युवाको आज खाँचो छ

लु आओ दूर छौ जो जो यहाँ यो देश रित्तो छ
भिखारी बन्न लाग्दैछौँ सबैझैँ आज लाग्दैछ
युवा भागे कता हाम्रा यहाँको चाल अर्कै छ
सधैँ खट्ने सधैँ लड्ने युवाको आज खाँचो छ ।।१।।

सबै बाँझा भए बारी यहाँ कै खन्न सक्दैनन्
यहाँको ऊर्वरा धर्ती अरूका नेत्र जल्दैछन्
बचाऔँ यो धरा हाम्रो युवा आओ न भन्दैछ
सधैँ खट्ने सधैँ लड्ने युवाको आज खाँचो छ ।।२।।

छिटै फर्केर लौ आओ जहाँ जे काम गर्दैछौ
यहाँ खट्ने र डट्नेको चिनारी भिन्न देख्दैछौँ
लगाऔँ वीज धेरै छन् धरा पर्खाइ गर्दैछ
सधैँ खट्ने सधैँ लड्ने युवाको आज खाँचो छ ।।३।।

कला सिक्दा यहीँ मिल्ला अनेकौँ रत्न वा मोती
बनाऔँ देश हो हाम्रो सिँगारौँअन्नमा ज्योति
गरे के हुन्न हो हाम्रो धरा लौ स्वर्ग बन्दैछ
सधैँ खट्ने सधैँ लड्ने युवाको आज खाँचो छ ।।४।।

यतै रोपौँ मुला फर्सी जुनेलो खोरिया फाँडी
सिकाऊँ काम जो गर्ने सदिच्छा राख्दछन् भारी
अरूको कार्य गर्नाले सबैको भूमि बाँझो छ
सधैँ खट्ने सधैँ लड्ने युवाको आज खाँचो छ ।।५।।

यतै खोला र खोल्सीमा लु गाऊँ लोकभाकामा
असारे गीतको पालो सुसाऔंँ नित्य बाटामा
सुसेलौँ गीतका भाका सजाऔँ ओज बढ्ने छ
सधैँ खट्ने सधैँ लड्ने युवाको आज खाँचो छ ।।६।।
झापा चारआली

Facebook Comments