के छ यसको धार्मिक तथा संस्कृतिक महत्व
ॐ नमःशम्भवाय च मयोभवाय च नमः शंकराय च ।
मयस्कराय च नमः शिवाय च शिवतराय च ।।
दिव्य आन्नद प्रदान गर्ने प्रभुलाई म नमस्कार गर्दछु । समस्त सुख एवं ऐश्वर्यको अभिवृद्धि गरिदिने परम कल्याणकारी प्रभुलाई नमस्कार गर्दछु । आफ्ना भक्त उपासकलाई पवित्र तुल्याउदै मोक्ष(गति प्रदान गर्ने सर्वामङ्गलकारी हे परम प्रभु ! व्यापक कल्याणका लागि म हजुरलाई बारम्बार नमस्कार गर्दछु । माथिको एउटै श्लोकले पनि शिवजीको महत्वलाई निकै दर्साएको छ । यो सारा जगतका मालिक सृष्टिस्थिति र लयकर्ता आद्य शक्ति परमात्मा परमेश्वर देवादिदेव शाम्वसदा शिवको महिमा अपरम्पार छ ।
पशुपति,रुद्र, सद्योजात, अघोर, वामदेव, तत्पुरुष, ईशान आदि विभिन्न नामले वेद र उपनिषद्हरुमा वर्णित शिव, सच्चिदानन्दरुप, पूर्ण, परात्पर, परब्रह्म हुनुहुन्छ । जुन कुरा शिवपुराणको विद्येश्वर संहितामा“जीवत्वं शङ्करान्येषां ब्रह्मत्वं शंङ्करस्य च“ भनेर स्पष्ट गरिएको छ । त्यस्तै कार्य भेदले गर्दा त्रिदेव जस्तो लागे पनि सकल ब्रह्माण्डका एउटै देव वा देवादिदेव शिवजी हुनुहुन्छ ।
स्कन्धपुराणका अनुसार “एक एव शिवः साक्षाद सृष्टिस्थित्यन्तसिदध्ये।ब्राह्माविष्णुशिवाख्याभिःकलनाभिर्विजृमभते“ यस्तै शिवपुराण रुद्रसंहितामा विष्णुले गरेको भगवान शिवको स्तुतिले पनि माथिको कुरालाई प्रष्ट पार्छ त्रयो देवा वयं शम्भोस्त्वदात्मानः परा न हि । एक रुपा न भिन्नाश्च तत्त्वतःसुविचारय।।(१९६४)
यहि कुरालाई शि.पु.वि.सं ९र३६ ले पनि प्रस्टाएको छ ।
शिव शब्दका अक्षर र मात्राको विश्लेषण गर्दा ‘श’ नित्य सुख र आन्नदको प्रतीक हो भने ‘इ’ पुरुषको प्रतीक हो । यसैगरी व चाहिँ शक्तिको प्रतीक हो, अनि यी सबैको अमृतमय मिलन शिव हो ।
शं नित्यसुखमानन्दमिकारःपुरुषः स्मृतः।
वकारः शक्तिरमृतं मेलनं शिव उच्चयेते ।।(शि.पु.वि.सं१८र७)
शिव भन्नाले कल्याणकारी आद्य सनातन परब्रह्म परमेश्वर हुनुहुन्छ । यो समपुण जगत भगवान शिवकै अंशरुपमा अगाडि बढी रहेको छ।शिव लिला बुझनको लागि यो भौतिक आँखा कम पर्छ । आध्यात्मिक आँखा जागृत गर्न तिर्थ व्रत, दान, तप, यज्ञ गरि अन्तस्करणलाई शुद्ध निमल र मत्सर रहित बनाउनु पर्दछ । जस्ले गर्दा शिवसायुज्य प्राप्त हुन्छ ।वेदले पनि भगवान शिवको स्तुति गरेका छन् ।’ तन्मे मनः शिवसङ्कल्पमस्तु’ (शु,यजु३४र२श)को वेद ध्वनिबाट प्रष्ट हुन आउँछ ।
चारवटै वेदले शिवजीको विशेष स्तुति गरेका छन् । यजुर्वेदमा शिवका स्तुतिहरु प्रशस्तै छन् । रुद्राअभिषेक कर्म यजुर्वेदकै मन्त्रबाट सम्पादन गरिन्छ । जहाँ विविध प्रकारले शिवजीको महिमा गान गरिएको छ ।
