काठमाडौं । खानेपानी मन्त्रालयमा ८ जना सिनियर सहसचिव (प्राविधिक) हुँदाहुदै मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाका प्रमुख कमल श्रेष्ठलाई खाली भएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) मा पिडी बनाउने तयारी गर्नु भएको छ । त्यस स्थानमा पहिला ईन्जिनियर भोजबिक्रम थापा हुनुहुन्थ्यो । यहाँ अनिवार्य अवकासमा गएपछि यो स्थान गत २१ गतेबाट खाली भएको हो ।
मन्त्री मगरले आफू अनुकूलको कर्मचारी मोटो रकम खर्च हुने कार्यालयमा राख्नु सामान्य कुरा हो । मेलम्ची खानेपानी आयोजनाको बेहोसीपनका कारण असारमा अस्थाई बाँध भत्कन गइ भएको क्षतिको जिम्मेवारी लिनुपर्ने व्यक्तिलाई पिडी बनाएर पुरस्कृत गर्नुको पछाडि एउटै कारण देखिन आउँछ । पहिलाका पिडी थापाले पनि रातारात १३ अर्बको ठेक्का स्वीकृत र ५ प्रतिशतबाट निस्केको ६५ करोड मध्येबाट प्राप्त भाग सुरक्षित गर्न त्यहाँ विश्वासिलो व्यक्ति त्यहाँ लान मन्त्री मगरको अनिवार्य बाध्यता हो । तर, कमल स्वयमले हतार नभएको बताउँदै गर्दा मन्त्रीकै जोडले त्यहाँ लान खोजिएको हो ताकि आफ्नो इशारामा काम गराउन सकियोस् भनी शुत्रले दाबी गरेको छ ।
शुक्रबार मन्त्रालयमा पिडी कस्लाई बनाउने भन्ने बारे छलफल भएको थियो । मन्त्रालयका उच्च कर्मचारीले यो विषय प्रधानमन्त्रीसम्म पुगिसक्यो र संचार माध्यममा पनि आइसक्यो मन्त्रीज्यू जुनियर सहसचिव लैजादा बदनाम हुने डर हुन्छ भन्दा मन्त्रीले छोड्नुस त्यस्ता समाचारले केही गर्दैन । मलाई कसैको मतलब छैन, कमललाई पठाउनु भनी आदेश नै दिइसकेको अवस्था हो । यसरी मन्त्रीले मन्त्रालयको ऐन, नियम नैतिकता र प्रकृया मिचेर चलाउने गरेको कुरामा कुनै दुई मत रहेन ।
अस्थाइ सुरुङको बाँध भत्किएको र छानविनमा के कसो हो भन्ने कुरा लुकाएको तथा पिआइडीको ६५ करोडको हतारो प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री विना, सचिव र मेलम्चीका कार्यकारी निर्देशकलाई बोलाएर सोधेपनि त्यसको औचित्य कमिसन वापत प्राप्त हुने दामको सुरक्षा बाहेक अर्को देखिदैन । यो कोभिडको महामारीमा कहाँबाट निर्माण सामग्री ल्याउने र काम सुरु गर्ने भन्ने कुनै ठेगान नभएको बेला १३ अर्बको ठेक्काको औचित्य पुष्टि हुन सकेको देखिदैन ।अन्य भइरहेका आयोजनाका काम त ठप्प भएको बेला यो नाटक आफैमा हाँस्यास्पद छ । प्रधानमन्त्री ओलीले चाहेर पनि खानेपानी मन्त्रालयको वेथिती रोक्न सक्नु हुन्न । किनभने मन्त्रीको व्याकअक खुमलटार छ । सिंहदरवार वरपर यस्तै चर्चा चल्छ ।
पिडी नियुक्तीकाे कुरा के हो भनी जलस्रोतले दुई जनासँग कुरा गरेको छ । खानेपानी मन्त्रालयका प्रवक्ता रितेश श्रेष्ठ ‘पिआइडीकोे पिडी कस्लाई बनाउने भन्ने निर्णय भएको छैन । छलफलसम्म भएको हो । कमल श्रेष्ठ लगायत ३/४ जना सहसचिवको बारेमा छलफल भएको छ । यो मन्त्री र सचिवले निर्णय गर्ने विषय हो । निर्णय नभएसम्म यो वा त्यो भन्न मिलेन’ भन्नु हुन्छ ।
कमल श्रेष्ठलाई तपाईं पिडी बन्दै हुनुहुन्छ भन्ने प्रश्न गर्दा उहाँ भन्नु हुन्छ, ‘त्यहाँ खाली भयो म पनि दावेदार हुँ । एक दुई जनालाई भन्न गएको छु । म असारमा बढुवा भएर फस्ट क्लास भएको हुँदा प्रयास गरेको छु । हिजोसम्म्म निर्णय भएको छैन । निर्णय भएको भए प्रशासन तिरबाट खबर हुन्थ्यो । खबर आएको छैन । मसँगै सूर्यराज कडेँल, प्रदीप मुडभरी र अनिल भद्र खनाल पनि दावेदार हुनुहुन्छ । म जुनियर फस्ट क्लास हुँ । पाइन भने पनि केही छैन । पछि पालो आइहाल्छ । उमेर छ जागिरको समय छ त्यसैले हतारो छैन ।’