मुख्यमन्त्री शाहीद्वारा दुःख व्यक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चार जनाका ज्यान लिने र सात जना घाइते हुनेगरी भएको हुम्ला जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति लु २ च २१०२ नम्बरको बलेरो जीप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएको दुःखद् खबरले प्रदेश सरकारलाई मर्माहित बनाएको बताउनुभयो । उहाँले एक शोक विज्ञप्तिमार्फत दुर्घटनामा जीवन गुमाउने चारै जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना र घाइते सातै जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले मृतक परिवारलाई राहत तथा घाइतेको उपचारका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउँदै दुर्घटनाबारे तत्काल खबर गर्ने स्थानीयवासी तथा मिडिया जगत, उद्धारमा खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सम्पूर्णप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुभयो ।

Facebook Comments