आज मिति २०७९ बैशाख २१ गते नेपाली सेनाका प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले नवनियुक्त भारतीय थल सेनाध्यक्ष जनरल श्री मनोज पांडे, PVSM, AVSM, VSM, ADC लाई भारतीय सेनाको थल सेनाध्यक्षमा नियुक्ति हुनु भएकोमा भिडियो कन्फरेन्स मार्फत हार्दिक बधाई ज्ञापन गर्नु हुँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भएको छ ।
प्रधान सेनापति महारथी शर्माले उक्त भिडियो कन्फरेन्सको दौरान नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग, उहाँको कार्यकालमा अझ उचाईमा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
साथै, उक्त अवसरमा भारतीय थल सेनाध्यक्ष जनरल श्री पांडेले, प्रधान सेनापति महारथी श्री शर्माले नेपाल भ्रमणका लागि गर्नु भएको निमन्त्रणालाई स्वीकार गरी, आपसी समन्वय र उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउँदै दुई सेनाबीचको पारस्परिक सम्बन्ध भविष्यमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भएको थियो ।