श्रद्धाको फूल : आँशु झरेकै राम्रो

नरेन्द्र निर्विकार (२०१८) ग्रामिण भेगमा बसेर नेपाली साहित्य सेवा गर्ने एक सशक्त कवि एवम गीतकार हुन । नेपाली विषयमा प्रथम श्रेणीमा स्नातक उत्र्रीण गरेका यिनी कविता, गीत, गजल र निवन्ध विधामा कलम चलाउछन् । यिनको मुख्य विधा भनेको कविता र गीत हो । २०३३ सालबाट लेखन यात्रा सुरु गरेका कवि तथा गीतकारको २०३५ सालमा रेडियो नेपालको साहित्य संचारमा को संग पोँखू मनको वह शीर्षकको कविता स्वर्गीय दाहाल यज्ञनिधिको स्वरमा वाचन गरिएको थियो । यो उनका पहिलोे प्रकाशित रचना हो ।
स्थानीय विषयवस्तुलाई टपक्क टिपेर थुङ्गाहरुलाई माला बनाउने कौशल उनका रचनामा स्पस्ट देख्न सकिन्छ । यो शिल्पी पक्कै पनि पहाडी हावापानीको उपज हो भन्न सकिन्छ । जीवनमा धेरै उतार चढाव भोगेका हुनाले उनका रचनामा त्यसको प्रभाव पाउन सकिन्छ । पानीको कुनै रंग हुँदैन कविता संग्रह (२०६०), फूल झरेपछि स्मारिका गजल संग्रह (२०६८), सहकार्य गीति एल्वम (२०६७) गोपालचन्द्र राईसँग संयुक्त, र आँशु झरेकै राम्रो गीत संग्रह (२०७५) कृतिहरु प्रकाशित रहेकाछन् ।
फूल झरेकै राम्रो गीत संग्रहमा भूपाल राईको समीक्षात्मक भूमिका रहेको छ भने रामबिक्रम थापाले शुभकामना दिनु भएको छ । यो कृतिमा १०१ गीत रहेका छन् । गीतकारले भनेकाछन् – हरेक गीतका शब्दहरु मैले आँशुले लेखेको छु,उनको दावी छ । यो संग्रहमा चालिसको दशक देखिका गीतहरू रहेकाछन् ।
गीतमा लय, भाव, शब्द बुनोट सगै मात्रा र मिटरलाई पनि सकेसम्म मिलाउने कोशिस गरेको पाईन्छ ।
त्यसो त गीतले मानव मनलाई अल्लादीत बनाउने काम गर्दछ । यिनै भावनालाई गीतमा ब्यक्त गर्ने उनको कला अति सुन्दर रहेको छ ।
केही उदाहरण हेरौ –
कति मान्छे आफ्ना हुन्छन्, कति पराई
मान्छे जस्तै भिन्न हुन्छ माया गराइ (सम्बन्ध)

जीवनमा सधै आशा मात्र होईन निराशाले पनि छाउँछ यो मानव जीवनको अपरिहार्यता हो यसलाई आफ्नो भावना घुमाउरो तरीकाले विरोधीको रुपमा प्रस्तुत गदै निराशा भित्र आशाका किरणलाई खोजेको पाईन्छ यसरी –

म त्यस्तो मान्छे जो आधी मरेको
म शीतको थोपा जो भैँ’ मा झरेको

निर्झर झरी झरे पछि फाट्छ तुँवाले पनि
कुहिरोलाई पखालेर उघ्रन्छ मन अनि
चुलबुले त्यो मुहारमा ईन्द्रेणी परेकै राम्रो
परेलीमा त्यो शीतको थोपा परेकै राम्रो (आँशु झरेकै राम्रो)

अर्को उदाहरण हेरौ :
मनपराइनु एउटा कुरा पाउनु अर्कै कुरा
सबै ईच्छा मानिसका कहाँ हुन्छन पूरा
राम्रा कुरा चाहनेको लामै हुन्छ लर्को
हेर्नलाई सजिलो छ पाउनलाई चर्को ( हत्केलामा जून )

सोच्छु एउटा हुन्छ अर्कै नियतिको खेल
सपना र विपनाको हुन्न रै’ छ मेल ( पार लगाउन कठिन भो )

आफूले चाहेको कुरा पाउन सकिएन भने त्यो प्रकृतिले योग्यता जाच गरेको ठान, किनभने चाहना तिम्रो थियो तर मूल्याङ्कनमा तिमीले त्यो पाउन सकेनौ कारण त्यसका लागि तिमी भन्दा अरु नै योग्यछन । त्यसमा चिन्ता नगर तिम्रो योग्यताले ढुङ्गाको साथ माटोले पाएझैं तिमीले पनि पाउने छौ ।

