भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ्गले विकास निर्माणमा देखिएका समस्या मिहिन रुपमा पहिचान गर्न सकिए समाधान त्यहि भेटिने बताउनु भएको छ । आ.ब.०७७÷७८ को प्रथम चौमासिक प्रगती समीक्षा एवम् मन्त्रालयस्तरिय विकास समस्या समाधान समिति बैठकमा उहाँले समस्याको सहि रुपमा उजागर हुन नसके समाधान पनि नहुने बताउनु भएको हो ।
उहाँले भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससंग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु पनि स्वाभाविक रहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘पूर्वाधार निर्माणले आर्थिक विकासमा ठूलो भूमिका खेल्छ । ’
मन्त्री नेम्बाङ्गले पूर्वाधार निर्माणको क्षेत्रमा विगत एक दशकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दे जिम्मेवार निकायमा रहने अधिकारीहरुमापनि त्यहि अनुसार जिम्मेवारी र लगनशीलतामा परिवर्तन आउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘परिवर्तित अवस्थामा सबै कुराहरुलाई परिवर्तन गरेर जादाँ आशातित प्रतिफल प्राप्त हुन्छ ।’
उहाँले राज्य र जनताका अपेक्षा असाध्यै धेरै भएकाले राज्यको जिम्मेवार निकायमा बसेकाहरुले स्वमुल्याङकन गर्नु पर्ने बताउनु भयो ।
उहाँले तुलनात्मक रुपमा गत वर्षको भन्दा राम्रो प्रगति देखिएतापनि सन्तोष हुन सकिने अवस्था नरहेको बताउनु भयो । मातहतका निकायलाई गम्भिर समीक्षा गर्न निर्देशन दिनुहुदै उहाँले भन्नु भयो ‘धेरै गर्न सकिन्छ त्यसको लागि मिहिन रुपमा समीक्षा गरिनु पर्छ । समस्याहरु के के छन् व्यवस्थापन गर्नु पर्छ ।’
उहाँले समय अनुसार विकासको माग र मोडेल फरक हुने बताउनु भयो । उहाँले भन्नु भयो ‘हिजो एउटा कालोपत्रे थियो आज छ लेनको बाटोको माग हुन थालेको छ । हिजो पहाडै पहाड, डाडाँमाथी चढ्ने र ओरालो झर्ने बाटो थिया,आज सुरुङको आवश्यकता भएको छ ।’
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कडेलले भौतिक पूर्वाधार क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गर्दे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फिल्डमा काम भएको मन्त्रालय भएको र यहि अनुसार काम पनि गरेको भन्दै बधाई दिनु भएको थियो ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले मातहतका निकाई थप इफोट लगाउन निर्देशन दिनु भयो । सोही अवसरमा उहाँले आयोजना प्रमुखहरुलाई कार्यस्थलमा समय दिन समेत निर्देशन दिनुभयो ।