—सुशीला रेग्मी (रासस)
मुलुकमा सङ्घीयताको कार्यान्वयनसँगै पाल्पाको पर्यटकीय विकासले गति लिएको अवस्थामा विश्वव्यापी फैलिएको कोरोना भाइरस सङ्क्रमणको असर देशका अरु क्षेत्रहरुमा जस्तै यहाँको पर्यटनमा पनि परेको छ । पर्यटन क्षेत्रमा आशा एवं विश्वासकासाथ पछिल्लो समयमा ठूला लगानी भित्रिने क्रमले गति लियो र पर्यटकलक्षित होटल, रेष्टुरेण्ट खुल्ने क्रम पनि बढ्यो । साथै पर्यटकीय नगरी लुम्बिनी र पोखराको बीच भागस्थित पाल्पा भएर बाह्य पर्यटकको आवतजावतले पनि यहाँको पर्यटनमा चहलपहल थपेको थियो ।
हालसम्मको अवस्था हेर्दा लुम्बिनी र पोखरा आउने बाह्य पर्यटक पाल्पा घुमेर मात्र फर्कने गरेका छन् । विसं २०७२ मा आएको विनाशकारी भूकम्पको असरपछि पर्यटन पूर्वाधारका कार्य जिल्लामा एकपछि अर्को हँुदै अगाडि बढेको छ । भूकम्पको महामारी सहेका जिल्लाका व्यावसायीले भूकम्पपश्चात पर्यटकको आवागन बाक्लिदै जादा पर्यटन व्यवसायीमा एक खालको खुशी तथा हौसला थपिएको थियो ।
यसरी बामे सर्दै गरेका पाल्पाका पर्यटन व्यवसायी अहिले भने कोरोना भाइरस सङ्क्रमण (कोभिड—१९) को मारमा परेका छन् । ठूलो लगानीमा पर्यटकलाई लक्षितगरी व्यापार व्यवसाय सञ्चालन गरेका पर्यटन व्यावसायीलाई कोरोनाको कहरले नराम्ररी छोएकोे छ । कोरोनाका कारण व्यवसाय नै ठप्प भएपछि होटल रेष्टुरेण्ट, घरबास (होमस्टे) को लगानी पनि यतिखेर निल्नु न ओकल्नुको अवस्थामा छ ।
पाल्पा जिल्लामा होटल व्यवसायी संघमा १ हजार ६० होटल तथा रेष्टुरेण्ट सञ्चालनमा छन् । तीमध्ये पर्यटन व्यवसायलाई लक्षित गरेर एक सयको हाराहारीमा होटल तथा रेष्टुरेण्ट रहेका छन् । पर्यटकका लागि खोलिएका व्यवसायमा रु २ करोड देखि ५० करोड सम्मको लगानी परेको होटल व्यवसायी महासंघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठ बताउनुहुन्छ ।
“कोरोनाको कहरले समग्र पाल्पाको पर्यटन व्यवसाय नै धरापमा परेको छ, पर्यटन क्षेत्रमा भविष्य खोजेका र वैदेशिक रोजगारबाट स्वदेश फर्केका यूवामा अहिलेको विश्व परिवेशले गर्दा व्यवसायबाटै पलायन हुनुपर्ने हो कि भन्ने स्थिति सिर्जना भएको छ” – अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँकाअनुसार यहाँ होटल तथा रेष्टुरेण्ट क्षेत्रमा घरपरिवारका सदस्य बाहेक करिव ३ हजार ५०० नागरिकले प्रत्यक्ष रोजगार पाएका छन् । यिनीहरुलाई काम गर्ने वातावरण नहँुदा साँभm बिहान गुजारा चलाउन अप्ठ्यारो छ ।
लगानी गर्ने वातावरण नेपालमा नहँुदा पनि बाहिरबाट आएका यूवा पछिल्लो समय पर्यटन क्षेत्रमा लगानी गर्न कस्सिएका छन् । व्यवसायमा वामे सर्दै गरेको अवस्थामा लामो समय सम्म ढोका नै लगाएर व्यवसाय बन्द गरेर बस्नुपर्दा ऋणको बोझ थपिएको रामपुरका पर्यटन व्यवसायी शिव पाण्डेय बताउनुहुन्छ ।
