सरकारी संचार माध्यमहरुले प्रभावकारी कार्यक्रम प्रशारण गर्न संचारमन्त्री गुरुङको निर्देशन

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रशारण गर्न संचार माध्यमहरुलाई आग्रह गर्नु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि जनतालाई सही सूचना दिन सरकारी संचार माध्यमहरुले विशेष भूमिका निर्वाह गर्नु पर्ने पनि स्पष्ट पार्नु भयो । सरकारी संंचार माध्यम नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको काठमाडौंस्थित केन्द्रीय कार्यालयको छुट्टाछुट्टै अनुमगन गर्ने क्रममा उहाँले सरकारले गरेका राम्रा काम जनताको माझ लैजाने दायित्व संचार माध्यमहरुको भएको उल्लेख गर्दै त्यसमा नचुक्न पनि सचेत गराउनु भयो । ‘जनतालाई सही सूचना दिने दायित्व संचार माध्यमको हो,’ मन्त्री गुरुङले भन्नु भयो,‘त्यसका लागि सरकारी संचार माध्यामले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।’ संचारमन्त्री गुरुङले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, गोरखापत्र संस्थानजस्ता सरकारी संचार माध्यमलाई प्रभावकारी बनाउन एकीकृत ढंगले संचालन गर्ने योजना पनि अघि सार्नु भयो । त्यसका लागि विज्ञहरुसँग आवश्यक छलफल गरी नीति ल्याउने मन्त्री गुरुङको भनाई छ । मन्त्री गुरुङले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर समाचार सम्प्रेषण गर्न पनि संचार माध्यमहरुलाई आह्वान गर्नु भयो । उहाँले सरकारी संचार माध्याम विगतमा राजनीतिक आस्थाको गोटी बनेकाले त्यसको स्थायित्व र विकासमा समस्या देखिएको उल्लेख गर्दै अव त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
संचार मन्त्रालय सम्हाल्नु भएका मन्त्री गुरुङले पहिलो पटक नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको छुट्टाछुट्टै अनुगमन गर्नु भएको हो । त्यस क्रममा उहाँलाई नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले आ–आफनो कार्यालयमा स्वागत गर्नु भएको थियो ।

Facebook Comments