भानुभक्त

हे प्यारा कवि भानु भक्त जगमा चन्द्रै सरी चम्कियौ
भाषामा अति योगदान हुन गो, यो राष्ट्रमा लम्कियौ
भाषाभक्त भयौ तिमी मुलुकका हे भानुभक्तै न हौ
सानो त्यो उनको छ गाउँ तनहुँ रम्घा भनी चिन्नु त्यो ।।१।।

घाँसीबाट भएर प्रेरित तिमी बन्यौ सुकर्मी सधैं
पार्दै सार्थक जिन्दगी हरघडी लेख्यौ नि रामायण
भो रामायण काव्य लोकप्रिय लौ अत्यन्त यो देशमा
नेपाली जनमाझ गायन हुने नेपालकै भेषमा ।।२।।

नेपाली जन धेर जात थरका बस्छन् यहाँ देशमा
भाषा सुत्र भएर एक हुनगो मालासरि राष्ट्रमा
देखायौ सहजै कवित्व प्रतिभा जेलै बसेरै पनि
बस्दा जेल कुनै रचेर कविता बेला बिताए पनि ।।३।।

गर्दिन्छौ अनुबाद त्यो समयमा राम्रा कृति हुन् भनी
तिम्रा ती उपदेशयुक्त कविता बन्छ्न सुधा जीवनी
काटी घाँस त के प्रयोजन हुने ? तिम्रो भयो सोधनी
घाँसीबाट भएर प्रेरित यहाँ बढ्दो भयो लेखनी ।।४।।

आचार्यै कुलमा बढाइ हुन गो जन्म्यौ तिमी दीपक
नेपाली जनमाझ लोकप्रियता साझा भयौ लेखक
तिम्रा सिर्जन भावयुक्त रचना श्रद्धा लिई पढ्दछौं
हाम्रा गौरव गर्न लायक तिमी भन्दै सबै झुक्दछौं ।।५।।

हलेसी तुवाचुङ नपा –११, खोटाङ

Facebook Comments