भएन तृप्त प्यास यो

कविता

पहाड रुन्छ थर्किदै हिमाल रुन्छ भोकमा 

विदीर्ण शैल टाकुरा मधेश डुब्छ शोकमा 

छ पेट रिक्त सर्वदा अनङ्ग देह देखिने

छ राज्य नीति खै कहाँ, समृद्धि चित्र लेखिने ?।।१।।

             नवीन रोग विश्वकै हुँदैछ आर्त सामना

              छ घाउ भित्र निर्दयी अनन्त दर्द वेदना 

             कडा छ रोग फैलिने असङ्ख्य घात गर्दछ 

             छ भीड स्वास्थ्य गेहमा अकाल मृत्यु पर्दछ ।।२।।

जटीबुटी यहीँ छ खै निको हुँदैन रोग यो

छ अन्न उब्जिने गरा हटेन तीक्ष्ण भोक यो 

बढेर तीव्र ढुक्ढुकी चरक्क आँङ चर्कियो 

उपाय छैन आयको दिमाग मन्द रड्कियो ।।३।।

                 बसौँ त भित्र भोकले भुँडी छ रिक्त दुस्मन 

                   गरौँ त काम छैन क्यै न दिन्छ राज्य रासन 

                   पुगेर माथि मस्त छन् सुतेर देश बिर्सिने 

                   भएन भाग्य देशको भविष्य भव्य चम्किने ।।४।।

न देश हिँड्न सक्छ खै उठेर ठिङ्ग पाउमा 

समस्त व्यक्ति अल्झिए पाउने शक्ति दाउमा

छ माथि सूर्य चम्किने उँधो छ अन्धकार यो 

नदी बगे असङ्ख्य खै भएन तृप्त प्यास यो ।।५।।

Facebook Comments