काठमाडौँ/नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले दार्जिलिङका साहित्यकार नन्द हाङ्खिमलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ र नेपालगञ्जका साहित्यकार खगेन्द्र गिरी कोपिलालाई ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ प्रदान गरेको छ ।
प्रतिष्ठानको १२औँ वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले क्रमशः रु ५१ हजार र ३१ हजार राशिको सो पुरस्कार प्रदान गर्नुभयो ।
विसं २००० कात्तिक २६ गते जन्मिनुभएका नन्द हाङ्खिमको सन् १९७२ मा ‘प्रेमालाप’ मुक्तक सङ्ग्रहका साथै विभिन्न विधाका कृति प्रकाशित छन् । त्यसैगरी विसं २०२० फागुन २८ गते जन्मिनुभएका खगेन्द्र गिरी कोपिलाका ‘उस्तैउस्तै नदीका उस्तैउस्तै छालहरू’ (२०५९), ‘डुबे पनि डुब्दैन घाम’, (२०६२), ‘आफ्नै छाल आफ्नै किनारा’ (२०६५), ‘कालध्वनि’ (२०८०) मुक्तक कृतिलगायत कृति प्रकाशित छन् ।
सोही कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजले संयुक्त रुपमा प्रकाशन गरेको नेपाली साहित्यमा कलम चलाउने अन्य विधाका स्रष्टासमेतको मुक्तकहरूको कृति ‘मुक्तक मुहिम’ को लोकार्पण गरिएको छ ।