प्रदेश नं १ सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई बारुणयन्त्र (दमकल) र प्रहरी भ्यान उपलब्ध गराएको छ । गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिहिबार गाउँपालिकालाई एउटा दमकल र एउटा प्रहरी भ्यान उपलब्ध गराएको हो ।
बिराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले गाउँपालिका प्रमुख प्रदीपकुमार राईलाई दमकल र प्रहरी भ्यानको चाँबी हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिनुभएकाे छ । उक्त गाउँपालिकामा अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्न प्रदेश सरकारले केहि समयपछि एउटा एम्बुलेन्स पनि प्रदान गर्ने जनाइएको छ ।
जस्तापाता र खरको छाना भएको पुरानो संरचनाका घरहरु रहेको गाउँपालिकामा आगलागीका घटना बढी हुने गरेकाले नियन्त्रण गर्न प्रदेश सरकारसँग दमकल माग गरिएको गाउँपालिका प्रमुख राईकाे भनाइ छ । “दमकल अभावमा गाउँपालिकामा यसअघि भएको आगलागीका कारण ठूलो क्षति व्यहोर्नु परेको थियो”, उनले भने, “प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि सम्भावित घटना नियन्त्रण गर्न सहज हुने अनुमान गरिएको छ ।”
यस्तै, बिरामीलाई अस्पतालसम्म पुर्याएर ज्यान बचाउन एम्बुलेन्स सहयोगी हुने गाउँपालिकाले जनाएको छ । एकै ठाउँबाट मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्ने लक्ष्य अनुसार प्रदेश सरकारले दमकल, प्रहरी भ्यान र एम्बुलेन्स उपलब्ध गराएको बताइएको छ ।