भुल्न पो लागियो संझना जो थियो

खोरमा बाँधिदा साधना रोकियो
भुल्न पो लागियो संझना जो थियो
बाँच्नकै लागि यो अर्पियो जिन्दगी
जाल औं झेलमा राखिदा बन्गदी ।।१।।

जो गयो डुब्न त्यो पाउला ज्ञान जो
अग्लिदा टाकुरा जो उठे मान भो
रातको जूनले साथ नै छोड्दिदा
पूर्वमा सूर्यको चम्किलो ज्योति छ ।।२।।

चोटले हार त्यो बन्छ नै सुन्दर
तातिदा पिट्नु नै देखियो उत्तम
साधना आत्मको अन्तरै ज्ञान हो
मिर्मिरे पूर्वको उत्तमै ध्यान हो ।।३।।

ज्ञानले रोक्छ नै दुख्खको सागरै
पाउनै त्यो सधै खर्चदा जाँगरै
गीतमा के छ खै ! झुम्मिने राग छ
शुद्ध त्यो आत्ममै फूलको वाग छ ।।४।।

सारमा जिन्दगी सालमा बेरियो
जन्मिदा पूर्व नै ऋतु झैं फेरियो
साथ त्यो छोडियो बन्धनै तोडियो
चम्कियो चाँदनी बाटो नै मोडियो ।।५।।

हर्षको बोटमा सूर्यको राप झैं
यादको मार्गमा यात्रुको चाप झैं
बाँच्नुको सार के आशको तारमा
काटिदै जानु हो युद्धमा हारमा ।।६।।

सार हो जिन्दगी पढ्न जो लागियो
भार हो जिन्दगी ठान्न पो थालियो
आपको बोटमा माकुरी जाल झै
अल्झियो केश झैं भातका थालमै ।।७।।

Facebook Comments