मान गर्नु पर्नेलाई माननीय भनिन्छ । भन्नु पर्ने पनि यही हो । जसको आदर, सत्कार र मान बेग्लै हुन्छ । अझ बाटोमा हिड्दा एक दुई जना अगाडि पछाडि लाएर हिडेको देख्छौ । हामीले अलि परबाट बुझ्ने माननीय भनेका यस्तै व्यक्तिहरु हुन ।
अचेल माननीयहरुको धाक र रवाफ त बढेको देखिन्छ । तर, माननीयको उपाधी भने बिस्तारै तिरस्कार हुँदै गइरहेको छ । यो क्रमले अग्लो यात्रालाई छोडेर गहिराइ खोजीरहेको छ भन्दा फरक नपर्ने अवस्था आइसकेको छ ।
पहिलेका माननीयहरु जनताको कुरा सुन्थें । उनीहरुको आवश्यकताको आधारमा योजना र कार्यक्रम बनाउथे । यसो गर्दा जनताले उनीहरुलाई विश्वास गर्थे । अर्को पक्षबाट हेर्ने हो भने ती केन्द्रबाट जाने र गएका योजनाहरु जनताका हुन्थे । त्यहाँ जनश्रमदान जुट्थ्यो र समयमा काम सकिन्थ्यो पनि । आजको समयमा योजना नेताको फाइदाका लागि हुन्छ । यसैले श्रमदान जुटाउन गाह्रो पर्छ ।
अहिलेका माननीयहरु पनि जनताकै काम गर्छन । तर पहिला आफ्नो फाइदा हेर्छन । पहिले र अहिलेका माननीयमा फरक यही हो । अहिलेका माननीयलाई बजारमा माननीय, ताननीय, हाननीय, टिकनीय, बिकनीय आदि नामले पनि पुकारेको पाइन्छ । यसको अर्थ बारेमा बिस्तारमा चर्चा गरौं ।
माननीयको चर्चा माथि गरियो । अब ताननीयको बारेमा चर्चा गरौ । चुनाबमा जनमत पाउन नसक्ने तर पनि संसद बन्नका लागि बखेडा झिक्ने र जसरी पनि माननीय बन्नेलाई ताननीय भनिएको छ । अर्को तर्फ सरकारमा बहुमत पुर्याउनका लागि भेडा बाख्राको मूल्यमा बिक्री हुने पनि ताननीय नै हुन । यिनीहरुलाई स्वार्थपूर्तिका लागि प्रयोग गरिन्छ । यिनीहरुको बुद्धि त हुन्छ तर ज्ञान हुँदैन ।
भन्नु होला बुद्धि र ज्ञानमा के फरक छ त ? तपाईंहलाई कस्तो लाग्छ । मलाईचाहिँ धेरै फरक लाग्छ । बुद्धि त गाइवस्तुमा पनि हुन्छ । हेर्नुस् त उसको बच्चालाई छुने प्रयास मात्र गर्नुहोस् दाम्लो चुडालेर तपाईंलाई हान्न खोज्छ । यो यसको बुद्धि हो । तर, खानेकुरा उसलाई र उसको बाच्छालाई एकै ठाउँमा दिनुहोस् आफु खान्छ बच्चाले खावस भनेर छोडिदिदैन । यसमा उसको ज्ञान छैन । हो यही फरक छ । ताननीयमा उनीहरुको बुद्धि र ज्ञानमा ।
अर्को भयो हाननीय । यिनीहरु झगडा गर्न । तोडफोड गर्न र कसैको अपहरण गर्ने काममा सक्रिय हुने भएकाले हाननीय भए । हाननीयको अर्को काम प्रतिपक्षको बिरोध गर्ने र रेलिङ भाच्ने, नाक कोपार्ने आदि कामका लागि सहयोगी हुन्छन् । यिनीहरु उदण्ड हुन्छन् तर कुनै कानुन लाग्दैन । कारण यिनीहरुलाई राज्यले नै सुविधा दिएको हुन्छ । किनभने यिनीहरु सरकारका सहयोगी हुन ।
कुनै माननीयलाई टिकनीय भनिन्छ । जसको गुलामी गर्दा आफु टिकिरहिन्छ त्यस्तालाई टिकनीय भनिन्छ । यिनीहरु कसको पक्षमा लाग्दा आफुलाई फाइदा हुन्छ । आफ्नो प्रभुत्व जोगाउन सकिन्छ, त्यही कामलाई विशेष प्राथमितामा राखेर काम गर्दछन् । यिनीहरुको पार्टी त हुन्छ तर चेसको उँट जस्तो छड्के मात्र चल्ने यिनको बानी हुन्छ । तर यिनीहरु यति यति चातुर हुन्छन् कि गिद्धले झैं सिनोको गन्ध पहिले नै थाहा पाउँछन् । त्यो अवसरलाई यिनीहरु कहिल्यै छोड्दैनन् । यिनीहरुको आम्दानीको कुनै हिसाब हुँदैन । तर खर्चको फेहरिस्ता भने लामै राखेका हुन्छन् । यिनीहरु टिकनीय हुन ।
अब कुरा गरौं बिकनीयहरुको । यिनीहरुको चुनाव जित्ने बेलामा एउटा पार्टी हुन्छ । चुनाव पछि यिनीहरुको पार्टी अर्कै हुन्छ । यिनीहरु ढुलमुले चरित्रका र अवसरलाई लिनुपर्छ भन्ने सोचका हुन्छन् । अवसरबाट पैसा कमाईयो भने रवाफ बढ्छ र चुनाव जित्न सजिलो हुन्छ भन्ने सोच हुन्छ । यिनीहरुले सिद्धान्त फेरिरहन्छ । पल्लाभारी बनाउनमा यिनले मोटो रकम बोकेर खोला तार्नमा सहयोग गर्छन । पार्टीमा खासै भूमिका नभएको हुनाले यसैमा छक्का पञ्जामा चित्त बुझाउनु यिनको धर्म हो । तर यिनीहरुका चम्चाहरु कडा हुन्छन् । जहाँ बस्छन् त्यो भाँडो सक्काएर मात्र बाटो लाग्छन् । त्यसो त यिनको राजनीतिक जात र थाकथलो पनि हुँदैन । तसर्थ यिनीहरुलाई बिकनीय भनिएको हो ।
यस्ता नीय लागेकाहरुलाई बोकेर हिड्न सधैं रुचाउने हामी खाननीय र जाननीय हाैं ।
Facebook Comments