प्रधानमन्त्रीले खानेपानी मन्त्रीलाई बोलाएर के भन्नु भयो

अजिवको अवस्था : बालुवाटार र खुमलटारमा दुईवटा क्याविनेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २१ गते खानेपानी मन्त्री विना मगर, सचिव माधव बेल्वासे र मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीलाई बालुवाटार डाक्नु भयो । मेलम्चीको काम कुरो के भइरहेको छ, पानी छोडेपछि त्यसले भौतिक तथा मानवीय क्षति पुगेको, दुई जनाको मृत्यु भएकोमा एक जनाको त अझैसम्म लास पनि नभेटिएको दुई जना शक्त घाइते भएर भर्खर तंरिन थालेको स्थिति छ । यसमा दोषी को हो र क्षति कसले व्यहोर्ने ? आयोजना, कन्ट्याक्टर वा कन्सलटेन्ट ? दोषी पत्ता लागो लागेन ? यति ठूलो घटना त्यसै छोड्दिने, यस्तै कुरा गर्नु भएको जानकारी आएको छ । प्रतिउत्तरमा यी सवालहरुको जवाफ जिब्रो लरबरिनु र टाउको कन्याउनु वाहेक के थियो र । थियो त छानविन समिति बनाएको । नट बल्टु खुस्किएको र पानीले उधुम मच्चाएको यस्तै ।
रोचक कुरा के छ भने आयोजना कार्यान्वयन निर्देशनालयमा राति राति र शनिबार पनि काम गराएर एडभान्स रकम खटाखट दिन सकिदो रहेछ । मेलम्चीको पानी ल्याउने काम चै किन यसरी हुन सकेन भन्ने कुरामासमेत प्रमले चासो राखेको बुझिएको छ । यो कुराले केवल प्रम हरेक कुरामा अपडेट हुनुहुन्छ भन्ने मात्र प्रमाणित हुन्छ । रातारात १३ अर्बको ठेक्का र ६५ करोड एडभान्स दिएर चकित पारेपछि प्रमले बाध्य भएर बोलाएर सोधेको कुरा लोकलाई देखाउन मात्र हो भन्ने बुझिन्छ ।
गत असारको यो घटना लगत्तै खानेपानी मन्त्रालयले सह सचिव रमाकान्त दवाडीको संयोजकत्वमा छानविन समिति बनाएको थियो । उक्त समितिले प्रतिवेदन सार्वजनिक नगर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिएर गएको थियो । त्यसपछि यो विषय गुपचुप नै होस् भन्ने चाहनाले ओझेल पार्ने प्रयत्न भइरहेको छ भन्दा कसैकाे टाउको दुखेछ भने दुखी रहोस् । गरेको वा गर्न खोजेको त्यस्तै हो ।
को हो जवाफदेहि ?
सिन्धुपाल्चोकको हेलम्बु गापा १ स्थित अस्थाइ सुरुङमा छोडेको पानीले ढोका फोडेर ४ जना बगायो । एकको मृत्यु, एक अझै फेला नपरेको र २ घाइते भएको घटना हुँदा मेलम्ची आयोजनाका प्रमुख ई. कमल श्रेष्ठ त्यही मुख्य भूमिकामा हुनुहुन्छ । मेलम्ची, कन्ट्रयाक्टर र कन्सलटेन्टका गरेर थप दर्जन ईन्जिनियर त्यही भएको अवस्था हो । छानविन समितिलाई मिलाएर प्रतिवेदन लेख्न लगाइएको हुनाले अख्तियारले प्रतिवेदनको कच्चा पदार्थ जफत गरेको छ । मुख्य कुरा सुरुङको सुरुवातको डिजाइन परिवर्तन गरेको कुरा अब प्रष्ट भइसकेको छ । जसलाई ढोकाको चुकुल खुस्केको कारण देखाइएको छ । त्यो ढोका खुल्दा सुरुङको भित्र पट्टी जानुपर्ने सुरुको डिजाइन हो । तर, जुन बखत ढोका खुल्यो त्यस बखत ढोका बाहिर खुलेको छ । सुरुङ भित्रको हावा बाहिर फाल्न बनाउनु पर्ने प्वाल नबनाइएको कारण सुरुङभित्र पानीको प्रवेश गराउनु घातक भएको मेलम्चीलाई नजिकबाट नियालीरहेका प्राविधिकहरुको दावी छ ।
यो गम्भीर प्राविधिक त्रुटिमा दण्डको साटो गुपचुप गराउनुले आश्चर्यमा परेका छौ । जानकारको भनाइ हो यो । आयोजना प्रमुखको दायित्वमा फिल्डमा खटेका ई‍ कमल, कन्सल्ट्यान्ट र कन्ट्रयाक्टर मुख्य दोषी हुन भने डिजाइन परिवर्तन हुनुमा कार्यकारी निर्देशक तिरेशले यसको जिम्मेवारी लिनु पर्छ । तर कुरा के छ भने ६५ करोड झिकेर रिटायर्ड भएपछि खाली भएको पिआइडी प्रमुखमा उहाँ कमललाई नै ल्याउने तयारी खानेपानी मन्त्रीले गर्नु भएको समेत सँगसँगै कुरा आएको छ ।
