संविधान दिवस मनाउने सम्बन्धी उपसमितिको निर्णय

काठमाडौं । यहि २०७७ साल असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन गठन भएको मूल समारोह समिति अन्तर्गत प्रचार प्रसार उपसमितिका संयोजक एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालज्यूको संयोजकत्वमा मिति २०७७।०५।२४ गते बुधबार संविधान दिवस प्रचार प्रसार उपसमितिको बैठक मन्त्रालयमा बस्यो । संबिधान दिवस मूल समारोह समितिबाट निर्णय भए बमोजिम यही २०७७ असोज २, ३ र ४ गते राष्ट्रिय महोत्सवका रुपमा संविधान दिवस राष्ट्रिय दिवस मनाउने सन्दर्भमा देहाएका विषयहरुको तयारी अगाडि बढाउने निर्णयहरु गरिएकोले सबैको जानकारी लागि  प्रेस विज्ञप्ती जारी गरिएको छ ।

क) नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुबाट “संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं ” भन्ने जस्ता स्लोगनहरु मास एस.एम.एस. पठाउने व्यवस्था गर्ने ।

ख) संविधान दिवस (राष्ट्रिय दिवस) को शुभकामना शहरका विभिन्न स्थानमा रहेका डिस्प्ले बोर्डमा सन्देश प्रसारण गर्न । काठमाडौं महानगरपालिकासँगको समन्वयमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय सूचना प्रविधि केन्द्रले आवश्यक व्यवस्था मिलाउने ।

ग) नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थानबाट नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष परिसम्वाद, सम्वाद लगायत जनचेतनामूलक कार्यक्रमहरुको प्रसारणर प्रकाशन गर्ने साथै सामुदायिक एवं निजी क्षेत्रका अन्य सञ्चार माध्यमहरु रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन लगायतबाट जनचेतनामूलक कार्यक्रमहरुको प्रसारणर प्रकाशन गर्न अनुरोध गर्ने ।

घ) गोरखापत्र, द राइजिङ्ग नेपाल लगायत राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा संविधान विशेषाङ्क र स्मारिका र संविधानको बहुपक्षीय आयामलई उजागर गर्ने विभिन्न लेख रचनाहरुको सँगालो प्रकाशन गर्ने साथै अन्य निजी क्षेत्रका सञ्चार गृहहरुलाई प्रकाशनका लागि अनुरोध गर्ने ।

ङ) नेपाल टेलिभिजन, रेडियो नेपालले नेपालको संविधानको महत्वको बारेमा कार्यक्रम प्रसारण गर्ने तथा सामूदायिक एवं निजी क्षेत्रका अन्यसञ्चार माध्यमहरुलाई पनि कार्यक्रम प्रसारणका लागि अनुरोध गर्ने।

च) संविधान दिवस (राष्ट्रिय दिवस) को दिन आआफ्नो घर घरमा राष्ट्रिय झण्डा सम्मानका साथ राख्न प्रचार प्रसारको लागि आम सञ्चार माध्यमहरुलाई अनुरोध गर्ने ।
छ) रेडियो नेपाल र नेपाल टेलिभिजनबाट संविधान दिवस (राष्ट्रिय दिवस), २०७७ को अवसरमा जागरण गीतहरु प्रसारण गर्ने ।

ज) सूचना तथा प्रसारण विभागले संविधान दिवस (राष्ट्रिय दिवस) को महत्व र आवश्यकता समेतलाई प्रवर्द्धन गर्न सघाउ पुग्ने गरी वर्गीकरणमा परेका सवै पत्रपत्रिकाहरुमा स्लोगन लोककल्याणकारी विज्ञापनका रुपमा उच्च प्राथमिकताका साथ प्रकाशन गर्ने ।
झ) स्थानीय सञ्चार माध्यम तथा पत्रपत्रिकावाट संविधानसँग सम्वन्धित विभिन्न सन्देश तथा कार्यक्रमहरु प्रकाशन र प्रसारण गर्न रेडियो, एफ.एम रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन लगायतलाई अनुरोध गर्ने ।

ञ) नेपाल टेलिभिजनबाट संविधानका विविध पक्ष समेटिएको डकुमेन्ट्री प्रसारण गर्ने,

ट) रेडियो नेपाल र नेपाल टेलिभिजनले मूल कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने र उक्त समारोहको प्रत्यक्ष प्रसारण गर्न इच्छुक रेडियो, एफ. एम. रेडियो र टेलिभिजनहरुलाई रेडियो नेपाल र नेपाल टेलिभिजनले समन्वय र सहजीकरण गरिदिने ।
ठ) रेडियो नेपाल र नेपाल टेलिभिजनबाट नेपालको संविधान सम्बन्धी Jingel तयार गरी रेडियो एवं टेलिभिजनहरुबाट प्रसारण गर्ने र गराउने ।

ड) संविधान दिवसका अवसरमा दूरसञ्चार सेवा प्रदायकहरुलाई दूरसञ्चार शुल्कहरुमा विशेष छुट दिने प्याकेज लगायतका अन्य प्याकेज ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणले व्यवस्था मिलाउने।

ढ) राष्ट्रिय समाचार समितिले संविधान दिवस (राष्ट्रिय दिवस) सम्वन्धी संविधान विशेषाङ्क र स्मारिका, लेख वा कार्यक्रम उत्पादन र निर्माण तयार गरी सवै सञ्चार माध्यमहरुलाई उपलब्ध गराउने । ण) मन्त्रालय एवं मन्त्रालय सम्वद्ध निकायहरुले संविधान दिवस (राष्ट्रिय दिवस) सम्वन्धी स्लोगनहरु आआफ्नो वेभ साइटमा अपलोड गर्ने तथा संविधान दिवसको अवसरमा असोज २, ३ र ४ गते दीप प्रज्वलन समेत गर्ने समेत प्रवक्ता एवं सहसचिव गोकर्णमणि दुवाडीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

Facebook Comments