कार्तिक १६ गते देखि भारतको विद्युत मन्त्रालयको सहमतिमा भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धा दरमा पहिलो पटक नेपालको विद्युत विक्रीको अनुमति पाएको समाचारप्रति इपानले स्वागत गरेको छ । यसरी नेपालको जलविद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स) मा विक्री गर्न अनुमति प्राप्त गर्न पहल गर्ने नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, नेपाल विद्युत नियमन आयोग, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय लगायत सम्पूर्ण कार्यालय, प्रधानमन्त्री शेरवहादुर देउवा र मन्त्री पम्फा भुसालप्रति उसले धन्यवाद व्यक्त गरेको छ ।
नेपाल सरकारले २०७४ सालमा घोषणा गरेको १० वर्षमा १५ हजार मेगावाट क्षमताको जलविद्युत निर्माण गर्ने लक्ष्य अनुसार लक्ष्यप्राप्तीका लागि निजी क्षेत्र उत्साहका साथ निरन्तर लागि रहेको इपानले जनाएको छ ।
विगत केही दिनदेखि नेपालको ऊर्जा क्षेत्रमा आइरहेका सर्वेक्षण र उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद विक्री सम्झौता सम्बन्धी समाचारले जलविद्युत क्षेत्रको भविष्यप्रति चिन्ता उत्पन्न भएको हुनाले यससँग सम्बन्धित निकाय, मन्त्रालय र सरकारको ध्यानकर्षण गराएको जनाएको छ ।
नेपालको जलविद्युत क्षेत्रलाई व्यवस्थित र मर्यादित तरिकाले विकास र विस्तार गरी बढी भन्दा बढी जलविद्यत उत्पादन गरी स्वेदश तथा विदेशमा विभिन्न माध्यमबाट विक्री वितरण गर्न आवश्यक नियम कानुन बनाउनसमेत इपानले अनुरोध गरेको छ । विद्युत व्यापारको राजमार्ग ट्रान्समिसन लाइनको विकास गर्दै Whiling Charge ताेक्ने Crace Border Electricity Trade Guideline (CBET)बनाउन र विस्तार गर्नमा पनि सम्बन्धित निकायले यद्धस्तरमा काम गर्दै त्यसमा निजी क्षेत्रकोसमेत सहभागिता गराइयोस् भन्ने माग राखेको छ ।
सम्बृद्धीको प्रमुख आधार जलविद्युतको विकासमा लगानीमैत्री वातावरण श्रृजना गरी सम्भावना भएसम्मका सबै आयोजनाहरु स्वदेशी विदेशी लगानीमा निर्माण सम्पन्न गरी स्वदेश तथा विदेशमा विक्री वितरण गरी देशको अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्य राखेको बताएको छ ।
इपान व्यवसायीक हकहित तथा राष्ट्रको सम्वृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने प्रमुख व्यवसायीहरुको संस्था भएको नाताले समय–समयमा देखापर्ने सबैखाले समस्याको बारेमा इपानले आफ्नो धारणा राख्ने गरेको उल्लेख छ ।