उहाँले साढे दुई करोडको लागतमा पर्यटनलाई लक्षित गरेर नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमै पौडी पोखरी सहितको नमस्ते होटल तथा रेष्टुरेण्ट एवं पार्टी प्यालेस सञ्चालनमा ल्याउनुभएको छ । सुरुवातीको क्रममा नै व्यवसायमा साँचो लगाउनुपर्ने अवस्था आउँदा समस्या परेको उहाँको गुनासो छ ।
उहाँ भन्नुहुन्छ, “रामपुरमा भित्रिएका पर्यटकलाई लक्षित गरेर व्यवसाय सुरु गरियो, प्रारम्भिक चरणमा नै व्यवसायमा नराम्रोसँग मार परेको छ, लगानी ठूलो छ तर व्यापार व्यवसाय ठप्प छ, लगानी गरेको ऋण र ब्याजले डुबाउने पिरलो परिरहेको छ ।”
कोरोना भाइरस सङ्क्रमणको त्रास सुरु भएदेखि व्यापारमा शून्य भएको अर्का व्यवसायी होटल न्यु श्रीनगरका सञ्चालक महेश श्रेष्ठ बताउनुहुन्छ । होटल श्रीनगर यहाँको पर्यटन क्षेत्रलाई मध्यनजर राखेर सञ्चालनमा आएको रामपुरको पहिलो होटलका रुपमा लिइन्छ ।
“ग्राहकको उपस्थितीले काममा भ्याइनभ्याइ हुन्थ्यो, अहिले बिगत दुई महिना यता भने व्यवसाय चौपट बनेको छ, बैंकबाट लिएको ऋण बुझाउन र कामदार पाल्न अप्ठ्यारो परेको छ” श्रेष्ठले गुनासो पोख्नुभयो । उहाँको व्यवसायमा साढे तीन करोड भन्दा बढीको लगानी छ । पाण्डेय र श्रेष्ठजस्ता पर्यटन व्यवसायलाई लक्षित गरेर व्यवसाय सञ्चालन गरिरहेका एक सयभन्दा बढी व्यवसायी कोरोना भाइरस सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीको मारमा छन् ।
त्यस्तै पाल्पा र समग्र यस क्षेत्रको पर्यटकीय सम्भावनालाई लक्षित गरेर करोडौँ रकम खर्च गरेर स्तरीय खालका होटल, रेष्टुरेण्ट खुल्ने क्रम पाल्पामा बढ्दो छ । जिल्लामा पछिल्लो पाँच वर्ष यता पर्यटन क्षेत्रमा ठूलो लगानी थपिएको छ ।
जिल्ला सदरमुकाम तानसेन बजारमा पर्यटकको बाक्लो उपस्थितिले होटल रेस्टुरेण्ट भरिभराउ हुन्थे । बिगत दुई महिनायता भने व्यापार व्यवसाय ठप्प हँुदा पर्यटन सम्बद्ध व्यावसायीलाई कोरोनाको प्रभाले नराम्रोसँग असर गरेको छ । पर्यटकलक्षित खोलिएका घरबास (होमस्टे) पनि सुनासान छन् । बाह्य पर्यटक जिल्लामा भित्रिने क्रम बढ्न थालेपछि घरबासहरु खोल्नेक्रम यहाँ होडबाजी नै चलेको छ । होमस्टे व्यवसायी संघ पाल्पामा आबद्ध यहाँ सामुदायिक र निजी गरी १४ घरबास सञ्चालनमा छन् ।
