काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा वर्तमान परराष्ट्र सचिव शंकरदाश वैरागीको पक्का भएको छ । उनी गएको चार वर्षदेखि परराष्ट्र मन्त्रालयको सचिव पदमा कार्यरत छन् ।
मुख्यसचिवको दौडमा लागेका तीन जना वरिष्ठ सचिवहरुमध्ये उनी पनि वरिष्ठमा पर्दछन् । यस दौडमा उनीसहित मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी पनि लागेका थिए । तर बाजी मार्नेमा वैरागी अघि देखिएका छन् । उनको नियुक्ति पक्काजस्तै भएको बताएइकाे छ ।
त्यसैगरी हालका मुख्यसचिव लोकदर्शन रेग्मीलाई भने बेलायतको राजदूतमा पठाइने भएको छ । उनको कार्यकाल आगामी कात्तिकको पहिलो हप्ता नै सकिन लागेको छ । कार्यकाल सकिनु अगावै उनलाई १५ दिन अगाडि राजीनामा गर्न लगाइने छ । त्यसपछि मात्र वैरागीलाई बाटो खुल्ने । सोही कारण उनलाई मनाउन बेलायतको राजदूतका लागि अफर गरिएको समाचार स्रोतको दाबी छ । बेलायतका राजदूत दुबसु क्षेत्रीको कार्यकाल सकिन लागेको छ । उनी परराष्ट्र मन्त्रालयको कोटाबाट राजदूत बनेका हुन् । उनी त्यहीँका कर्मचारी भएकोले सरकारले चाहेमा केही समय अगावै पनि फिर्ता बोलाउन सक्छ ।