काठमाडौंं । नेपाल विद्युत प्राधिकरण संचालक समितिले डिएमडी हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । उहाँ यस अघि एनइए इन्जिनियरिङ कम्पनीको सिइयोको रुपमा कार्यरत हुनुहुन्थ्यो । शाक्यलाई संचालक समितिको बैठकले यो जिम्मेबारी दिएको हो ।
गत भाद्र ३० गते खाली भएको कार्यकारी निर्देशक पदमा प्राधिकरणका डिएमडी लेखनाथ कोइरालाईलाई निमित्त कार्यकारी निर्देशक बनाइएको थियो । त्यसबखत नै शाक्य निमित्त कार्यकारी निर्देशक बन्ने चर्चा भएको भएपनि उहाँ एनइएमा भएका कारण कोइरालालाई जिम्मेबारी दिइएको थियो ।
प्राधिकरणका डिएमडीमध्ये उहाँ सबैभन्दा सिनियर हुनुहुन्छ । रिक्त दरबन्दीमा सिनियरमध्येबाट नै जिम्मेवारी तोक्ने प्रावधान छ । यस अघि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नेविप्रामा रहेका डिएमडीमध्ये सिनियर डिएमडी लेखनाथ कोइरालाले सम्हालिरहनु भएको थियो ।
शाक्यले आजैबाट नेविप्रामा हाजिर गरी पदभार सम्हाल्ने बताइएकाे छ।