खार्पाली बलराम दिव्य मनका हुन् भावनाका धनी
स्रष्टा हुन् गुरु मान्य पुज्य पनि हुन् आदर्श सञ्जीवनी
चेला नै बलरामका सकल ती मेरा भएका गुरु
साच्चै हुन् सबका महागुरु उनी त्यस्ता कहाँ छन् अरू ? ।।१।।
पत्नी हुन् बिमला प्रगाढ मनकी नेपाल पुत्री भला
अर्धाङ्गी बलरामकी मृदुलता आवासकी चञ्चला
जन्मे चौबिस चैत्र मास महिना चम्काउँदै आँगनी
बुझ्दा साल दुई थियो समयको भन्छन् सबैले पनि ।।२।।
बाबा हार्दिक बुद्धिकृष्ण उनका ती वेदमाया मुमा
खेल्दै ती सुखमा तथा सयलमा हुर्के त्यही गाउँमा
गर्दै शिक्षण ज्ञान ज्योति सबमा बाँड्ने सुधा साधक
खार्पाली बलराम तत् समयका विद्वान् भला नायक ।। ३।।
राम्रा ती गुरु ज्ञानका प्रअ भई विद्या दिए सर्वदा
शिक्षाको नव ज्योतिको किरणले ज्योत्स्ना फिँजाए सदा
धेरै छन् अनमोल रत्न रचना सत्ज्ञानमा पावन
पाए मान तथा विभूषण अहो ! राम्रो हुँदा चिन्तन ।। ४।।
स्रष्टाका नव खोज चिन्तन कडा गर्ने सदा ध्यानले
राम्रो देन अमूल्य रत्न गहना छोडे सदा ज्ञानले
गर्दै शिक्षण ज्योति बाल्न मनले रोजेर बाटो गए
खार्पा उर्वर दिव्य पावन धरा–का पुत्र नामी भए ।।५।।
छाती उच्च दयालु दिव्य मनका छन् प्रेरणाका धनी
हेर्दा बृद्ध तथापि सक्रिय सधैँ छन् युवा जस्तै उनी
छोरो सुन्दर बाबुराम सँगमा लक्ष्मी बुहारी सती
कान्छो उत्तम भेषराम घरका हुन् मन्दिरा सारथि ।। ६।।
छोरी ती मृदु शर्मिला हृदयकी सत्प्रेम वर्षाउने
मीठो स्वर भरेर दिव्य कविता हुन् शर्मिला गाउने
बस्छिन् हर्दम क्यानडा पतिसँगै नौला गरी सिर्जना
राम्रो सर्जक हुन् कला कलमले गर्छिन् सधैँ साधना ।।७।।
लेखेँ ती बलरामका विषयमा थोरैँ बुझेँ जे जति ।
धेरै छन् उनका अमूल्य महिमा खोजेर भेटौँ कति ?