ऐना मात्र रहेछ मित्र सकली, हाँस्दैन हामी रुँदा
स्वार्थीका सब झुण्ड मात्र दुनियाँ, पीडा हुने सम्झिँदा
भागी हैन बिताउने भुवनमा, भोगेर नै सार छ
धेर्यै धारण गर्नु पर्छ सबले, तड्पेर बेकार छ
(१)
भन्ला के कसले भनेर जसले, कामै नथाल्ने रति
त्यस्को उन्नति हुन्न हुन्न कहिल्यै, होला ठुलो दुर्गति
अल्छी भै रहँदा सुभाव नलिँदा, मान्छे हुने लठ्ठक
त्यस्ता लठ्ठक काम छैन अहिले, जन्मेर बेकार छ
(२)
दम्भीको पनि दम्भ हट्छ सहजै, खाँदा ठुलो ठक्कर
त्यो धक्का प्रलयै समान हुन गै, लाग्ला बडो चक्कर
पर्दा दख्खल मानमा मनुजको, भूकम्प नै आउँछ
तस्मात् सज्जन बन्नु पर्दछ सधैँ, त्यो दम्भ बेकार छ
(३)
आफ्नाको पहिचान हुन्छ दुखमा, को को सदाचार छन्
पीडामा यदि साथ दिन्न जसले, ती व्यक्ति बेकार छन्
गोष्ठी उत्सव भोजका समयमा, निम्तो त स्वीकार छ
तिम्रो नै अपमान गर्दछ भने, त्यो भोज बेकार छ
(४)
के देख्छौ सब झ्याल बन्द यदि ता, छैनन् कुनै द्वार त
बिर्को बन्द गरेर दूरबिनमा, हेर्छौ त बेकार छ
कस्तो यो परिवन्द हो कि अथवा, जेमा नि बेपार छ
ज्ञानी मानिस किन्तु काम नकली, गर्छौ त बेकार छ
(५)
(याे कविता छन्द चाैतारीबाट लिइएकाे हाे ।)