काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघिबढाउने गरी काम गर्न समाज कल्याण परिषदका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
मन्त्री गुरुङले समाज सेवा, मानव सेवा जस्तो उत्कृष्ट कामलाई बदनाम गराउने गतिविधि देखिने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन परिषद्का कर्मचारीहरुलाई सचेत समेत गराउनु भयो । बिहीबार परिषद्को ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित वरिष्ठ कामु निर्देशक शिवकुमार बस्नेतको विदाई समारोहमा बोल्दै उहाँले सामाजिक क्षेत्रको कामलाई राष्ट्रियगौरवको आयोजना बनाउन परिषद्ले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने सोचलाई अघि बढाएको स्पष्ट पार्नु भयो ।
सामाजिक संघ, संस्थाहरुलाई आत्मनिर्भर बनाउँदै अघिबढाउन सो कोषले आधार तय गर्ने परिषदकाअध्यक्ष समेत रहनु भएकामन्त्री गुरुङको भनाई थियो । उहाँले परिषदलाई आफ्नो लक्ष्य हासिल हुने गरी कामगर्न सक्ने बनाउन आवश्यक सुझाव दिन पनि परिषदका कर्मचारीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा मन्त्री गुरुङले योग्यता र क्षमताको आधारमा कर्मचारीहरुलाई जिम्मेवारी दिने मापदण्ड तय गरिएको उल्लेख गर्दै सोही अनुसार अघिबढन पनि परिषदका पदाधिकारीहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले परिषदको कामलाई गतिशील बनाउन कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि आवश्यक सबै खालको तालिम, प्रशिक्षण लगायतका व्यवस्थागर्ने बताउनु भयो ।
कार्यक्रममा परिषदका उपाध्यक्षडा. पदम प्रसाद खतिवडाले सामाजिक उद्यमीलताको माध्यमबाट सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउने गरी आवश्यक निर्देशिका, कार्यविधि संशोधन, परिमार्जन गर्ने कामलाई अघि बढाइएको मन्त्री गुरुङलाई जानकारी गराउनु भयो । सदस्य सचिव पुस्कर खातीले सुशासन र परिणाममुखि कामको माध्यामबाट परिषदको कामलाई अघिबढाउने योजना तय गरिएको बताउनु भयो । कार्यक्रममा मन्त्री गुरुङले परिषदको वेबसाईटको पनि शुभारम्भ गर्नु भएको थियो ।
Facebook Comments