किटेक्ट ईन्जिनियरहरु, Interior Design का विज्ञहरु, पूर्व पाटन संग्राहलय प्रमुख, नेपाली सेनाका अधिकृतहरु, सञ्चारकर्मीहरु तथा अन्य सरोकारवाला पक्षहरुको उपस्थिति रहेको थियो ।