राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीकाे उपाधी प्रदान

काठमाडाैं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, PVSM, AVSM, SM, VSM, ADC लाई कार्तिक २० गते राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

उक्त समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । नेपालभारतबीचको अनुपम साँस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरुप दशकौंदेखि नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ ।

उक्त समारोहमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतको उपस्थिति रहेको थियो ।

साँझ प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले उहाँको सम्मानमा जङ्गी अड्डामा रात्रीभोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।

 

Facebook Comments