सामुदायिकमा तानसेन नगरपालिका १३ स्थित बौघागुम्बा, तानसेनकै दमकडास्थित सामुदायिक कृषि महिला, तिनाउ गाउँपालिका भित्र सुकेताल, जन्तीलुङ्गमा रहेको लगाढ गरी पाँच सामुदायिक घरबास छन् । निजीतर्फ सदरमुकाम तानसेन बजार भित्र नौ वटा घरबास सञ्चालनमा छन् । यी सबै घरबास स्थानीय ग्राहकभन्दा पनि पर्यटक लक्षित हुन् । घरबाटै बाहिर निस्कन नपाएपछि घरबास तथा अन्य व्यापार व्यवसाय प्रभावित बन्न पुगेको होमस्टे व्यवसायी संघ पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले बताउनुभयो । मानिस आवतजावत गर्ने वातावरण भएमात्र पर्यटनको विकास हुने हो तर अहिलेको अवस्था घरभित्रै बस्नुपर्ने अवस्थाले गर्दा पर्यटन क्षेत्र धरापमा परेको उहाँको भनाई छ ।
पर्यटकको चहलपहल रहने नेपालकै ताजमहलका नामले प्रख्यात रानीमहल दरबार, एशियाकै ठूलो त्रिशुल भएको भैरवस्थान मन्दिर, श्रीनगरडाँडा, पाल्पा दरबार सङ्ग्रहालय, देशका एक सय पर्यटकीय गन्तव्यस्थलमा रुपमा सूचिकृत रामपुरको तालपोखरा, निस्दी गाउँपालिकाको काउलेडाँडा बन, रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिरलगायत जिल्लाका धेरै पर्यटकीय क्षेत्र अहिले सुनसान छन् ।
कोरोनाको कहरले जिल्लाका पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यापार व्यवसाय ठप्प छ । अन्य उद्योग व्यापार, व्यवसायको तुलनामा पर्यटन व्यवसायमा नराम्रोसँग असर पुगेको नाटाका सचिव सागरमान महर्जन बताउनुहुन्छ ।
“पर्यटकलाई लक्षितगरी सञ्चालन गरिएका व्यवसायमा ठूलो लगानी लगाउनुपर्ने हुदा बन्दाबन्दी खुलेपनि बाह्य देशबाट पर्यटक छिट्टै भित्रिने अवस्था नरहेको हुँदा केही समय पहिलाको अवस्थामा आउन मुस्किल पर्ने देखिन्छ” – उहाँले भन्नुभयो ।
कोरोनाको अहिलेको सङ्क्रमण हटेर गएपनि यसको असर भने लामो समयसम्म रहने भएकाले पर्यटन व्यवसायी चिन्तित बनेका छन् । कोरोनाको कहरकै कारणले व्यवसायीहरु पर्यटन क्षेत्रबाटै पलायन हुने अवस्था नआउला भन्न सकिन्न भन्दैछन् यहाँका यस क्षेत्रका व्यवसायी । त्यसैले पनि राज्यले हरेक क्षेत्रमा परेको असरको अध्ययन गरी सम्बोधन गरी निकासको बाटो देखाउनुपर्ने सम्बद्ध व्यवसायीको माग छ ।
यहाँका ढाका उद्योग, हस्तकलाका उद्योगलगायतका विभिन्न साना तथा ठूला व्यवसाय पनि नराम्ररी प्रभावित भएका छन् । ढाका उद्योेगबाट उत्पादित विभिन्न सामग्री पर्यटकले कोशेलीका रुपमा लैजाने गरेका छन् । विदेशी पर्यटकले ठूलो परिमाणमा ढाका कपडा खरिद गर्ने भएकोले व्यापारीलाई राम्रो आम्दानी गर्ने अवसर पनि हुन्छ । पर्यटकलाई लक्षित गरी ढाका कपडा उत्पादन गरेका व्यवसायी पनि कोरोनाको प्रकोपका कारण समस्यामा परेको बताउँछन् ।
अन्तर्राष्ट्रिय स्तरमा नै पहिचान बनाएको पाल्पाली ढाकाले आन्तरिक मात्र नभई बाह्य पर्यटकलाई लोभ्याएको छ । ढाका कपडाबाट उत्पादित झोला, टोपी, आस्कोट, गलबन्दी, रुमाललगायतका सामान पर्यटकको रोजाइमा पर्छन् ।
सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय सरकारले पर्यटन क्षेत्रको विकासमा जोड दिएका छन् । स्थानीय सरकार स्थापित भएपछि गाउँका पर्यटन क्षेत्रमा चहलपहल पनि बढ्दै गएको छ । पर्यटक लक्षित कार्यक्रम अगाडि सारेको समयमा आएको कोरोना भाइरसको सङ्क्रमणले गर्दा देशको अरु क्षेत्रभन्दा अझबढी पर्यटन क्षेत्र प्रभावित भएको छ । स्थानीय सरकारका पर्यटनसम्बन्धी कार्यक्रमहरु पनि यतिबेला स्थगित हुन पुगेका छन् ।
–––
आलेख ः काठमाडौँका काँठ क्षेत्रमा बन्दाबन्दीको असर न्यून
–सञ्चिता घिमिरे÷सुभानु आचार्य
काठमाडौँ, २३ वैशाख (रासस) ः ठेचोका सुन्दर महर्जन केही दिनअघि एउटा हातमा कोदाली र अर्काे हातमा पानीको बोतल बोकेर खेत जाँदै गर्दा भेटिनुभयो । उहाँ गत साता छरेको धानको बीउमा पानी लगाउन जान लाग्नुभएको थियो । बन्दाबन्दी (लकडाउन) ले आफूलाई खासै असर नगरेको उहाँको भनाइ छ । शहरी क्षेत्रका मानिसलाई दिन बिताउनै गाह्रो भएको भनिरहेका बेला उहाँलाई त्यस्तो छैन । उहाँले भन्नुभयो, “आफ्नो काम ग¥यो खायो मलाई लकडाउनले कुनै असर गरेको छैन ।”
देशभर ‘लकडाउन’ घोषणा भएको ४२ दिन पुगिसक्यो काठमाडौँका आसपासका क्षेत्र (काँठ क्षेत्र) का किसानमा भने यसको कुनै असर देखिँदैन । अहिले खेतबारीमा काम गर्ने समय भएकाले होला उनीहरु दिनभर खेतीमै बिताउने गरेका छन् । खेतमा आलु खन्ने, गहुँ रोप्ने र बारीमा मकै छर्ने काममा लागिरहेको देखिन्छ । यस क्षेत्रमा तरकारीखेती व्यावसायिक रुपमा नै गर्ने धेरै छन् । ‘लकडाउन’ को पहिलो साता तरकारी बेच्न नपाए पनि अहिले तरकारी बजार गइरहेको उनीहरु बताउँछन् । पशुपालन गर्नेहरु पनि दूध नियमित रुपमा बेचिरहेका छन् ।
शहरी क्षेत्रमा वहालमा बस्ने धेरै भएपनि काँठ क्षेत्रमा वहालमा बस्ने कम छन् । अधिकांस आफ्नै घरमा बस्ने भएकाले होला साविकको जस्तै दिनचर्या चलिरहेको काँठ क्षेत्रमा बस्नेहरु बताउँछन् । आफ्नो घर आँगनदेखि खेतबारीसम्म हिँड्न पाएकाले शहरी क्षेत्रमा जस्तो यहाँ उनीहरुले थुनिएको महसुस गरेका छैनन् । शहरी क्षेत्रमा सबै कुरा किन्न बाहिर निस्कनु परे पनि यस क्षेत्रमा धेरैलाई आफ्नो खेतबारीमै आबश्यक तरकारी फल्ने हुँदा पनि बाहिर निस्कनु परेको छैन ।
मुख्य सडक क्षेत्रमा बाहेक अधिकांश स्थानमा सामान्य दिनचर्या नै रहेको चापागाउँका विष्णुप्रसाद तिमल्सिनाले बताउनुभयो । कार्यालय जाने कर्मचारी र व्यापारीलाई असर परेपनि गाउँघरमै काम गर्नेलाई कुनै असर नपरेको उहाँले बताउनुभयो । विगतमा यस क्षेत्रमा स्थानीयवासी आफू खेतवारीको काम नगर्ने र ज्याला दिएर अरुलाई काम लगाउने भएपनि त्यसमा भने परिवर्तन आएको छ । यो समयमा सबैले काम गर्नुपर्छ भन्ने मानसिकताका साथ घर वरिपरिका करेसावारी र बाँझो जमिन समेत खनेर उत्पादन गरिरहेका छन् । प्लटिङ गरी व्यापारको लागि सम्याएका बाँझो जमिनमा समेत अहिले धमाधम खनजोत भइरहेको छ । उहाँले भन्नुभयो, “एकातिर ज्यालामा काम गर्नेहरु आआफ्नो घर फर्किए र अर्कातिर परिवारका सबै घरमै भएकाले परिवारका सदस्य मिलेर काम गरेको पाइन्छ ।”
काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ निवासी ७१ वर्षीया लक्ष्मी कुइकेलले सामाजिक दुरी कायम गरी आफ्ना क्षेत्रमा धमाधम खेतीबारीको काम गरिरहेका बताउनुभयो । काम नपर्दा घरबाट बाहिर ननिस्कने तर चाहिने कुरा किन्न कुनै अवरोध नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनहुँ चाहिने खानेकुरा किन्न जान कसैले रोकेका छैनन् ।”
ललितपुर जिल्लाका तीन गाउँपालिका वागमती, कोञ्जेसोम र महाङ्कालमा पनि दैनिक काममा ‘लकडाउन’ ले खासै असर नगरेको स्थानीयवासीले जानकारी दिएका छन् । देशका अरु जिल्लामा जस्तै शहरी क्षेत्रमा रोजगारी वा अध्ययनका लागि बस्नेहरु घर फर्किएका छन् । यहाँ कृषि र पशुपालनका काममा कुनै अवरोध नभएको महाङ्कल गाउँपालिकाका वडाध्यक्ष रामचन्द्र दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक उत्पादन हुने दूध, तरकारीलगायतका वस्तु दैनिक व्यापारका लागि बजार ल्याउने व्यवस्था गरिएको छ ।”
गाउँघरमा पशुपालन र कृषिमा ‘लकडाउन’ को प्रभाव कम रहेको स्थानीयवासी दिपक घिमिरेले बताउनुभयो । भौगोलिक विकटताको कारण पातलो बस्ती भएकाले दैनिक गर्ने काममा खासै प्रभाव नपारेको उहाँले बताउनुभयो । सरकारले भनिरहेको सामाजिक दूरी ग्रामीण क्षेत्रमा सामान्य अवस्था नै पालना भइरहेको उहाँको भनाइ छ । अरु समयमा गाउँ भनेर हेला गरिएपनि यस्ता सङ्कटको समयमा शहरभन्दा गाउँ नै उपयुक्त हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “शहरमा बस्नेलाई पैसा भएपनि किनेर खान पाइएला नपाइला भन्ने चिन्ता छ तर हामीलाई त्यस्तो छैन ।”
पहिले बजारको समस्या हुने गरेको भए पनि अहिले तरकारीका लागि बजारको समस्या नभएको भक्तपुर सुडालकी सरस्वती थापाले बताउनुभयो । बजारमा अहिले तरकारीको मूल्य भने असाध्यै कम भएको उहाँको भनाइ छ । ‘लकडाउन’ शुरु हुनासाथ बेच्ने समय भइसकेको काउली उहाँ अहिले बेचिरहनु भएको छ । तर काउलीको भाउ भने प्रतिकिलो रु १० मात्रै पाएको उहाँले बताउनुभयो । साग रोप्ने जमिन तयार पार्दै गरेकी उहाँले यो साग भने आफ्नो परिवारलाई मत्र पुग्नेगरी रोप्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दुःख गरेर रोप्यो बेच्ने बेलामा बीउ, मल र ज्याला नै उठ्दैन ।”
