मेलम्ची : ठेक्काकाे म्याद समाप्त तर पानी आएन

मन्त्री विनालाई मेलम्ची नआउदा बढी फाइदा

गत असारको घटना भएको ४ महिना पूरा भएर ५ महिना लागेको छ । मेलम्चीबाट काठमाडौंसम्म पानी ल्याउने काम ठप्प भएको । एक दिनको हतारो र खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी काठमाडौं ल्याउने श्रेय लिन खोज्दा पानी आउने कुरा थप अन्योल र विवादित बनेको छ । मन्त्री मगरको जवरजस्तीका कारण पानी छोड्दा भएको घटना र क्षति एवं मेलम्ची–२ (आयोजना कार्यान्वयन निर्देशनालय) मा गत असोजमा भएको दिउसै रात पार्ने कमिसनको खेलबारे समाचार बाहिरिए पछि प्रधानमन्त्री ओलीले असोज २१ गते मन्त्री मगरलाई वालुवाटारमा डाकेर हपार्नु भएको थियो ।
त्यस काण्डपछि प्रमको निर्देशनमा ४ जना सल्लाहकार, मन्त्रालयका सचिव र आयोजनाका कार्यकारी निर्देशकले मेलम्चीको स्थलगत भ्रमण गरी मेलम्चीमा राम्रोसँग काम भइरहेको सन्देश दिन खोजिएको थियो । जति राम्रो सन्देश दिन खोजिएपनि मेलम्चीको भित्रि कथा पीडादायी नै छ ।
असारको घटना पछि मन्त्रालयका सहसचिवको छानविन समितिले प्रतिवेदन सार्वजनिक नगर्दै अख्तियारले गुटुमुटु पारेर लगेको छ । त्यसपछि ठेकेदार र कन्सल्टेन्टहरु भागाभाग भए भने कतिले जागिर छोडेर गए । इटलीको सिएमसीले भागेर जाँदा तिर्न बाँकी (भेण्डर) को समस्या समाधान भएको छैन । सुरु नक्सा अनुसारको ठिक उल्टो गेट हालेर असारको भेल छोड्दा भएको घटना र क्षतिलाई एकातिर पन्छाएर काम देखाउनकै लागि अहिले निकै दौडधुप गरिएको छ । यो दौडधुपले कुनै सकारात्मक नतिजा निकाल्न सक्दैन भन्ने दावी गर्नेहरु प्रसस्त छन् । निजहरुको तर्क छ कि मुख्य समस्या समाधान नगरी टालटुल प्रकृतिले काम बढाउनु भनेको गल्ती स्वीकार नगरी ढाकछोप गर्नु हो । त्यसले राम्रो परिणाम दिदैन ।
असारको संहार पछि आयोजना, ठेकेदार र कन्सल्टेन्टले एक अर्कालाई दोष देखाए । भत्किएको ढोका फेर्ने कुरामा खर्चको कुरा छ । पैसा कस्ले व्यहोर्ने ? आयोजनाले भारतीय ठेकेदार कम्पनी प्रिसिजन इन्फ्रोर्सलाई खर्च व्यहोर्न भन्यो, उसले सक्दिन भन्यो । आयोजनाले प्रेसर दिदा ठेक्का तोड्ने (अर्बिटेशनमा जान्छु) भन्यो फेरि आयोजनाले सहमतिमा गर्न अनुरोध गर्यो । तर ठेकेदारले हाइलेवलसँग कुरा गर्न भन्यो ।
अन्तत: खर्च आयोजनाले व्यहोर्ने भनेपछि ठेकेदार काम गर्न सहमत बनेको हो । उल्टो रुपमा जडान गरेको ढोका भत्किएको ठाउँमा सुल्टो ढोका हाल्न सहमत भएपछि लागत अनुमान करिब ६ करोड निस्कियो । पूर्व ठेक्का सहमति भन्दा थप ६ करोड रकम आयोजनाले व्यहोर्ने भएपछि काम अगाडि बढेको छ । यसरी कुवेलामा पानी पठाउने गर्नाले जनधनको क्षति भएको र अझ काम १ वर्ष पछि धकेलियो । ४ महिना अनिर्णयको बन्दी बनेको अब सुरु भएको छ । अर्को असारसम्ममा बिग्रिएको काम सप्रिने स्थिति छ । यसको जिम्मेवारी खानेपानी मन्त्री मगरले लिनुपर्ने हुन्छ । तर, त्यो नैतिकता उहाँमा देखिएन भनी जानकार स्रोतले जनाएको छ ।
यस सन्दर्भमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्री बिग्रिएको गेट निकालेर अर्को राख्नु पर्ने हुन्छ, भित्रबाट चुकुल खोल्ने गरी सुरु डिजाइन अनुसार काम गर्ने गरी ठेकेदार सहमत भइ काम अगाडि बढेको बताउनु हुन्छ । ६०/७० लाखको क्षति भएको थियो । जुन ठेकेदार र कन्सल्टेन्टले व्यहोर्ने र ढोका पूर्ण रुपमा क्षति नभएको हुँदा फ्रेम मात्र फेरेर त्यही ढोका पून जोड्ने काम हुने समेत उहाँले बताउने भयो । गेट मसान्तको काम सकिन २ महिना लाग्छ, थप २ महिना परीक्षणको लागि समय लाग्छ, त्यसरी हेर्दा अबको ड्राइसिजनमा मेलम्चीको पानी काठमाडौं ल्याउने कुरा खत्री बताउनु हुन्छ ।
अहिलेकाे  कन्सल्टेन्स  स्पेनीस कम्पनी इप्टीसालाई मात्र देखाएर भएन भनेर अब २ हप्ता पछि जर्मनीको फिस्नर कम्पनीलाई ल्याएर देखाएर हेर्न लगाउने भनी एडिबीलाई पनि चासो राखेको छ, खत्रीले बताउनु भयो । टनेलको ठेक्काकाे म्याद अक्टुबरमा सकिएकाे छ । हेडबक्सको ठेक्काको म्याद जनवरीमा सकिदैछ भने हेडबक्सको ठेक्काको म्याद थप हुने बताउनु हुन्छ ।
वास्तवमा मेलम्चीको पानी काठमाडौं आउने कुरा अझ अनिश्चित छ भन्दा नेगेटिभ कुरा हुन जान्छ तर वास्तविकता यही हो । भत्किएको गेट पुन बनाउने खर्च ठेकेदार र कन्सल्टेन्ट प्रिसिजन र इप्पीसाले नव्यहोर्ने अडान लिइरहेको बरु काम छोडेर जान तयार भएको अवस्थामा पुगेको तर आयोजनाले तिनले पाउने रकमबाट काटेर गेट पुन बनाउन लगाउने बताएको छ । यसरी केही कामको ठेक्काको म्याद सकिएको छ, भत्किएको गेटको पैसाको विवाद, घटनामा दोषीलाई बचाउन खोजिएको, अख्तियारको छानविनको घेरामा परेको, पुराना भेण्डरको समस्या समाधान नगरेको लगायतका थुप्रै कारणले मेलम्चीको भविष्य अझै अनिश्चित छ । खानेपानी मन्त्रीलाई मेलम्चीको काम सकाउनुकाे सट्टा लम्ब्याउनुले बढी फाइदा पुग्ने हुँदा पनि मेलम्चीको पानी अझै सपना नै छ ।

Facebook Comments