जीवनको अर्को परिभाषा हो संघर्ष । यही संघर्षबाट प्राप्त हुन्छ ज्ञान । त्यो ज्ञानलाई विज्ञानले कि कविले मात्र चिन्दछन् । यसरी जीवनको उत्तरार्धमा आएर मदन कार्कीले यही ज्ञान प्राप्त गरेकाछन् भावुकताको बीउ छर्दै ।
जीवनमा अनगिन्ति अफ्ट्याराहरु आउँछन् । लाखौ मोडहरु भेटिन्छ । यस्तै मोडहरुमा अल्झिएका हुन्छन् कतैकतै खुसीका झ्याम्टाहरु पनि । यी सबैको रसस्वादन गरेर उनले कविता लेखेकाछन् । यी आफैमा इतिहास हुन् । अरुले माने पनि नमाने पनि ।
कविता कतै लामाछन् कतै छोटा तुक्का जस्ता । बराबर भाव बोकेर हिडेका कविताको लम्बाइ नाप्नु जरुरी छैन् । सन्देश स्पस्ट पार्नका लागि कुनै प्रमाण चाहिदैन । जुनकुरा उनले कवितामा दिएकाछन् ।
विश्वासको आधार कस्तो हुन्छ, एउटा उदाहरण हेरौं–
राति राति डुल्नेको
घर हुँदैन भन्थे
पुच्छरमा आगो हुनेको
भर हुँदैन भन्थे
मैले पत्याइनँ ।
भन्दै जीवनको अनुभवलाई पस्केको देखिन्छ ।
यस्तै जीवन भोगाइ र वित्दै गएको उमेरको आधारलाई यसरी पस्कको पाइन्छ –
विगतबाट जोगिएर आएँ
वर्तमानमा खर्च हुँदैछु
सय, पचास अनि पाँच
प्रत्येक दिन घटदै छु ।
मान्छेले बारम्बार फेर्ने रंग र प्रबृतिका बारेमा गरिएको व्याङग्य पनि खरो छ–
यत्तिकैमा
ऊ भुइँमा लड्यो
र, उसको मुखुण्डो झर्यो
यो हेरिरहेका दर्शकले भने–
यो राजाको अनुहारमा देशको भुगोल छैन् ।
बाध्यता कस्तो हुन्छ, परिधीको जीवनमा यसरी व्यक्त गरिएको छ–
म रेसको घोडा हुँ
बाजी जित्न सक्छु
तर के गर्नु
टुडिखेल नै खाली छैन
कहाँ कुद्नु ?
हो, जीवनमा यस्ता समस्या र बाध्यताहरु आजको समयमा यत्रतत्र रहेकाछन् ।
जीवनको परिधीमा जोखिएर आउँछन् दृष्यहरु । कतै आफ्नै पैतालामा चोट बोकेर । अनि कतै द्वितीय पात्रको माध्यमबाट । सबै सहेर बढ्नु छ, अनवरत यात्रामा । भोगाइको चोट र अरुको निर्देशन ।
भावुकतामा सिर्जना हुन्छ । भावुकता भनेको कुनै पनि दानाबाट बीउ उम्रिए जस्तै हो । यहाँ १०४ वटा दानाहरुबाट सयौं हाँगाहरु पलाएकाछन् । ती हाँगाबाट लाखौं पातहरु । यिनको उद्देश्य शितलता प्रदान गर्नु हो, त्यो दिएकाछन् ।
अर्को पक्षलाई भित्रि रुपमा केलाउँदा कविताले कविताको भाषामा बिम्ब र उपमामा खेल्नु पर्ने हो । त्यो विषयमा कतै कलमले आफ्नो चेत गुमाएको भान हुन्छ । यसको अर्थ बिम्बमा रमाउनु भन्ने होइन । त्यसको मिठासता बेग्लै हुन्छ, अर्थका भावले । सायद कविको यो सरलिकृत लय पनि हुन सक्छ । अन्त्यमा कृतिको सफलताको कामना गर्दछु । २५० मूल्य रहेकाे कृतिलाई ओरिएन्टल पब्लिकेसन बागबजारले बजारमा ल्याएको हो । कलम भावको अर्को रुप हो । त्यसले हजार दृष्य देखाउँछ, त्यो सदा चम्किरहोस् । शुभकामना ।