चन्द्रागिरि नरपालिका–५ निवासी ७८ वर्षीय विष्णुप्रसाद सिग्देलले पहिले अधिकांश आफ्नै करेसाबारी समेत ज्याला लगाएर खन्ने र रोप्ने गरेकोमा ‘लकडाउन’ ले त्यसमा परिवर्तन ल्याएको बताउनुभयो । अहिले कार्यालय बिदा भएर घरमा बस्दा धेरै करेसावारी हरियोपरियो बनाएको उहाँले बताउनुभयो । यो अवस्था अझै कहिलेसम्म हुने हो र भोकै हुनुपर्र्ला भनी बाँझो रहेको जमिन वा छिमेकीकोे जमिनमा पनि अन्न तथा विभिन्न बाली रोप्ने प्रवृत्ति बढको छ । उहाँले भन्नुभयो, “हिजोसम्म कुटोकोदाली, हँसिया नचिन्ने मानिसले पनि आज खेतीको काम थालेका छन् ।
विगतमा दैनिक रुपमा बजारबाटै किनेर खाउँला भन्ने कतिपय मानिसकोे मानसिकतालाई आज कोरोेनाले बदलिदिएको उहाँले बताउनुभयो । अहिले रोपे केही महिनामा फलेर खान पाइन्छ भनेर कोदाली बोकेर हिँड्ने बढेको उहाँले बताउनुभयो । यो समयमा मकैँभटमास, चिउरा, पुवा, रोटी, गुन्द्रुकको अचार आदिजस्ता पहिलेका खाजाहरुमा मानिसको रुची दिनानुदिन बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर पसलमा कति कुरा आएका छैनन् अर्कातिर पाइन्छ कि पाइँदैन भनेर आफैँ बनाएर खानेहरु बढेका छन् ।
पहिले पहिले मानिस व्यक्तिबादी बन्दै गएपनि कोभिड–१९ को त्रासका कारण मानिसमा परिवार चाहिन्छ भन्ने भावना पलाएको यहाँका ज्येष्ठ नागरिकले बताएका छन् । शिक्षित मानिसले खेती किसानी गर्नु हुँदैन भन्नेमा समेत परिवर्तन आएको छ । बजारका खाद्यन्नभन्दा अधिकांश घरमै खाना बनाएर खान लागेका छन् ।
काँठ क्षेत्रमा दिनभर यसै कुनै काम नगरी बस्दा दिन काट्न गाहे हुने भन्दै जङ्गलमा जाने पनि बढेका छन् । दीर्घरोगीहरु मुख्य सडकमा हिँड्न नपाइने भन्दै जङ्गलमा हावा खान जाने गरेका छन् । अहिले काफल र लालीगुराँसको समय भएकाले त्यो टिप्न र बनमा पाइने जडिबुटी टिप्न पनि परिवारका सदस्यहरु जङ्गल गएको पाइन्छ । ‘लकडाउन’ को अवधिमा आमाको मुख हेर्ने औँशी र चैते दशैँलगायतका चाडपर्व परेका थिए । सार्वजनिक बिदा नहुने भएकाले विगतका वर्षहरुमा कम महत्व पाउने यी पर्व समेत धेरैले परिवारसँग मनाए । नेपाल प्रहरीमा महिला हिंसाका घटना कम भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार श्रीमान श्रीमती दुबै वा एक जना बाहिर हुँदा आशङ्काका कारण झगडा हुने गरेकामा ‘लकडाउन’ मा सँगै हुँदा यी समस्या कम आएका छन् ।
नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सरकारले ‘लकडाउन’ जारी राख्दा काँठका कतिपय स्थान र नागरिकबाट यसको उल्लङ्घन भइरहेको पनि देखिन्छ । यस क्षेत्रमा अत्यावश्क बाहेकका पसल समेत खुल्नुका साथै मानिसहरु समूहमा जम्मा भएको चिया पसल र चौतारीमा देख्न सकिन्छ । दशैँ, तिहारलगायतका चाडपर्वको समयमा जस्तै यूवाहरु जम्मा हुने तास खेल्ने वा गफ गरेर समय बिताउने गरेको पाइन्छ । कतिपय भने साथी भेट्न वा आफन्तहरुकहाँ जान भन्दै दिनभर हिँडिरहेको पनि देखिन्छ । प्रहरीको उपस्थिति कम भएकाले पनि यस क्षेत्रमा घर भित्रै बस्ने भन्ने पालना नभएको पाइन्छ ।
