काठमाडौँ । सरकारले भारतले अतिक्रमण गरी विवादित बनाएको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नक्सालाई अनुमोदन गरेको हो ।सुगौली सन्धि अनुसार महाकालीपूर्व रहेका लिम्पियाधुरासहितको भुभाग नेपालको भएपनि लामो समयदेखि नेपालको नक्साबाट छुटेको थियो ।
गत मंसिरमा भारतले नेपालको लिम्पियाधुरासमेत समेटेर आफ्नो राजनीतिक नक्सा जारी गरेपछि दुई देशबीचको सीमा विवाद सतहममा आएको थियो । भारत सरकारले कालापानीसमेत अतिक्रमण गरेर आफ्नो सेना राख्ने, लिपुलेक हुँदै मानसरोवर जाने बाटो एकतर्फी रुपमा खोल्ने जस्ता कार्य गरेपछि नेपाल सरकारले असहमति जनाउँदै आएको छ । सरकारले शुक्रबार जारी गरेको नीति तथा कार्यक्रममा नेपालको नयाँ नक्सा जारी गर्ने र अतिक्रमति नेपाली भूमिबाट भारतको उपस्थिति हटाउने घोषणा गरेको थियो ।
यसबारे पर्यटनमन्त्री योगेश भट्टराईले सोमबार साँझ जानकारी गराएका हुन् ।