सतहत्तर सालका सकस

• एकराज पाठक

यो आलेखको आसय र इच्छा अहिले नै हामी खत्तम भयौँ, हाम्रो देशमा बडो ठूलो संकट निम्तिँदैछ भन्ने चाहिँ पटक्कै होइन । तर परिस्थितिले पारेपछि र सिंगो भूगोलकै नियति यस्तै भएपछि सम्भावित संकटबाट हामी पनि भाग्ने भन्दा जुध्न तयार हुनुपर्दाे रहेछ । त्यसैको पूर्वाभ्यासस्वरुप हामीले पनि अब के गर्ने भन्ने बहस चलाएका छौँ । त्यसो त, हामीले मात्र होइन, संसार नै यतिखेर अब के गर्ने भन्नेमा घोत्लिइरहेको होला । सधैं हस्याङ्फस्याङ्मै, बेफुसर्दमै देखिने सारा युरोप र अमेरिकाले अहिले कतिधेरै फुर्सदको अनुभूति गरिरहेको छ । हामीभन्दा कैयौँ गुणा व्यस्त देखिने, घडीको सुईको चालमा चौबीसै घन्टा नसुत्ने न्युयोर्क र विश्वका अरु शहर पनि यतिखेर घरभित्रै छन् । उनीहरु पनि भोलि के हुन्छ र के गर्ने भन्नेमै व्यस्त होलान् । हाम्रा पनि गच्छेअनुसारका सकस् छन् । विदेशीहरुलाई भोलि को ठूलो हुने ? को पहिलो अर्थतन्त्र हुने ? विश्वमा राजनीतिक पहूँच बनाउन कुन संरचना बन्ने ? भोलिको अर्थतन्त्र अहिलेको जस्तो अमेरिकी नेतृत्वको पूँजीवादी र खुल्ला अर्थतन्त्र रहने कि चीनले नेतृत्व गर्ने खालको नव सामाजिक अर्थ व्यवस्था हुने भन्ने बहसहरु छन् उनीहरुका ।
तर समस्यैसमस्याको चार दिवालभित्र हामी पनि तोरिएका छौँ । भोलि के हुन्छ भन्ने आजको चिन्ताले हामी नेपालीलाई पनि सताएकै छ । अर्कैको हातको अर्थतन्त्रमा अडेका हामीहरुलाई झन् भोलिको समस्याले नपिरोल्ने कुरै भएन । विश्वनै महामारीले सताइएको देखेका छौँ, त्यसैले हामी नपिरोलिने कुरै भएन । त्यसैले सधैँ नकारात्मक मात्र कुरा देख्ने र लेख्ने आरोप खेप्नुपर्ने यो पेशाका हामी पत्रकारहरुलाई पनि मान्छेले कुकूरलाई होइन कि कुकूरले मान्छेलाई टोकेको मात्र समाचार बनाउने मन हुन्छ नै । तर नहुने कुरा भइदिएपछि झन् ठूलो समाचार त समाजले पनि मान्छ नि । काठमाडौँबाट बागलुङका लागि हिँडेका १०० ओटा बसमा ९९ वटा सकुशल बागलुङ बजार पुगेको सूचना दिने रहर हामीलाई पनि नभएको होइन, तर आफन्तले त दुर्घटनामा परेको एउटा बसको बारेमा समाचार खोज्ने गर्छन् । अनि त्यही समाचारलाई बढी प्राथमिकतामा राख्ने दायित्व हामीमाथि थपिन्छ । विकासका अभियन्ताहरुले ९९ बस सकुशल बागलुङ बजार पुगेको विर्सिएर एउटा बस दुर्घटनामा परेको समाचार किन खोजेको भन्ने प्रश्न गर्दा त्यसको जवाफ दुर्घटनामा परेको बसका आफन्तको पीडाले दिइनै रहेको हुन्छ । त्यसैले यो आलेखमाथिको ‘नयाँ वर्षको दिन राम्रो कुरा दिएको भए पनि त हुन्थ्यो नि किन सकसै खोतल्नुपथ्र्यो र’ भन्ने सम्भावित प्रश्नको स्पष्टिकरण मात्र हो यो । संसारको एक अदृश्य सत्रुले यसरी विश्वलाई सताएको छ कि त्यसले हामीलाई कसरी दुःख देला भन्ने बारेको सामान्य ध्यानाकर्षण मात्र हो यो ।
आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उक्त प्रतिवेदनमा अहिले नै पूर्ण या आंशिक रुपमा करिव २ अर्ब ७० करोड कामदार प्रभावित भइसकेको उल्लेख छ । विश्वको तथ्याङ्क हेर्दा कामगर्ने समग्र जनशक्तिको यो ८१ प्रतिशत हुन आउँछ । यो समस्यालाई अल्पकालीन भनिएकोले लामो समय त्यस्तो नहुने आशा गरिए पनि अहिले नै कामविहीन भएको अवस्थाले भोलिलाई पनि पिर्न सक्छ । उता अन्तर्राष्ट्रिय मुद्रा कोषले १७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण गरेको छ । सन् २००९ को आर्थिक मन्दीभन्दा पनि खराब हुने अनुमान गरिएको छ ।
हो, हाम्रो चिन्ता यही हो । नेपालजस्ता विकासोन्मुख मुलुकलाई महामारीपछिको आर्थिक व्यवस्थापन नै प्रमुख चुनौती हुन् । हाम्रो उपभोगमुखी अर्थप्रणाली, आयात, राजस्व आदि रेमिट्यान्सको कमीले खुम्चिने नै छन् । हाम्रा गन्तव्य मुलुकले रोजगारी कटौती गर्ने क्रम शुरु हुनेछ । यसले पहिलो शिकार त हामीलाई नै बनाउने छ । हिजो हामीले स्वदेशमै केही गरौँ भनेर युवाशक्तिलाई उत्प्रेरित गर्नुको सट्टा ‘फ्रि भिसा फ्रि टिकट’मै विदेशिन प्रेरित ग¥यौँ । हिजो लहलह धानका बाला झुल्ने खेत बाँझै राख्यौँ, कामगर्ने जनशक्तिलाई विदेश पठाउने सजिलो बाटोमात्र खोज्यौँ र तिनले पठाएको रेमिटेन्सबाट देश चलायौँ । यसरी हामी टुप्पोबाट पलायौँ । हाम्रो टेक्ने आधार माटो हो, धर्ती हो । तर यो बिर्सियौँ । चरचरी धाँजा फाटेका हाम्रा खेतले अब हामीलाई धिक्कार्ने बेला आएको छ । त्यसले सिँचाइँ खोज्दैछ, हाम्रो जनशक्तिको पसिना । अब विदेशबाट रेमिटेन्स पनि नआउने र स्वदेशमा अरु इलम पनि केही नहुने भएपछि अब धर्तीमा नटेकेर कहाँ जाने ? आमाको पनि आमा धर्ती भएकोले हामीलाई पालन गर्ने दायित्व पनि धर्तीकै हो । तर हाम्रो पसिना र परिश्रम भने पोख्नैपर्छ । हो, यो कोरोनाको कहरले हामीलाई यही शिक्षा दिएको छ । यो मन्दीका कारण विश्वव्यापी रूपमा क्रयशक्ति घट्दा यहाँ रात बिताउन गुणस्तरीय पर्यटकको आगमन दुर्लभै हुनेछ । देशको समग्र पर्यटन क्षेत्रकै आय घट्ने छ । यस्तो विश्वव्यापी मन्दीले हाम्रा योजना आयोजनाहरु समयमै सम्पन्न नहुन सक्छन् ।
अर्कातर्फ हाम्रो अर्थतन्त्रमा सहयोग अनुदानको पाटोमा पनि ह्रास आउन सक्छ । किनभने हाम्रा दाताहरु नै मन्दीमा फस्न सक्ने देखिन्छ । यसले गर्दा नेपालमा विदेशी मुद्रा सञ्चिती घट्ने र शोधानान्तर घाटा बढ्ने त हुने नै भयो । वैदेशिक सहायतामा आउने कमीले नेपालको आर्थिक क्षेत्रमात्र छुदैन यसले ओगटेका अनेकन सामाजिक आयामहरुमा पनि क्षति पुग्न जानेछ । त्यसैले वैदेशिक रोजगारीमा रहेको ठूलो जमात नेपाल फर्किने भएकोले यसलाई स्वदेशी कृषि उद्यममा लगाउन के गर्न सकिन्छ भन्ने बारेमा सरकारले अहिले नै सोच्दा राम्रो हुनेछ ।
डिसेम्बरको अन्त्यतिर चीनको वुहान शहरमा देखिएको कोरोना जीवाणुलाई बेलैमा ठीक पार्न त्यसताका चीनलाई चहराउँदा अरु विश्वलाई पनि दुखेको भए सायद यो अदृश्य सत्रुले आज यो स्वरुप धारण गरेर विश्वभ्रमण गर्न सक्दैनथ्यो होला । तर जब यो इटालीको बाटो युरोप उक्लिएर अमेरिका पुग्यो अनिमात्र सबैलाई दुख्यो । यसैले यतिखेर विश्वबजार आक्रान्त छ । विश्वयुद्धपछिको ठूलो समस्याका रुपमा यो देखिँदैछ । हामीले पनि यस वर्ष काट्नुपर्ने कहर धेरै छन् । बेलैमा तयारी गर्दा राम्रो हुनेछ । नयाँ वर्षको सबैलाई शुभकामना ।
(साभार : ढाेरपाटन डटकमबाट)

Facebook Comments