काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित विशेष समारोहबीच ६५ औं प्रहरी दिवस २०७७ सम्पन्न भएको छ ।
प्रहरी दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभयो । साथै प्रधानमन्त्रीकी धर्मपत्नी श्रीमती राधिका शाक्यले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । समारोहमा प्रधानमन्त्री ओलीलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मायाको चिनो समेत प्रदान गर्नुभयो ।
विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कानूनको पालना तथा कार्यान्वयन, निष्पक्ष अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको चर्चा गर्दै निष्पक्ष छानवीन, अभियोजन र न्याय निरुपणबाट कानूनको पालनाको साथै समाजमा शान्ति स्थापना हुने बताउनुभयो । साधन स्रोतको सीमितता तथा अभावका बाबजुद पनि देशले सुम्पिएको जिम्मेवारी सधै निष्ठापूर्वक बहन गर्दै आएकोप्रति प्रशंसा गर्दै नेपाल प्रहरीले गरेको काम कारवाहीको नेपाल सरकारबाट उच्च मूल्याङ्कन भएको उहाँले बताउनुभयो ।
मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यसैका जगमा कानूनी शासन, मानव अधिकारको संरक्षण र सम्बर्धन तथा विकासका आधारहरू निर्धारण हुने गर्दछ । मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले मात्र हामीले मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सक्नेछौ ।’ सामाजिक दबाब, विभिन्न प्रभावबाट टाढा रही कानून कार्यान्वयन र दिगो शान्तिका लागि सरोकारवाला सुरक्षा निकायहरु सजग भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
मुलुक रुपान्तरणको चरणमा रहेको र यसको प्रभाव नेपाल प्रहरीमा पनि पर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले परिवर्तनसँगै सेवा, सक्षमता र प्रतिबद्धतामा पनि आमूल सुदृढिकरण र प्रभावकारिताको अपेक्षा आमनागरिकको रहने हुँदा पारदर्शी एवम् जवाफदेही प्रहरी सेवा प्रदान गर्न नेपाल प्रहरी सदैव सक्रिय हुनुपर्ने बताउनुभयो । सुधार र परिवर्तन संगठनभित्रैबाट हुनुपर्ने बताउँदै प्रहरीबाट भएका रचनात्मक कार्यहरु, संस्थागत हित, विकास र कल्याणकारी हितका लागि नेपाल सरकारको सदैव साथ र सहयोग रहने उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीले साे कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले उठाउनु भएकाे बूढीगण्डकीकाे विषयमा समेत बाेल्नु भएकाे थियाे । यहाँले परियाेजना नै सुरु नभएकाे कुरामा भ्रष्टाचारको कुरा झिकेर राजनीतिक बखेडा झिक्न खाेजेकाे बताउनु भएकाे छ । यस्ता अभिव्यक्तिले जनतालाई भड्काउमा पार्ने भन्दै प्रधानमन्त्रीले यसप्रति आपत्ति राख्नु जनाउनु भएकाे हाे। भट्टराईले राजनीतिक खपतका लागि मात्र बूढीगण्डकीमा भ्रष्टाचारको कुरा अघि सारेका हुन् या उनी यसको प्रमाण पनि जुटाएर बसेका छन् भन्ने प्रष्ट छैन। गत वर्ष पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीका पति एवं पूराना राजनीतिज्ञ दुर्गा सुवेदीलाई आफ्नो राजनीतिक अभियानमा सहभागिताका लागि अनुरोध गर्न उनकै घरमा पुगेका भट्टराईले सुवेदीलाई पनि यो कुरा सुनाएका थिए। भट्टराईले आफ्नो राजनीतिक अभियानको भविष्यबारे सुवेदीलाई आश्वस्त पार्ने क्रममा यो (बुढीगण्डकीको) भ्रष्टाचारको विषयमा आफूसँग यथेष्ट प्रमाण रहेको, जुन सार्वजनिक भएपछि प्रमुख तीन नेताको राजनीतिक भविष्य धर्मराउने समेत घुमाउरो तवरबाट बताएका थिए। बुधबार एभिन्यूज टेलिभिजनसँगको अन्तर्वार्तामा पनि भट्टराईले सडकमा प्रमाण राख्दा नष्ट हुने भएकाले सम्बन्धित छानबिन गर्ने निकायलाई दिन तयार रहेको तर बजारमा छरपष्ट पारेर आफू बेवकुफ नहुने बताएका छन्। उनले यो आरोपबारे आफू गलत सावित भएमा दण्डित हुन समेत तयार रहेको बताएका छन्।
गोरखा र धादिङको सीमाना भएर बग्ने बूढीगण्डकी परियोजना शुरुआतदेखि नै विवादको भूमरीमा छ, मूलतः राजनीतिक खिचातानीका कारण। पछिल्लो एक सातामा यसबारे थप चर्चा चुलिएको छ। कारण पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एक साता अघि यो परियोजनाका नाममा प्रमुख तीन नेता ओली, दाहाल र देउवाले आपसी मिलेमतोमा रु. ९ अर्ब कमिसन लिएको सार्वजनिक अभिव्यक्ति दिए। अहिले अंक नै तोकेको भए पनि पछिल्ला तीन वर्षदेखि भट्टराईले बूढीगण्डकीमा अनियमितता भएको बताउँदै आएका थिए।