प्राधिकरणका रिचार्ज हाकिमको प्रशासनमा सरुवा

हाकिम चुटेर भक्तपुरतिर रमाना

आधिकारीक ट्रेड युनियनले प्राधिकरणमा सरुवाको सन्दर्भमा राइट मेन राइट प्लेसको आधारमा हुनुपर्छ भन्ने आफ्नो अडान यथावत रहेको जनाएको छ । नाम उल्लेख नगर्ने सर्तमा एक युनियनका नेताले भने पूर्व माओवादी खेमाका नवाैँ तहका इन्जिनियरिङ सेवा निर्देशनालयका रोशन सुनुवारलाई शक्ति केन्द्रको दवावमा प्रशासन निर्देशनालयमा १० तहकाे स्थानमा सरुवा गर्ने अन्तिम तयारी गरिएको छ । जुन गलत हुन्छ । सुनुवार सर पहिला देखि नै अलि गन्हाएको कर्मचारीको श्रेणीमा पर्नुहुन्छ । फाइलमा निर्णय गर्दा कम्तिमा एउटा रिचार्ज कार्ड मात्र भएपनि उहाँलाई उपलब्ध हुनुपर्छ । त्यसैले प्राधिकरणमा उहाँलाई रिचार्ज कार्ड सरको नामले समेत चिनिन्छ । सुनुवारलाई कर्मचारी प्रशासन महाशाखा प्रमुख बनाएर चुडामणि आचार्यको ठाउँमा ल्याउन लागिएको हो । उक्त सुत्रका अनुसार शक्ति केन्द्र अर्थात मन्त्रीको निर्देशनमा त्यसो गर्न लागिएको हो । यस विषयमा युनियनले प्रशासनका डिएमडी लाेकहरि लुइँटेलकाे कार्यकक्षमा घेराबन्दी गरी बिराेध जनाएकाे छ ।
जनसाधन विभाग प्रमुख वेलप्रसाद शर्मालाई सामान्य सेवा विभागमा र त्यहाँका विश्वनाथ शर्मालाई यता सरुवा गरिएको छ । शर्मा एमाले भनी चिनिएका कर्मचारी हुन । यसैगरी लेखा विभागमा हाकिमको टेवुल चकनाचुर भन्ने खबर आएको थियो । कुरा के रहेछ भन्दा बेरुजु फछ्यौट शाखाका चन्द्रप्रसाद ओझालाई भक्तपुर खरिपाटी सरुवा गरिएकोमा त्यति टाढा सरुवा गराएको भनी निमित्त निर्देशक समिर प्रसाद पोखरेलसँग ओझाको चरम असन्तुष्टि रहेको छ । सरुवा भएर पनि ओझाले रमाना नबुझि बसेका थिए । अन्तत जानै पर्ने भएपछि अघिल्लो साता पोखरेललाई कार्यालय प्रवेश गर्दै गर्दा लात्ताले विरोध जनाएर ओझाले रमाना पत्र बुझेर भक्तपुरतिर लागेका रहेछन् ।
ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई मन्त्रालय भन्दा बढी राजनीतिक गतिविधिमा व्यस्त हुनुपरेको जगजाहेर नै छ । यस्तैमा संचालक समितिको बैठक उचित समयमा बस्न नसकेको र बसि हाले पनि ठोस विषयमा निर्णय हुन नसकेको गुनासो बाहिरिनेक्रम सुरु भएको छ । डेडिकेटेड र ट्रंक बक्यौता महशुल असुल, अप्टिकल फाइवर र पोल प्रयोगकर्ताको महशुल, विवाद ट्रान्समिसन र सवस्टेशन निर्माणमा देखिएको समस्या समाधानमा ठोस निर्णय हुन सकेको छैन । उता निजी क्षेत्रको ९९ बूँदे अन्तर्गतका एडि पेनाल्टी लगायतका विषय लगातार थाँती रहेका छन् । यसैबीच एक थरिले एमडीले मन्त्रीलाई भेटी अर्को व्यवस्था गर्नु भनेको भनी बजार हल्ला फिजाएका छन् । यस सम्बन्धमा सुत्रले निमित्त कार्यकारी निर्देशकलाई कमजोर देखाएर जति सक्दो चाडो आफ्नो मान्छे लैजाने प्रपञ्च रचिएको बताएको छ । एमडीको फरफर्रमेसन राम्रो रहेको बेला यो हल्ला ठिक नभएको अर्को थरीको बुझाइ छ ।

Facebook Comments