उपत्यकाका तीन जिल्लामा नै भीडभाड पहिलेभन्दा कम भएपनि भीडभाड गर्नु हुँदैन भन्ने नागरिकले नबुझेको पाइएको छ । कतिपयले भने शहरी क्षेत्रमा जस्तो भीड नहुने र बाहिरबाट कोही आउनासाथ जानकारी हुने भएकाले पनि यहाँ बाहिर निस्कन जोखिम नभएको बताउँछन् । खाद्यन्नको पसलसँगै चिया पसल, खाजा घरजस्ता पसल समेत यो समयमा खुलेको देखिन्छ ।
–––
रोल्पामा अझै छ द्वन्द्वको त्रास
उमा केसी
रोल्पा , २२ वैशाख (रासस) ः रोल्पामा अझै द्वन्द्वको त्रास मेटिएको छैन । विभिन्न ठाउँमा भेटिएका विस्फोटक पदार्थ तथा त्यसबाट ज्यान गुमाउनेको सङ्ख्या बढ्दै जाँदा रोल्पालीहरुमा त्रास फैलिएको हो । पछिल्लो पटक गत वैशाख १८ मा रोल्पाको त्रिवेणी गाउँपालिका– ७ गैरीगाउँ मैतिगातिनास्थीत दुम्लाखोलामा भएको वम विस्फोटबाट चार बालबालिकाको मृत्यृले रोल्पालीमा झनै भय थपिदिएको हो ।
शान्ति प्रक्रिया पछिकै सबैभन्दा ठूलो घटनाको रुपमा रहेको गैरीगाउँ वम विस्फोटमा पाँच देखि १४ वर्ष उमेरका चार बालबालिकाको घटनास्थलमै मृत्यु भएको थियो । एकाघरका दुई छोराछोरी विमला केसी र विजय केसीको मृत्यु भएसँगै केसी परिवार शोकाकुल छ ।
विमला र विजयका बुबा घरको कमजोर आर्थिक अवस्थाका कारण मजदुरीका लागि काठमाडाँैको ईँटाभट्टामा काममा हुनुहुन्छ । उहाँ छ महिना काठमाडाँै बसेर कोरोनाका कारण घर फर्किएको भए पनि छोराछोरीको मुख देख्न भने पाउनुभएन ।
उहाँ १४ दिनदेखि क्वारेनटाइनमा बसेर घर आएकै दिन उक्त घटना भएको थियो । “विद्यालय विदा भएकाले मलाई सघाउन भाइलाई वोकेर गोठालो गएका दिदी भाई नै वममा परे” विजयीकी आमा नमुना केसीले भन्नुभयो । लामो समयदेखि विरामी रहेकी उहाँ शारीरिक रुपमा समेत कमजोर अवस्थामा हुनुहुन्छ ।
तीनदिन अघि मामा घर आएका गौरव नेपाली साथीभाईसँग गोठालो गएका थिए । कक्षा ७ मा अध्ययन गर्ने उनी मृत्यु भएकै दिन परीक्षाको नतिजा आएपनि आफू सफल भएको खवर सुन्न नपाउदै वमको शिकार भए ।
“पढाइमा निकै तेज थियो, पढेर आमाबुबा पाल्छु भन्थ्यो उमेर नपुग्दै जानु पर्यो” भक्कानिदै आमा तीलकुमारी नेपालीले भन्नुभयो । छोरा आएपछि उ पास भएको खुशी साटासाट गराँैला भनेर घरमा पर्खेर वसेको थिएँ मैले खुशीको खबर सुनाउन नपाउँदै माईतवाट दुःखको खबर सुन्नुपर्यो तीलकुमारीले भन्नुभयो ।
