विकासको सपना

कविता

सरकार तामझामकासाथ टुडिखेलमा
उत्सव मनाईरहेछ गणतन्त्रको

र फलाकी रहेछ भाषण
कि देशमा अब कसैले पनि भोकै
मर्नु पर्ने छैन
ठीक यसैबेला उसैको पिठ्युँ पछाडि
रत्नपार्कमै नाङ्गो पिचमाथि
भोको पेट पलेटी कसेर बसेको छ
एक छाक खान दिने मनकारी दाताको आशमा

कस्तो बिडम्बना समृध्दि खोज्ने यो मुलुक
वर्षभरि बनाइने पुलको तथ्याङ्क पेश गर्छ
तर,
तुईनमा मान्छेको पोको तुर्लुङ्ग झुण्डिएको देख्दैन्
स्वार्थी नगरपिताहरु भ्यू टावरका योजना बुन्छन्
आलिसान पाहुनाघर बनाउँछन्
तर,
झुपडीको भान्सामा नबलेको आगो
भरियाको पेटमा दन्किएको भोक
भब्य महलको रेसमी पर्दा
वा ऐयासी सहरको भोग बिलास
खोई के हेर्ने हो त्यो टावरले
प्राथमिकता के हो नगरको

अनुमान लगाउन सक्ला त
सुदुर गाँउका घरहरु यसपालीको
पहिरोबाट जोगिन्छन् ?
वा पोहोर जस्तै
बेपत्ताहरुको संख्यामा यस्पाली पनि बृध्दि होला ?

मान्छेहरु देशको सीमा
खोजी रहेछन्
दिन दिनै मिचिदै गएको आँगन
नियाली रहेछन्
निरिह सरकार आफ्नै पाइतालामुनिको
बालुवाटार हराई रहेछ |
कोरोनाको राक्षसी गाँसबाट
आफूलाई कसरी जोगाउँलान जनताले
सरकार त खर्च भएको पीसीआर किड्सको
संख्या गन्नमै ब्यस्त छ
पीसीआर जोगाउनमै मस्त छ
र भन्दैछ जनतालाई आफ्नो ख्याल आफैं राख |

जनता दिन दिनै बढ्दै गएको संक्रमणको डढेलो
आफ्नो बस्तीमा नसल्कियोस भनि त्रसितछन्
अनि दैनिक आफ्ना पृयजनहरुको
मृत्युको हिसाब गन्न विवशछन्
तर,
सरकार सजग छ
नेताहरु चौकन्नछन्
खाली ठाँउको भागबण्डा मिलाउन
हनुमान प्रसाद भक्तलाई
उचित ठाँउमा नियुक्त गर्न
यद्यपी सरकार यो कुरामा दृढ छ कि यसमा
एकमुष्ठ एकाधिकार उसकै हो
किनकि
ऊ एक तिहाईमा छ
र त विकासको सपना देख्छ !
जनता त सपनाको विकास मात्र देख्छन् |

Facebook Comments