रुकुमकोटमा खानेपानीको समस्या

रुकुुमपूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानीको समस्या देखिएको छ । खडेरी सुरु भएसँगै सिस्ने–५ मा खानेपानीको चरम समस्या देखिएको हो । सदरमुकामसमेत रहेको गाउँ यहाँको बढ्दो जनसङ्ख्या र पानीको अन्य स्रोत नहुँदा खानेपानीको समस्या बढ्दै जान थालेको हो ।

हरेक वर्षको यसै समयमा सिस्ने–५ को टाकुरा र बाहुनठानामा खानेपानीको समस्या देखिने गरेको छ । अहिले पनि दुई साता बढी समयदेखि टाकुरा र बाहुनठानामा खानेपानीको समस्या भइरहेको नागरिकले बताएका छन् ।

कहिले धारामा पानी नझर्ने र कहिले एक–आधा घण्टामात्र धारामा पानी झर्दा पिउन तथा पानीसँग जोडिएका दैनिक कामकाज गर्न समस्या भइरहेको सिस्ने गाउँपालिका–५ टाकुराका विकास बिसीले गुनासो गर्नुभयो । धारामा पानी नझर्दा गाग्रीमा पिउने पानीसमेत नहुने बिसीले बताउनुभयो ।

यस्तै काजिन्द्रामा बिएलबी होटल सञ्चालन गर्दै आउनुभएका विनोद केसीले पनि धारामा पानी नझर्दा समस्या हुने गरेको बताउनुभयो । एक सातायता धारामा पानी अनियमित हुँदा हाहाकार मच्चिएको केसीले बताउनुभयो ।

पानी नभएकै कारण होटलमा आउने मान्छेलाई रोक्नुपर्ने अवस्था आइसकेको केसीले बताउनुभयो । अहिले सिस्ने–५ मा तीनवटा मुहानबाट पानी आइरहेको छ । मुहानमा पानी सुकेकै कारण धारामा पानी अनियमित हुने गरेको रुकुमकोट खानेपानीका प्राविधिक सुन्दर शाहले बताउनुभयो । उहाँका अनुसार अहिले सिस्ने–५ मा रासु छहरा, तुरतुरे धारा र ठाराखोलाको मुहानबाट पानी आइरहेको छ ।

मुहानमा पानी सुकेको तथा प्राविधिकले पनि फिल्टर सफा नगरेको र पालो नमिलाएका कारण यो समस्या आएको उहाँले बताउनुभयो । अब भने समस्या समाधानका लागि पालो मिलाएर पानी वितरण गरिने भएको छ ।

प्राविधिक शाहका अनुसार टाकुराको थापाटोलमा बिहान ६ देखि ८ बजेसम्म, चोकबजार टोलमा ८ देखि १० बजेसम्म र बाहुनठाना टोलमा ८ देखि ९ बजेसम्म पानी छाडिने छ । साँझ भने यी सबै ठाउँमा ३ देखि ६ बजेसम्म पानी छाडिने शाहले बताउनुभएको छ ।

सिस्ने–५ का वडाध्यक्ष शान्तेबहादुर विकले भने खानेपानीमा देखिएको यो समस्यालाई तत्काल समाधान गर्न अर्को वैकल्पिक मुहानबाट पानी ल्याउन लागेको बताउनुभएको छ । केही दिनमै खानेपानीमा देखिएको समस्या समाधान हुने वडाध्यक्ष विकले बताउनुभयो ।

समस्याको दीर्घकालीन समाधान भने थाक्नाखोलाको खानेपानी आयोजना निर्माण भयो भने हुने उहाँको भनाइ छ । थाक्नाखोला खानेपानी आयोजना करिब रु पाँच करोडको लागतमा निर्माण हुन लागेको छ ।

Facebook Comments