भीमनारायण गोल्डकप:उद्घाटन खेलमा सप्तरी विजयी

धनकुटा/सहिद भीमनारायण गोल्ड कपको १७औँ संस्करण आजदेखि सुरु भएको छ ।धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आज भएको उद्घाटन खेलमा सप्तरीको नमोबद्ध युथ क्लब विजयी भएको छ । उसले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३–१ गोलअन्तरले हराएको हो ।

सप्तरीले पहिले हाफमा तीन गोल गरेको थियो । खेलको १९औँ मिनेटमा निर्मल घिसिङ, खेलको ३२औँ मिनेटमा मिक्सम दास र ३९औँ मिनेटमा मोहित गुरुङले गोल गरेका थिए । भीमनारायण स्मृति प्रतिष्ठानका लागि दोस्रो हाफमा कप्तान दीपेन शाक्यले सान्त्वना गोल गरेका थिए ।

सोमबार ब्वाइज फुटबल क्लब इटहरी, सुनसरी र गाईघाट फुटबल क्लब उदयपुरबीच खेल हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । यही चैत २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आठ टोली सहभागी छन् ।

Facebook Comments