शिववाट सृष्टि भएका सम्पूर्ण चराचर जगत पशु हुन्छ “ब्रहमाद्याः स्थावरान्तश्च पशवःपरिकृतिता“ शिव पुराणले भन्दछ । अनि पशुको गुण र स्वभाववारे कुलार्णव तन्त्रमा यसो भनिएको छ–
“घृणा शङ्का,भयं, लज्जा,जुगुप्साचेति पञ्चभिः
कुल शील तथा जातिरष्टौ पाशा प्रकीर्तित ।“
यी आठ मध्ये कुनै एक भएमा त्यो पशु हुन्छ र जसमा यी कुनै छैनन् उहीँ हो पशुपति
“पाशवद्धःपशु प्रोक्तःपाशमुक्तः पशुपति“ जीव ंवासना.पशु (जीवात्मा)सजीव (वासना .पशुपति (परमात्मा)
पशुपतिनाथ असिम हुनुहुन्छ, पुर्ण हुनुहुन्छ, सर्वज्ञ हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, सर्वव्यापक हुनुहुन्छ, सर्वकालीन हुनुहुन्छ किनभने उहाँ कुनै पास वा बन्धनले बाँधिनुभएको छैन ।
उहाँ पञ्चकृत्यकारी हुनुहुन्छ । उहाँको पाँच कार्य यी हुन (
१)सृष्टि
२)स्थिति
३)संहार
४)निग्रहरतिरोभाव
५)अनुग्रह
यी पाचमध्ये अघिल्ला चार अनुग्रहभित्र समेटिएका छन्, अनुग्रह भनेको कृपा हो शिवले कृपा गरि सृष्टिद्वारा पशुहरुलाई आ आफ्नो कर्मभोग गर्ने अवसर दिनुहुन्छ (यो अवरोहक्रम हो) जब पशुलाई मुक्ति दिने कृपा गर्नुहुन्छ उसलाई मोक्षमार्ग तर्फ प्रवृत्त गराउनुहुन्छ(यो आरोहण क्रम हो)।जुन श्रावण मासको उपासनावाट मिल्छ ।
सामवेद संगीतको आद्य स्रोत हो । जसका पिता शिवजी हुनुहुन्छ । भगवानको नटवर स्वरुपबाट नृत्य र गायनका सा रे ग म प ध नि सा आएका हुन् । अथर्ववेदले पनि शिव महिमा गान गरेको छ । अथर्ववेदमा मारण मोहन र उच्चाटनका कुरा छन् । जसका जनक स्वयं श्री साम्बसदा शिवजी हुनुहुन्छ । संस्कृत व्याकरणको पहिलो सुत्र भगवान साम्वशिवले नै प्रदान गर्नु भएको हो ।
लिङ्गपुराणको अन्तिम अध्यायमा मन्त्रयोग, स्पर्शयोग, भावयोग र महायोगको चर्चा गरिएको छ । मुखले मन्त्रको जप ,मनवाट रुपको ध्यान गर्नु मन्त्र योग हो । नाडीशुद्धिबाट वायुशुद्भि गर्ने प्रक्रिया स्पर्शयोग हो । भित्र र बाहिर भगवद्रुपको स्फुरण हुनु भावयोग हो । यी तिनवटै सिद्धि पश्चात् सर्वोतम् महायोगको स्थान आउँछ जुन निर्विकल्प समाधिरुप हो । यसको सिद्धि पश्चात् सम्पूर्ण बन्धनबाट मुक्त भएर शिवसायुज्य प्राप्त हुन्छ भन्ने कुरा लिङ्गपुराणमा व्यक्त गरिएको छ । यसै गरि शिवको नामकीर्तन, भस्मधारण र रुद्राक्षधारणले पनि शिवसान्नीध्यमा बिशेष महत्व राख्छ जुन कुरा शि.पु.वि.अ.१७,२३, देखि २५ सम्म विस्तृत रुपमा दिइएको छ ।
