काठमाडौं । नेपालका ठूला दुईवटा मानवअधिकारवादी संस्था आज एक भएका छन् । पूर्व नेपाल कम्युनिष्ट पार्टी एमाले निकट रहेको संस्था मानव अधिकार एलाइन्स र नेकपा माओवादी निकट रहेको काउ राष्ट्र नेपाल आजबाट विधिवत रुपमा एक भएका हुन ।
दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भएको केही वर्ष पछि पार्टीका भातृसंगठन र अन्य संस्थाहरुको एकीकरण गर्ने योजना अन्तर्गत यी संस्थाको एकीकरण गरिएको हो । एकीकरण भएको संस्थाको नाम ‘मानव अधिकार तथा सामाजिक अभियान नेपाल’ राखिएको छ । सो कार्यक्रमको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनताको आधारभूत तथा मौलिकलगायतका अन्य अधिकारको सुनिश्चितता गर्ने काम मानव अधिकारवादी संस्थाले गर्नु पर्ने बताउनु भएको छ ।
मानव अधिकारले शान्तिपूर्ण वातावरणको निर्माण गर्ने भएको हुनाले हामीले त्यो कुरामा ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले संविधानमा पनि यी कुराहरुलाई सुनिश्चित गरेको बताउनु भयो । नेपालको संविधान धेरै संसद मिलेर बनाएको हुनाले यो उल्लेख रहेको बताउँदै उहाँले यसले मानव अधिकारको सुरक्षा गरेको बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै अर्का अध्यक्ष प्रचण्डले सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरवको क्षेत्रको रुपमा विकास गर्नु पर्ने बताउनु भएको छ । यसबाट मात्र समानता र समृद्धि प्राप्त हुने उहाँले बताउनु भएको हो ।
कार्यक्रममा ७७ जनाको केन्द्रीय कमिटी चयन गरिएको छ । भर्चुअल बैठकमा देश भरिका एक हजार मानव अधिकारकर्मीको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ ।
Facebook Comments