भौगर्भिक, भौगोलिक, जैविक, जल तथा मौसम र वातावरणीय अवस्थाका कारणले विपद्का घटनाहरू हुने गरेका छन् । नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभाग वर्षायाममा बाढी पहिरो, अतिवृष्टि या अनावृष्टि, असिना, खडेरी, हावाहुरी, हिउँदमा शीतलहर एवं हिमपात र जुनसुकै समयमा भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ ।
नेपालमा मनसुनयाममा विशेषतः जुन १० देखि सेप्टेम्बर २३ सम्म अत्यधिक वर्षा हुने गरेको छ । छोटो समयमा पर्ने अत्यधिक वर्षा, अपूरो र कमजोर बाढी नियन्त्रण संरचना, नदीमा गरिएको अतिक्रमण, भारतले सीमामा बनाएको तटबन्ध नै नेपालमा बाढीको प्रमुख कारण रहेको पाइन्छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र सङ्कट निवारण तथा पुनर्लाभ ब्युरोका अनुसार बाढी र पहिरो जोखिमको हिसाबले विश्वमा नेपाल ३० औँ स्थानमा छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ साल जेठ ३१ गतेदेखि असार २९ गतेको बीचमा नेपालमा भएको बाढीपहिरो र डुबानका कारण ८५ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता भएका छन् । त्यसबाट १५ भन्दा बढी जिल्ला प्रभावित भएका छन् । बर्सेनि यसरी प्राकृतिक विपत्तिका घटना हुनुमा नदीहरूको प्रकृतिले पनि सहयोगी भूमिका खेलेको छ । देशभरि छ हजारभन्दा बढी नदीनाला छन् र तिनीहरूकोे लम्बाइ करिब ४५ हजार किलोमिटर छ । त्यस्ता नदीको निकासमार्ग अत्यन्तै संवेदनशील र नजिक छ । नदीनालाको वरिपरिका क्षेत्रमा मानिसको बसोवास छ ।
नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यूनचापीय रेखा तराई–मधेश क्षेत्र नजिक रहेकाले अझै तीन चार दिन देशव्यापी भीषण वर्षाको सम्भावना छ । प्राकृतिक विपद्लाई बुद्धिमत्तापूर्ण तरिकाले न्यूनीकरण गर्न सकिनेछ, रोक्न सकिँदैन । विपद् आइसकेपछि त्यसबाट नागरिकलाई बचाउनु राज्यको पहिलो कर्तव्य हुनेछ । प्राकृतिक विपद्लाई विपद्पूर्व र विपद्पछिको गरी दुई दृष्टिकोणका आधारमा व्यवस्थापन गर्ने प्रयास सरकारले गर्दै आएको छ । नदी, बाढी, पहिरो नियन्त्रण, नदीमा खतराको तह अङ्कित, मौसम पूर्वानुमान सार्वजनिक, सूचना प्रवाह गरेर विपद्पूर्वको होसियारी तयारी गरिँदै आएको छ ।
प्रदेश २ बढी जोखिममा
केही दिन देखिको अविरल वर्षाले उपयुक्त निकास र नदी–खोलामा तटबन्ध व्यवस्थित नहुँदा प्रदेश २ का आठवटै जिल्ला बाढीको पानीले जलाम्य भएका छन् । गत हप्तादेखि प्रदेश २ मा आएको बाढीले बगाउँदा अहिलेसम्म सर्लाही र महोत्तरीमा दुई जना बेपत्ता छन् । त्यस्तै बाढीले सय १९ घर र ८ सय ४५ जना विस्थापित भएका छन् ।
प्रदेश २ प्रहरी कार्यालयका अनुसार महोत्तरीको रातु खोलाले बगाउँदा ४० वर्षीय वीरेन्द्र कापर र रौतहटको चाँदी खोलामा बगेर ५० वर्षीय सुकमानी थिङ छन् । विभिन्न जिल्लामा ३८ वटा घरमा बाढीले क्षति पु¥याएको छ । सिरहामा बलान नदीले सखुवा–४ र लहान–२३ का बस्ती र खेतीयोग्य जग्गा कटान गरेको छ । कटान क्षेत्रमा प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले निरीक्षण गरेका छन् । कटान रोक्न तारजालीको तत्काल बन्दोबस्त मिलाउन मन्त्रीहरूको निर्देशन छ ।