ढुङ्गा पनि अडि दिन्छ माटै साहारामा
सुके पनि हरियै लाग्छ रुख लहरामा
योग्यलाई यथास्थान राख्छिन प्रकृतिले
जस्लाई जहाँ सुहाउछ उसको आकृतिले (प्रकृतिको छनौट )

आजको मानिसले राम्रो र नराम्रो आफ्नो अर्को छुट्याउन नसकेको हो की, नसके जस्तो गरेको हो ? यो मानवीय स्वभाव भित्र रहेको अमानवलार्ई कसरी परिवर्तन गरी मानवीय बनाउने भन्ने कुराले गीतकारलाई सचेत गराएको पाईन्छ । के जीवन सधै एकनासको रहन्छ, अहँ रहँदैन भने कसैलाई यति धेरै तिरस्कार किन ? यो एउटा अनुत्तरित प्रश्न खडा भएको छ –यसरी

सुनखानीमा सुन हुन्छ नून खानीमा नून
सुन नानी यी दुई मध्य रोज्छ्यौ तिमी कुन !

सुन मनको लोभ पाप दुष्ट्याइँको घर
विजुली झैं चम्किजान्छ हुन्न केही भर

कस्ले आकाश छुन सक्छ सुनको भर्याङ समाइ
पानी कहिल्यै सफा हुन्न पोखरीमा जमाइ (दृष्किोण)

अर्को उदाहरण
भेट हुँदा तिमीले आज आँखा तर्कायौ
नदेखे झैं अर्को तिर मुन्टो फर्कायौ (आँखा तर्कायौ )

शब्दभावमा देशप्रतिको माया पनि त्यतिकै ब्यक्त भएको छ । देशको आवश्यक्ता नबुझ्नेहरू आफ्नो स्वार्थ हेछर्न, र त्यो जसरी पनि पूरा गर्न खोज्छन । देशलाई समस्या पर्यो भने तिनिहरू भाग्न तयार हुन्छन, डटेर सामना गर्ने चाहना राख्दैनन भनेर मीठो ब्याङ्ग्य समेत प्रस्तुत गरेको पाईन्छ । यसको शब्द बुनोट साह्रै उत्कृष्ट रहेको छ ।

आफ्नो घरमा आगो लाग्दा डराई भाग्छन् कायरहरू
साहासी वीर सपूत हुन्छन डड्न पनि तयार बरु (एउटा डुङ्गा भुमरीमा)

एक अर्कालाई विश्वास गर, माया देउ, सद्भाव राख यसैमा सबै मानव जातिको कल्याण हुन्छ । मानव भित्रको मानवीयतामा हराउदै गएको विश्वास बारेको सन्देश यसरी प्रस्तुत गरेकाछन् ।

निर्धो भइँ डुब्नु भन्दा मैले फाल हान्नै पर्छ
भर भन्दा अभर पार्ने साथ तिम्रो त्याग्नै पर्छ
माया जस्तो देखाएर विश्वास घात गर्छौ भने
एउटा नाउको यात्री हामी नाउमै प्वाल पार्छौ भने । (तिमीले घात गर्छौ भने)

यति मर्मस्पर्शी कृतिलाई स्वदेश प्रकाशन प्रा.लि बागबजारले बजारमा ल्याएको छ । सुन्दर आवरणमा सजिएको यो कृति गीत क्षेत्रमा रुची राख्ने सबैका लागि प्रेरणको स्रोत हुनेछ । यस कृतिको मूल्य रु २५०।– रहेको छ ।

गीत मानवीय संवेदनाको एउटा आवाज हो । त्यो कतै कर्णप्रिय लाग्छ त कतै कर्कश पनि हुन सक्छ । त्यो सबै अवस्था र परिवेशले निमार्ण गर्दछ भन्ने मेरो ठम्याई रहेको छ । यस कृतिमा रहेका गीतहरूले एउटा आशाकोे दीयो जलाईको छ, मलाई आशा छ यो दीयाले अन्धकारको एउटा बाटो देखाउन सकोस । र, अन्त्यमा म यसरी साधुवाद ब्यक्त गर्दछु ।

पूर्वैमा पर्छ खोटाङ जिल्ला त्यही पर्यो घर हाम्रो
माथीमा हेर्दा हिउँ सगरमाथा त्यस्तै छ मन हाम्रो

यही शुभ कामना नरेन्द्र निर्विकारमा छोड्दै ओझेल पर्दछु ।
धन्यवाद ।

Facebook Comments