काठमाडाैं । प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे (General Manoj Mukund Naravane, PVSM, AVSM, SM, VSM, ADC) तीनदिने औपचारिक भ्रमणको सिलसिलामा कार्तिक १९ गते काठमाडौं आईपुग्नु भएको छ । उहाँको साथै उहाँकी धर्मपत्नी तथा भारतीय सेनाको Army Wives Welfare Association (AWWA) की अध्यक्ष श्रीमती विना नरवणे पनि आउनु भएको छ । उहाँहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री प्रभुराम शर्मा र श्रीमती सुनिता शर्माले स्वागत गर्नुभएको थियो ।
तीन दिवसीय भ्रमणको क्रममा जनरल नरवणेलाई मिति २०७७ कार्तिक २० गते (तदनुसार ५ नोभेम्बर २०२०) राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं वृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।