यता प्रदेशमा बाढीको प्रकोप बढेपनि प्रदेश सरकारको तयारी शुन्य देखिएको छ । बाढी आउनु पूर्व नै उद्धार र राहतका लागि आवश्यक गर्नु पर्नेमा प्रदेश सरकारले बाढी आउँदा पनि तदारुकताका साथ उद्धार र राहतको व्यवस्था गर्न नसकेको हो ।
यद्यपी प्रदेश २ सरकारले बाढी प्रभावित क्षेत्रको अनुगमन सुरु गरेको छ । अविरल वर्षापछि आएको बाढीका कारण भएको क्षति तथा वस्तुगत अवस्थाबारे बुझ्नका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा अनुगमन सुरु भएको हो ।
प्रदेश सरकारद्वारा गठन गरिएको मन्त्री सोनलको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन तथा अनुगमन समितिद्वारा सिरहास्थित कमला नदी, घुर्मी नदी, बतहा नदी, बलान नदी, गागन नदी लगायतका नदीमा आएको बाढी र सोबाट भएको कटान तथा डुबानले गरेको क्षतिको अध्ययन तथा अनुगमन थालेको छ ।
अनुगमन सुरु गर्दै मन्त्री सोनलले बाढी प्रभावित क्षेत्रहरुमा प्रदेश सरकारले अनुगमन पश्चात उद्धार तथा राहतको कार्य सुरु गरिने बताए । उनले बाढीको प्रभावलाई न्यूनीकरण गर्न सरकारले आगामी दिनहरुमा विज्ञमार्फत दिर्घकालिन योजना ल्याउन गइरहेको समेत जानकारी दिए ।
मन्त्री सोनलले राहतका लागि प्रदेश सरकार पूर्ण रुपले तम्तयार रहेकाले छिट्टै प्रभावित क्षेत्रमा राहत टोली समेत पुग्ने स्पष्ट पारे ।
प्रदेश २ का आठवटै जिल्लामा भएका कटान, बढीपहिरो, डुबानले केही सन्देश दिएका छन् । यी प्रकृति प्रकोपविरुद्ध राहत र पुनःस्थापना नै पर्याप्त पहल होइनन् । नेपालका बस्ती, भौगोलिक बनावट, अवैज्ञानिक सडकजस्ता संरचना आदि र प्रकृति प्रकोपको सम्बन्धबारे प्राविधिक सामाजिक विश्लेषण जरुरी छ । प्रकोपमा कहीँ कतै मानवीय क्रियाकलाप नै मुख्य जिम्मेवार त छैनन् भनेर विगतको समीक्षा र आगामी योजना बनाउनु नितान्त आवश्यक छ । हरेक वर्ष प्रकोप, राहत तथा उद्धारको नियमित आकस्मिकता रोक्न अबका दिनमा भिन्न कोणबाट परिचालित हुनुपर्छ । तराई क्षेत्र डुबानमा पर्नुका अन्य कारण पनि छन् । नदी नियन्त्रणका सन्दर्भमा प्रभावकारी काम नहुनु, बजेटको अभाव रहनु, भएका काममा समेत गुणस्तरीयता नहुनुजस्ता अवाञ्छनीय पक्षले गर्दा तराईवासी सदैव रुन बाध्य छन् । भारतले गलत ढङ्गबाट बनाएको तटबन्ध हटाउन लगाउने, सम्झौताअनुरूप क्षतिपूर्तिको व्यवस्था गराउने र दुवै पक्ष डुबानमा नपर्नेगरी संरचना निर्माण गरिनुपर्ने अपेक्षा साकार भइरहेको छैन ।
बाढीपहिरोको विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि पूर्वसचेतना कार्यक्रम, विपद्का बखत तत्कालका उद्धारका प्रबन्ध, अल्पकालीन र दीर्घकालीन राहतका काम पनि गहन समीक्षाका विषय बनेका छन् । बाढी तथा पहिरोको बढी जोखिम भएका ठाउँमा जनधनलाई अधिक महत्व दिनैपर्छ । त्यस्ता जोखिमपूर्ण ठाउँमा भएका बस्ती वा परिवारलाई स्थानीय क्षेत्रमै सुरक्षित बसोवास, खानपान र औषधोपचारको व्यवस्था गर्नुपर्छ । बाढीपहिरो, भूकम्प आदि विपत्तिमा परेकालाई मनोवैज्ञानिक रूपमै उत्साही तुल्याउन नसके अपेक्षित सफलता प्राप्त हुन सक्दैन, तसर्थ यस्ता काममा विशाल छाती प्रदर्शन गर्न चुक्नुहुँदैन । (मधेश दर्पण फिचर सेवा)
Facebook Comments