बालुवाटार र खुमलटार क्याविनेट
पछिल्लो समय मेलम्ची ढिला हुनुमा बालुवाटार र खुमलटार दुई क्याविनेटका कारण हो भन्ने कुरा पानीमा राजनीति गर्नेहरुले भन्दछन् । सन् २०१८ को डिसेम्बरमा इटलीको ठेकेदार कम्पनी नेपालबाटै भागेरै गएको हो । तनहुँ हाइड्रोमा २० अर्ब र मेलम्चीमा २ अर्बको ठेक्काको जिम्मेवारी लिएको सिएमसीका प्रतिनिधि एकै दिन नेपाल छोडेर भागेका हुन । कारण स्पष्ट थियो इटलिमा सिएमसीले टाट पल्टेको घोषणा गरी लिक्युडिएसमा जान प्रकृया सुरु गरिसकेको थियो । तर सिएमसीका कारण मानिस भाग्नु २ दिन अघिसम्म खुमलटार क्याविनेटमा बोलाएर खानेपानी मन्त्री (बुहारी) सँग एक बैठक सकाएर अर्को कोठामा अध्यक्ष प्रचण्ड (ससुरा) सँग बैठक गर्थे भन्ने कुरा त्यस बखत चर्चा चलेकै हो । अझ मानिसहरु त पत्याउनै नसकिने गरी यतिसम्म भन्थे कि बुहारीसँग कमिसन तोकिइ सकेपछि ससुरासँग छुट्टै कमिसनको डिल हुन्थ्यो । हैन होला त्यस्तो कहाँ हुन्छ भन्दा समेत आफ्नै लडाकु बसेको क्यान्टोनमेन्टको पैसाको त्यो झेल नै उहाँको द्रब्य मोहको साक्षी प्रमाण हो सम्म भन्न भ्याएका छन् । यो कुरालाई खासै महत्व नदिइए पनि उर्जा र खानेपानी मन्त्रालयसँग सम्बन्धित मोटा कामहरुको डिसिजन भने खुमलटार क्याविनेटबाट हुने गरेको छ । यी मन्त्रालयका खास खास कामहरुको बारेमा भने बालुवाटार क्याविनेटलेसमेत खुमलटार क्याविनेटकाे निर्णय पर्खने गरेको प्रसस्त घटनाछन् ।
सीएमसीले धरौटी वापत इन्भेष्टमेन्ट र स्ट्याण्डर्ड चार्टड बैंकमा राखेको रकम मेलम्चीले २.५ अर्ब र तनहुँ हाइड्रोले २ अर्ब जफत गरी असुल गर्न सफल भए । तर इन्भेष्टमेन्टले मेलम्चीमा काम गर्ने टिमलाई छुट्टै दिएको १.५ अर्ब रुपैयाँ भने सिएमसीले टप्काउने सुर गरेको छ । इन्भेष्टमेन्ट र सिएमसीले ब्याज खाने लोभले गरेको १.५ अर्ब लगानी फिर्ता लिन ताकेता गर्दा सिएमसीले उल्टो इटालीको अदालतमा मुद्दा हालेर नतिर्ने रणनीति अपनाएको छ । इन्भेष्टमेन्टलाई राष्ट्र बैंकले कहिलेसम्म छुट दिने हो र । हो यही सिएमसीलाई फिर्ता ल्याउन मरिहत्ते गर्ने मन्त्री विनाले ७ महिना मेलम्चीको कामलाई पछाडि धकेल्नु भएको छ । यसको असर अहिले देखा परेको छ ।
पहिलो कुरा त बर्खायाममा त्यसरी पानी छोड्नु नै हुँदैन थियो भन्ने प्राविधिक धारणा छ । तरपनि पानी छोड्ने आयोजना, कनसल्टेन्ट र कन्ट्याक्टरको सहमति छ त ? छ भने त्यो सहमतिको प्रति मेलम्चीकाे कार्यकारी निर्देशकसँग छ । वा को सँग छ भन्ने गम्भीर सवाल छ । माैखिक रुपमा सबै पानी खोल्न सहमत भइ मन्त्रीको फूलमाला लाएर मेलम्ची ल्याएको प्रचार खाने सोख पूरा गर्न यति ठूलो जोखिम उठाएको हो ? मेलम्चीको पानी काठमाडौं ल्याएर वितरण गर्दा यहाँका बासिन्दा खुसी हुने कुराको कुनै मूल्य नै नराख्दासमेत जनताले पानीको पैसा तिर्दा महिनामा १ अर्ब राजश्व उठ्छ । कुवेलामा पानी छोडेर बाँध भत्काउदा कम्तीमा १० महिना पर धकेलियो भनेर मान्दा समेत १० अर्बको सरकारी ब्यापार घाटा एउटा मन्त्रीको शोखले व्यहोर्नु पर्ने भनेपछि कस्तो बिडम्बना हो । यस्तो दण्डहिनता किन ? यसको मतलब कार्यकारी प्रमुख भएर पनि प्रधानमन्त्री ओली स्वयम ‘विचरा’ नै हो त मानिसहरु दुखका साथ कतिपय अवस्थामा यस्तै प्रश्न गर्दछन् ।

Facebook Comments