प्राधिकरणले गर्याे उपभोक्तालाई अपिल

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणको प्रशारण एवम् वितरण लाईनको सञ्‍चालन तथा विद्युत आपूर्तिको निरन्तरता, विद्युत महशुल र भुक्तानी सम्वन्धमा उपभोक्ता महानुभावहरुले हालैको समयमा देखाएको चासो र चिन्ताको सम्वन्धमा प्राधिकरण सजग रहेको जनाएकाे छ ।
विद्युतको प्रशारण तथा वितरण संरचना जमिन माथि (ओभर हेड) बाट गएकोले प्रतिकुल मौसमका कारण कुनै कुनै स्थानमा विद्युतीय प्रणालीमा समस्या आउने गरेको छ। नियमित रुपमा गर्नु पर्ने मर्मत संभार तथा प्रणाली सुधारको कार्य गर्नु पर्दा विद्युत आपूर्ति बिच्छेद गर्नु पर्ने भएकोले यस्तो अबस्थामा विद्युत आपूर्तिमा निर्धारित समयसम्म अवरुद्ध हुने गर्दछ। यस्ता समस्याहरुको निराकरण तथा सुधार गर्दै नियमित विद्युत आपूर्ति गर्न प्राधिकरण प्रतिवद्ध बताएकाे छ।

यदाकदा विद्युत आपूर्तिमा आउने अवरोधलाई जोडी अव लोडसेडिङ्ग हुन थाल्यो भन्‍ने जस्ता अफवाह पनि सुनिने गरेकोले त्यसमा कुनै सत्यता नभएको र त्यस्तो अवस्था नरहेको व्यहोरा अनुरोध गर्दै प्राधिकरण आम उपभोक्ताहरुमा थप भरपर्दो र नियमित विद्युत सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको जानकारी गराएकाे छ।

Facebook Comments