काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पर्सा वीरगंज महानगरपालिका-६ माईस्थान बस्ने ५८ वर्षीय सत्य नाराण प्रसाद रौनियारलाई काठमाडौं रातोपुलबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर अन्तर्गत छुट्टाछुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवाना ठहर भई फरार सत्य नारायणलाई विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
साथै सत्य नारायणले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख रुपैयाँका चेकहरु काटी बैङ्किङ कसूरजन्य अपराध गरेको अनुसन्धानबाट खुल्न आएको थियो ।
उनलाई फैसला कार्यान्वयनको बिहीबार जिल्ला अदालत पर्सामा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।