कञ्चनपुर/शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन् । कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त छन् ।
बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिहीन परिवार पूर्वपश्चिम राजमार्ग छेउमा सर्न थालेका हुन् । लगातार दुई दिनदेखि अविरल वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढन थालेपछि जीउज्यान जोगाउनका लागि सुरक्षित स्थानमा सर्नुपरेको कलावती दमाईले बताउनुभयो ।
“गत वर्ष रातिका बेला सुत्ने तरखर गरिरहेका बेला बाढीले शिविर डुबाउँदा एकसरो लुगामा भागेर ज्याउन जोगाएका थियौँ”, उहाँले भन्नुभयो, “यो वर्ष पनि त्यो पीडा खेप्नु नपरोस् भनेर निरन्तरको वर्षा भइरहेकाले नदीमा बाढी आउने सम्भावना बढेपछि बाढी आउनुआगावै ओढ्ने, ओछ्याउने कपडासहित बालबालिकालाई सुरक्षित स्थानमा सार्नुपरेको छ ।”
केही भूमिहीन परिवारले दातृ निकायले उपलब्ध गराएका त्रिपाल, केहीले पुराना च्यातिएका प्लाष्टिक र कपडाले ढाकेर झोपडी बनाएका छन् । जति पानी बाहिर पर्छ, त्यति नै पानीभित्र चुहिने भएकाले बालबालिकालाई काखीमा च्याप्दै भिज्दै रात काट्नुपरेको दलबहादुर बोहराले बताउनुभयो ।
“वर्षा नभएका बेला नदीमाथिको पक्की पुलमुनि सुत्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “वर्षा भएपछि पुलमुनि बाढीको पानी आउने भएकाले चुहिने झोपडीमा गएर बस्नुपर्ने बाध्यता छ ।”
पहिला नदीमा बाढी आउन थालेपछि सामुदायिक वन क्षेत्रको उँचो क्षेत्रमा गएर रुखमुनि ओत लाग्ने गरेको प्रकाश साउदले बताउनुभयो । “वन क्षेत्रमा लामखुट्टेले टोकेर हैरान बनाउँथ्यो”, उहाँले भन्नुभयो, “बर्खे झरीमा भिजेरै भए पनि ज्यान जोगाउने गरेका थियौँ, खाद्यान्नलगायत सामान बोकेर लैजान नसकिँदा नोक्सानी हुन्थ्यो, त्यही भएर राजमार्ग छेउमा झोपडी बनाएर बस्न थालेका हौँ ।”
भूमिहीन परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । वर्षात्को समय भएकाले मजदुरी नपाइँदा भोकभोकै बस्नुपरेको गुनासो माघी रावतले सुनाउनुभयो ।
झुल, त्रिपाल र टर्च लाइटको व्यवस्था गरिदिनका लागि भन्दै वडा कार्यालयदेखि नगरपालिका कार्यालयसम्म पटकपटक धाए पनि सुनवाइ हुन नसकेको भूमिहीन परिवार बताउँछन् । “सुरुमा जाँदा जनप्रतिनिधिले समस्या समाधान गर्छौँ भन्थे, अहिले जाँदा झर्केर बोल्न थालेपछि माग्नका लागि जानै छाडेका छौँ”, भूमिहीन परिवारहरूले भन्नुभयो ।
शिविरमा बस्दै आएका परिवारले भूमि समस्या समाधान आयोगको लगतमा जग्गा र आवासका लागि निवेदन दिएका छन् । निस्सा प्राप्त गरे पनि अहिलेसम्म बसोवासको टुङ्गो भने लाग्न सकेको छैन । वनहरा भूमिहीन शिविरमा २८ परिवारको बसोबास छ । भूमिहीन परिवारले झोपडीमा राख्नका लागि त्रिपाल, वर्षात्का बेला काम नपाइँदा दुई छाक खानका लागि अन्नको व्यवस्था र रातिका बेला हिँडडुल गर्न टर्चलाइटको व्यवस्था गरिदिनका लागि दातृ निकायसँग अनुरोध गरेका छन् ।
बाँकेमा बाढीबाट बस्ती जोगाउन अस्थायी तटबन्ध
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आसपासका क्षेत्रमा अस्थायी तटबन्धको काम सुरुआत गरिएको छ । राप्ती नदीमा आउने बाढीका कारण जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका जोखिममा रहेका दुई दर्जन बढी गाउँलाई बाढीबाट बचाउने जनाउँदै जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अघि बढाइएको हो । नदी तटीय क्षेत्रमा बर्सेनि डुबानको समस्या हुँदै आएको छ ।
वर्षायाम सुरु भएसँगै राप्ती नदीले निम्त्याउने डुबान, कटान र सम्भावित जोखिम हुने स्थानको पहिचान गर्दै गत एक सातादेखि जनताको तटबन्ध कार्यक्रम आयोजना प्रमुख डा नारायण सुवेदीसहित प्राविधिक टोलीले निर्माणस्थलमा पुगेर नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि बेम्बो पाइलिङ प्रविधिबाट अस्थायी आपत्कालीन तटबन्ध बनाउने कार्य गरिरहेको छ ।
राप्ती नदी क्षेत्रमा प्रायः डुबान र कटानको समस्या तीव्र रुपले हुने हुँदा नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी बाढी र नदी कटानको पीडाले रातभर सुत्न नसक्ने अवस्थामा रहेकाले तत्कालका लागि बस्ती र जनधन जोगाउन अस्थायी रूपले नदीको चार मिटर गहिराइबाट तटबन्ध बन्ने कार्य जनताको तटबन्ध कार्यक्रमले गरिरहेको डा सुवेदीले जानकारी दिनुभयो ।
जिल्लाका तीन स्थानीय तहअन्तर्गत राप्तीसोनारी गाउँपालिकाको वडा नं ६ स्थित ढलैया, वडा नं ७ को पिप्रहवा, खल्ला झगडिया, देवपुरवा, राप्ती नदीपूर्वको नरैनापुर गाउँपालिकाको वडा नं ६ स्थित सोनवर्षा, गङ्गापुर (कुदरबेटवा), भोजभगवानपुर तथा डुडुवा गाउँपालिकाको पूर्वी भेगमा बाढीको जोखिम न्यूनीकरणका लागि आपत्कालीन तटबन्धको काम सुरु गरिएको उहाँले उल्लेख गर्नुभयो ।
पक्की तटबन्ध निर्माणका लागि गत जेठमा मात्र बोलपत्र आह्वान हुँदा बजेट र ढुङ्गाको अभावका साथै वर्षा सुरु भइसकेका कारण हाललाई अस्थायी तटबन्ध निर्माणकार्य सुरु गरिएको सुवेदीको भनाइ छ । राप्ती नदी कटानबाट त्यस क्षेत्रका करिब ३० हजार जनता बाढीको उच्च जोखिममा रहँदा दाङस्थित जनताको तटबन्ध कार्यक्रमले हाललाई अस्थायी रुपको आपत्कालीन तटबन्ध निर्माण गरेपछि जोखिम कम हुने नेपाली कांग्रेस क्षेत्रीय सभापति पोषण केसीले बताउनुभयो ।