काठमाडौं । कैलाली, वन मुद्दाका फरार प्रतिवादी धनगढी घोडाघोडी नगरपालीका-११ बस्ने ३६ वर्षीय रमन कठरियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको २०७४ पुस २ गतेको फैसलाले वन मुद्दामा ९३ हजार ३ सय ३३ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले आफ्नै घरठेगानामा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी कैलाली, सरकारी छाप किर्ते दस्तखत मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालीका-१९ बस्ने २५ वर्षीय नबराज चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कैलालीको २०७३ जेठ २५ गतेको फैसलाले सरकारी छाप किर्ते दस्तखत मुद्दामा ११ महिना ३ दिन कैद र ५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । २०७२ असोज २२ गते धनगढी उपमहानगरपालीका-८ क्याम्पस चोकस्थित से.३ प. ९३२० नम्बरको मोटरसाईकल जाँच गर्ने क्रममा यातायात व्यवस्था कार्यालय सेतीबाट जारी गरेको सवारी चालक अनुमती पत्र किर्ते गरी चलाई रहेको अवस्थामा पक्राउ परेका उनी जिल्ला अदालत कैलालीबाट धरौटी तारेखमा छुटेको उक्त कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलाली पेश गरिएको उक्त कार्यालयले जनाएकाे छ ।