काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, ग्याँस र हवाई इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ बढाइएको छ । अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।
निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर रु.१६.६५, डिजेलमा प्रति लिटर रु.१०९.५० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु. ४१६.३७ घाटा रहेको छ। भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पश्चात् पनि निगमलाई पाक्षिक रु. १० अर्ब २१ करोड ९१ लाख अझै घाटा हुने अवस्था छ।’
‘आपूर्ति व्यवस्थापनमा असहजता सिर्जना हुने भएकाले हाललाई लागत मूल्य अनुसार वृद्धि नगरी पेट्रोलमा प्रति लिटर रु. १७ डिजेल/मट्टितेलमा प्रति लिटर रु. २५ तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु. १०० र हवाई इन्धन आन्तरिक तर्फ रु. ६ ले वृद्धि गरिएको छ’ निगमले भनेको छ । अब १४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) पनि प्रति लिटर ६ रुपैयाँले बढाइएको छ ।
मूल्य वृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने जनाएको छ।