श्रावण महिना भन्नाले चन्द्रमास अनुसार श्रवण नक्षत्रमा पूर्णिमा पर्ने महिना हो । सुर्य मास अनुसार जुन दिन कर्कट राशिमा सुर्य प्रवेश गर्नुहुन्छ सोही दिनवाट श्रावण मास सुरु हुन्छ ।सोमवार भन्नाले जुन दिनको प्रथम होराको मालिक वा स्वामी चन्द्रमा हुन्छन् त्यसदिनलाई सोमबार भनिन्छ । सोम भनेको चन्द्रमाको धेरै नाम मध्ये एउटा नाम हो।साउन महिना शिवजीको प्रिय रहेको छ ।यसमा पनि सोमबार बिशेष रहेको छ । चन्द्रमा मनको कारक र शिवजीले पनि बिशेष स्थान दिनु भएको छ र शिरमा स्थान दिनु भएको छ । शिवजीले आफ्नो प्रिय बारको रुपरमा चन्द्र बार सोमवारलाई लिनाले पनि अभ बढी महत्त्व थपिएको छ ।
ग्रीष्म यामको गलित मनलाई शान्त बनाउन बर्षाको आवश्यकता पर्छ । भौतिक तनलाई त हामीले बुझ्ने बर्षाले सफा गर्ला मन सफा गर्न त वैदिक आचारण र आध्यात्मिक ज्ञान बाट मात्रै सम्भव छ । श्रवण इति श्रावण भन्ने पनि गरिएको छ । श्रवण के गर्ने भन्दा वेद अधिकार प्राप्तले वैदिक ऋचा श्रवण मन्न पठन गर्ने । अरू श्रद्धालुले नवधा भक्ति गर्ने । श्रावण महिना भनेको भगवान शिवले जगत सञ्चालन गर्न जिम्मा पाएको पहिलो महिना हो । जुन कार्य उहाले हरिशयनी
एकादशीवाट पाउनुभएको हुन्छ । यसैगरी समुन्द्र मन्थनका बेला उत्पन्न भएको कालकूट बिष भगवान शंकरले श्रावण महिनामा नै कण्ठमा धारण गरेर सम्पुर्ण चराचरश्रृष्टीको रक्षा गर्नुभएको थियो । यसै विषको जलन सहन नसकेर भगवान हिमालय तिर लाग्नुभएको थियो र नेपालको गोसाइँकुण्डमा पुगेपछि प्यास लाग्दा त्रिशूल गाडी गंगाजिलाई उत्पत्ति गरेर प्यास बुझाउनुभएको थियो।सोही स्थान अहिलेको त्रिशूली नदिको उदगम स्थान हो ।
यस्तै भगवानलाई छिटै खुसी बनाउन सकिन्छ त्यसैले भगवानलाई आँशुतोष पनि भनिएको छ । यश समयमा भगवानलाई खुसि बनाउन सकेमा जे पनि बरदान प्राप्त गर्न सकिन्छ । भगवानको वरदानको सीमा नै छैन ।
जस्तै भष्मासुरलाई दिनुभएको वरदान र रावणलाई आफ्नो अर्द्याङगिनी दिनुभएको प्रसङ्गलाई लिन सकिन्छ । यसैगरी भन्ने गरिएको छ(“देवं भूत्वा देवं यजेत“जुन देवताको पूजा गरिने हो । उनैको पहिरन अर्चक वा भक्तले पनि लगाउन पर्ने हुन्छ । जस अनुसार श्रावण महिनाभरि पहेँलो, सेतो र रातो कपडा लगाउनु हितकर रहने छ । बुध ग्रहको कृपा बनिरहोस भन्नको लागि केही मात्रामा हरियो रङ्ग पनि प्रयोग गर्न सकिन्छ । यी भन्दा बाहेकका रङ्ग प्रयोग नगरेकै राम्रो हुनेछ । श्रावण महिनामा तिउरी लगाउने चलन छ जुन स्वास्थ्यको हिसाबले र भगवान खुसी गराउने कुरामा राम्रो छ, तर बजारिया मेहेन्दी भने नलगाउनु होला जस्को कुनै पनि हिसाबमा फाइदा छैन ।
यस व्रतको लाभको बिषयमा यसो भनिएको छ “अपुत्रो लभते पुत्रन्निर्धनो धनवान् भवेत्।अविद्यो लभते विद्यामिति धर्मविदो विदुः।“अर्थात् ,अपुत्रले पुत्र प्राप्त गर्नेछन् ,निर्धनले धन प्राप्त गर्नेछन् ,अबिद्याले विद्या प्राप्त गर्नेछन भन्ने धर्म विदहरुको भनाइ छ ।
सन्धिखर्क १२. हाल काठमाडौं।