म्याग्देको प्रशासनिक भवन निर्माण शुरु

तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको छ । हालसम्म भाडामा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण हुन लागेको हो ।

उक्त भवनको आज पूर्वसभामुख तारानाथ रानाभाटले शिलान्यास गर्दै पूर्वसभामुख रानाभाटले स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समयपछि गाउँपालिकाले भवन निर्माण शुरु गरेकामा धन्यवाद दिँदै निर्धारित समयमै गुणस्तरीय भवन निर्माणतर्फ ध्यान दिन आग्रह गर्नुभयो । दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको भवन रु दश करोड ३५ लाख ६९ हजार ८८४ को लागतमा निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा रु छ करोड ८५ लाख ५० हजार २५ र आगामी आवमा रु तीन करोड ५० लाख १९ हजार ८५८ को काम हुनेछ ।

दुई भवन निर्माणका लागि स्वीकृत लागत रकममध्ये यो वर्ष गाउँसभाको निर्णयबमोजिम रु तीन करोड, जिल्ला समन्वय समिति कोषमार्फत प्राप्त हुने रकम, आन्तरिक स्रोत र आगामी आवमा सङ्घीय र प्रदेश सरकारमार्फत प्राप्त हुनेछ । चालु आवमा प्रोटेक्सन वक्र्स, जमिन मिलाउने, कालोपत्रेबाहेक बाटो तयार गर्ने, नाली निर्माण तथा बायोइन्जिनियरिङका काम हुनेछन् । आगामी वर्ष तेस्रो तल्ला भवन निर्माण, बाटो कालोपत्रे र गेट तथा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।

विसं २०७६ फागुन २७ गतेको गाउँसभाको निर्णय बमोजिम गाउँपालिकाको केन्द्रसहित भवन निर्माण गर्ने गरी म्याग्दे गाउँपालिका–४ नारिङ्गेलाई निर्धारण गरिएको छ । भवन निर्माणका लागि लालपूर्जाभित्रको कित्ता नं ५२ क्षेत्रफल एक रोपनी एक आना तीन पैसा तीन दाम जग्गा निःशुल्क प्राप्त भएको छ भने ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजनिक रहेको छ । कटेरो इञ्जिनीयरिङले गरेको माटो परीक्षणअनुसार उक्त ठाउँमा चार तलासम्म भवन निर्माण हुनसक्ने देखिएको थियो ।

Facebook Comments