प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक पारित

काठमाडौं । नेपालको संविधान (दोस्रो संसोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ । आजको संसदको बैठकमामा कुल २५८ सदस्य उपस्थित सदस्यले संशोधनको पक्षमा मतदान गर्नुभएको छ । विपक्षमा मतदान शुन्य रहेको छ ।
यस अघि संविधान संसोधनको विधेयक माथि भएको छलफलमा बोल्ने सबै सांसदहरुले देशको भूमि फिर्ता गर्ने विषयमा प्रधामन्त्री केपी शर्मा ओलीलाइ सबैको साथ रहको बताउनु भएको थियो ।
छलफलमा बोल्दै प्रमुख प्रतिपक्षदलका नेता शेरबहादुर देउवाले नेपालीहरु राष्ट्रिय एकताका लागि जहाँ रहे पनि एक हुन्छन् भन्ने देखाएको बताउनुभएको थियो ।
यस्तै राससका अनुसार छलफलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको जमीन गणतन्त्रले फिर्ता ल्याउन लागेको बताउनुभएको थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “देशको भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा हिजो निरङ्कुश पञ्चायती तानाशाहीको प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा हामी आइपुगेका छौँ, भूमि राजतन्त्रले गुमायो, गर्वका साथ गणतन्त्रले लिँदैछ, ऐतिहासिक गौरव यो सदनलाई प्राप्त हुँदैछ ।”

संवेदनशील विषयमा सर्वदलीय बैठकमार्फत सहमति बनाउँदै हाम्रो नक्शा सच्याउने र संविधान संशोधन गर्न पहलकदमी गरेकामा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारलाई धन्यवाद दिँदै अध्यक्ष दाहालले साथ दिने सबै दल, नागरिक समाज र आम नेपाली जनताप्रति आभार प्रकटका साथ बधाई ज्ञापन गर्नुभयो ।
पञ्चायतपछि बनेका सरकारले भारतसँग वार्ता गर्दा प्रायः सबैले यसअघिको सम्झौता र असमान सन्धिका बारेमा कुरा उठाएको र विसं २०६२/६३ पछि बनेका प्रधानमन्त्रीले नेपालको भूगोल र सिमानाका सम्बन्धमा गम्भीर ढङ्गले प्रश्न उठाई भारत सरकारसँग प्रष्ट रुपमा छलफल भएको जानकारी दिनुभयो ।

Facebook Comments