शब्दले संसारलाई चिनाउँछ । मन भुलाउने र बहकाउने माध्यम पनि शब्द नै हो । यिनै शब्दको सिर्जनामा लागेका डि आर राईले नेपाली गीत संगीतको यात्रालाई अगाडि बढाउदै उपन्यास, यात्रा संस्मरण र आफ्नो जीवनले भोगेका अनुभूतिलाई संगाल्दै अगाडि बढेको पाइन्छ । सानो कथावस्तुलाई सरल भाषामा सशक्त रुपमा प्रस्तुत गर्नु राईको बिशेषता हो ।
यात्राले जीवनको रंगलाई झन रंगीन बनाउँछ । नयाँ अनुभूति र ज्ञान आँखामा सजाएर त्यसलाई मनको अन्तर कुनाले शब्दमा परिणत गर्नु आफैमा एउटा ठूलो साहस हो । शब्द टिप्न त जो कोहीले सक्छ । तर, ती शब्दहरुको सुन्दर हार बनाउने कला सबैमा हुँदैन । त्यसको लागि शब्दको आकार र भावको सार जोडिनु पर्छ । यो तथ्य ‘सेन्टोसा’ पढ्ने हरेकले अनुभूत गर्न पाउने छ ।
आफूले यात्रा गरेका नौवटा देशको परिवेश, त्यहाँको वातावरण र मनमोहक दृष्यले जो कोहीलाई त्यस स्थानमा पुग्नका लागि आतुर बनाउँछ । तर, सोच्ने बित्तिकै आफूले चाहेको स्थान त पुग्न सकिदैन, त्यसको प्यास मेटाउन र जानकारी लिनका लागि पनि यो पुस्तकले त्यस स्थानको बिशेषता र रोचकतालाई आफैले अनुभूत गरे झैं आनन्द दिन्छ । त्यतिमात्र होइन त्यहाँको सिजन अनुसारको वातावरणीय परिवर्तन र रुटहरुको बारेमा यथेष्ट जानकारी किताबमा छ ।
सामुन्द्रिक परिवेश भएका देशहरुको वातावरणमा रमाइ रहेका जलचरहरुले देखाउने कला जीवनको रंगभन्दा कम छैन । विभिन्न प्रजाति, रंग र कलामा धनी भएका ती जीवको कलाले हरेकको संघर्षको कथालाई बोकेको छ । जुन हेर्नमा त आनन्दित छ तर त्यतिकै पीडादायक पनि । फूलहको मोहकता, पहाडको मनोरमा, शिशाले बनेका घरहरु, सानदार लवाइ खवाइ, मानववीय सौर्हादता र आत्मियता भरिएका परिकारको स्वागत आहा । यी कल्पनाभन्दा बाहिरका विषय जस्तै घुमेकाछन् कथाको तारमा जेलिएर ।
सपिङ मल र पिकनिक स्थालहरु आफैमा रमाइरहेका जस्ता आफ्नै तालमा मस्त छन् । कतै आफ्नो किताब बेचेर बाध्यात्म रुपमा लिनु परेको १० युरोलाई मानको अपमान गर्न नहुने हुनाले लिएको हुँ भन्ने संवादले स्तब्ध बनाउछ । विद्यालयले समयमा बच्चालाई लिन नआउने अभिभावक पुलिस बोलाएर जिम्मा लगाउने कुराले यहाँ बच्चाको हेरचाहमा ध्यान नदिने हामी नेपालीलाई मज्जाले चिमेटेर जान्छ । तर, त्यहाँको आवासिय क्षेत्रको मोहकताले त्यो चिमोटाइलाई बिस्तारै भुलाएर जान्छ ।
विदेसीहरुकोसमयले उनीहरुलाई यसरी व्यस्त बनाउथ्यो कि सँगै सुतेको साथी कतिबेला उठेर गयो भन्ने पत्तो नै हुँदैनथ्यो । आरामको ओछ्यान पाए आधा दिनसम्म सुत्ने हामीलाई यो कुराले पछुतो पार्छ । त्यहाँको विकास त्यसै झल्झलाकार भएको होइन भन्ने कुराको प्रमाण सायद यही थियो होला । नत्र कसरी बन्थे मानिसद्वारा बनाएर पनि प्रकृतिले दिए झैं ?
सम्य सहर भएपनि शैक्षिकस्तर भने कतै कम नै रहेको प्रसंगले पढ्नै मन नलाग्ने हामीलाई आनन्द दिन्छ । अग्रेजी नबुझ्ने पाटी भेटेपछि इशारा पाउदाको अनुभूतिले यस्तै कुराको संकेत गर्छ । नचिनेको ठाउँमा जहाँ पायो त्यही अल्मिलिनु रामो होइन भन्ने शिक्षा आफू साथीहरुसँग छुटेपछि थाहा पाएको यात्रीले मस्तै मन्थनको रमाइलो लिन्छ । ‘आएको गाडी गयो अर्को आउदैन ।’ आहा क्या राम्रो मन्थन, वास्तवमा ज्ञानको अन्त्य जीवनसँगै त हो, तसर्थ अनुभूत त गर्नै पर्यो नि ।
लाहुरे जीवन र अन्य कामको खोजीमा जीवन संगाल्न गएका नेपालीहरुको आत्मियता र त्यहाँका मानिसले हासेर देखाउने सम्मानमा कुनै कमि छैन । अहो ! कस्तो सौर्हादता यो रोचकता भरिएको संझनाले पनि फुरुङ्ग चरा बनाउछ मन । सिंगापुर, हङकङ, बेल्जियम, फान्स, जर्मन, पोर्चुगल, स्पेन र स्वीट्जरल्याण्ड यात्रामा समेटिएका विवरणले जीवनको संघर्ष, रोमान्चता, मोहकतालाई आँखामा बोकेर मनको अन्तष्करणबाट निस्केका भावलाई नदीको पानीमा थोपाथोपा संगालेर समुन्द्र तयार भएको यो कृति यात्रामा जादा गर्नुपर्ने तयारी र सजकताको बारेमा ज्ञान दिने उत्कृष्ट बाटो हो । पाँचसय मूल्य निर्धारण गरिएको संस्मरणलाई बिएन पुस्तक संसारले बजारमा ल्याएको हो ।
Facebook Comments