“यसरी सानै उमेरमा दैवले चुँडेर लग्यो, अकालमा ज्यान गुमाउनुपर्यो” नोखिराम डाँगीका बुबा ओजवहादुर डाँगीले भन्नुभयो । “हुर्केबढेको छोराले सुख साट्ने आशामा वसेको थिएँ तर यस्तो अवस्था आइलाग्यो” गाउँमै खेती किसानी गर्दै आएका डाँगीले भन्नुभयो ।
छोरा खेतबारी खनजोतमा आफ्नो सहारा वनेको तर अहिले अब आफू बेसहाराजस्तै भएको डाँगीले दुखेसो पोख्नुभयो । वम द्वन्द्वकालमा छोडिएको हुनसक्ने वताउँदै त्यसको सत्यतथ्य छानविन हुनुपर्ने डाँगीको माग छ ।
घटनास्थलमा थप वम पनि हुन सक्ने स्थानीयहरुको आशङ्का रहेकाले आइतबारदेखी खोजी थालिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी थालेको ढकालले जानकारी दिनुभयो । आइतबार खोजीकार्य गरिएको र सोमबारदेखि विशेषज्ञ टोलीले विशेष रुपमा खोजीगर्ने ढकालले भन्नुभयो । त्रिवेणी गाउँपालिकामा सम्भावित क्षेत्रका डाँडाहरुका साथै द्वन्द्वकालमा भिडन्त भएका रोल्पाका सवै स्थानहरुको खोजी गरिने प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ । मृतकका परिवारलाई राहतस्वरुप १० लाख उपलब्ध गराउनेगरी सिफारिश भएको ढकालले जानकारी दिनुभयो ।
द्वन्द्वका क्रममा जिल्लाका विभिन्न ठाउँमा ठूला भिडन्त भएकाले ती क्षेत्रमा संवेदनशीलता देखाउदै खोजतलास कार्यमा राज्यको ध्यानाकर्षण हुनुपर्ने घटनास्थल अवलोकन गरी फर्किएका नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेको भनाई छ । त्रिवेणी घटनामा मारिएका बालबालिकाको परिवार आर्थिक हिसावले पनि निकै कमजोर रहेकाले उनीहरुको राहतमा राज्य गम्भीर वन्नुपर्ने अध्यक्ष न्यौपानेको भनाई छ ।
त्रिवेणी घटना द्वन्द्वकालको परिणाम भएको मानवअधिकारकर्मी तीर्था आचार्यको भनाई छ । द्वन्द्वकालीन घटनामा निर्दोष बालबालिका परेकाले उनीहरुलाई राज्यले शहिद घोषण गर्नुपर्ने आचार्यले भन्नुभयो । बालबालिकाको आत्माको शान्तिको लागि राज्यले ध्यान दिनुपर्ने आचार्यले बताउनुभयो । राज्यले मृतक बालबालिकाकोे परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
रोल्पाको परिवर्तन गाउँपालिका–१ कुरेली भित्रीवन पुवाखोरे भन्ने स्थानमा गत असोज ११ गते ठूलो परिमाणमा हातहतियार र विस्फोटक पदार्थ भेटिएको थियो । थवाड गाउँपालिका–३ मिरुल टुटुस्थित कुवारी सामुदायिक वनमा समेत दुई बोरा विस्फोटक पदार्थ भेटिएको थियो । भेटिएका विस्फोटक सामग्रीहरु विस्फोटन गराई वाँकी सामग्रीहरु नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
जिल्लाका विभिन्न ठाउँमा यसरी भेटिएका वम तथा विस्फोटक पदार्थका कारण नागरिकमा त्रास बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पाले जुनसुकै क्षेत्रमा यस्ता विस्फोटक पदार्थ भेटिएमा खबर गरिदन सबै नागरिकमा अपिल पनि गरेको छ ।